कम्युनिष्ट यस्तरी कुर्लिएपछि

भर्खरै अमेरिकाबाट फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीलाई मन्त्रीसहित सबैखाले नियुक्तिको एकल अधिकार दिनुपर्छ भनेपछि नेकपा स्थायी कमिटी बैठकमा बबाल शुरु भएको थियो । ‘यस्तो अमूर्त कुरा नगरौँ । नेपाली कांग्रेसमा के हुन्छ ? त्यहाँ भाग लाग्छ । पुँजिवादी खेमाभित्र त बार्गेनिङका आधारमा चल्छ भने कम्युनिष्ट पार्टीमा एउटा व्यक्तिले जे पनि गर्न पाउने ?’ भनेर नेताहरू पड्किन थाले । 
माधव नेपालले एशिया प्यासिफिक सम्मेलनबारे दिएको जवाफ चित्तबुझ्दो भएन भनेर उनी पक्षकै युवराज ज्ञवाली, बेदुराम भुषाल, रघु पन्त, भीम रावलहरूले आपत्ति जनाए । भीम रावलले यसबारे अलग्गै लिखत पेश गरे ।

३ गते मंगलबार विहान ८ः१० मा शुरु भएको बैठकमा रावलले धार्मिक सम्मेलन आयोजनाको निम्ति निम्तो बाँड्न एकनाथ ढकाललाई देशको प्रतिनिधि तोकिएको पत्र बाचन गर्न थालेपछि अध्यक्ष केपी ओलीले भने, ‘तपाईं बस्नुस् त †’ त्यसै त असन्तुष्टि पोख्दै हिँडेका रावल त्यहाँ पनि थामिएनन् । कड्किए, ‘तपाईं डिक्टेट गर्ने ? तपाईंको हुकुम सुन्न आएका हैनौं । बैठकमा कुरा राख्न पनि नदिने, यो हद भयो ।’ केशव बडालले ‘एजेण्डाबाट अलिक बरालिएजस्तो छ है’ मात्र के भनेका थिए, भीम फेरि कराए, ‘तपाईं को हो बीचमा रुलिङ गर्ने ?’ एशिया प्यासिफिक सम्मेलनबारे उठाएको प्रश्नमा केपीले माधव नेपालको थाप्लोमा दोष राखिदिएर आफू पन्छिए । उनले भने, ‘माधव कमरेड परराष्ट्र र प्रधानमन्त्री भइसकेको मान्छे, विदेश मामिला धेरै बुझेको कमरेडले प्रस्ताव ल्याउनुभयो । उहाँले ल्याएको कुरा राम्रै होला भनेर मैले मानिदिएँ ।’

यस्तो भएपछि एशिया प्यासिफिक सम्मेलनबारे आत्मालोचना गर्ने गरी प्रतिवेदनमा सच्याउने सहमति भयो । 

बिहान बबाल भएपछि अपराह्न फेरि बस्ने गरी बैठक स्थगित भयो । तर, ४ बजे अध्यक्ष तथा प्रम ओली सरकारी वकिलहरूको सम्मेलनमा जानुपर्ने नाममा बैठकमा पुगेनन् । साढे ३ बजेदेखि नै नेताहरू धुम्बाराही पुग्दै थिए । सबै जना पुगिसकेपछि केपीको खबर प्रचण्डले सुनाए । त्यो सुन्नेबित्तिकै मुकुन्द न्यौपानेले भने, ‘दुईटा अध्यक्ष राखेकै एउटा नआउँदा अर्कोले अध्यक्षता गर्ने भनेर हो नि त । प्रचण्ड हुँदै हुनुहुन्छ । ल, बैठक शुरु गरौँ ।’ यसपछि महासचिव विष्णु पौडेल फोनतिर व्यस्त भए । उनले आउन ढिलो हुने कुरा सुनाएपछि ‘हामी आधा घण्टाभन्दा बढी पर्खिन सक्दैनौँ, बरु बैठक स्थगित गरौँ’ भन्दै नेताहरू हिँडिदिए । र, ती नेताहरू आफ्नो ठाउँ–ठेगानामा पुग्दानपुग्दै कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठको इमेल आइडीबाट महासचिवको विज्ञप्ति र विज्ञप्तिलगत्तै गु्रप भाइबर म्यासेञ्जरमा देखे, बैठक तीन दिनका लागि स्थगित भई आज बुधबार बिहान बस्ने कुरा ।

पूर्वएमालेहरूको झगडा चर्किएको बेला पूर्वमाओवादीको गुनासोतर्फ भने त्यति ध्यान दिइएको छैन । तर, उस्तै छ असन्तुष्टि । आपूर्ति तथा वाणिज्य मन्त्री मात्रिका यादवले भने, ‘हिजोको भ्रष्टाचारी आज योग्य ? अख्तियार र लोकसेवामा जान योग्य को भन्दा हिजो सचिव भइसकेको मान्छे ।’ उनको भनाइ थियो, ‘भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको मान्छे मात्र संवैधानिक अंगमा जान योग्य हुने भएपछि हिजो दुःख पाएका कम्युनिष्टहरू कहिले योग्य हुने ? पुरानो सिष्टम फालेर नयाँ सिष्टम बनाउँदा पनि तिनै पुराना मान्छेहरू योग्य हुने ? यसलाई बदल्नुपर्छ ।’ अग्नी सापकोटाले एशिया प्यासिफिक सम्मेलनबारे माफ माग्नुपर्ने बताए । ‘कम्युनिष्टविरोधीको कार्यक्रममा गएर भाषण गर्ने ? उनीहरूसामु गएर शरण पर्ने ? यस्तो हामी किमार्थ हुन दिने छैनौँ । बरु, मर्न तयार छौँ ।’ योगेश भट्टराईले त भनेकै थिए, ‘हामी यस्तो पार्टीमा छौँ कि, महासचिवले आफ्नो पद खोसिएको थाहा पाउँदैनन् । यसबाट थाहा हुन्छ, हामी कति कमरेडली रहेछौँ, एकार्काप्रति कति विश्वस्त भएछौँ ?’

चालु स्थायी समिति बैठकमा अग्नीले आफ्नो कुरा भन्दै गए, ‘यूरोप–अमेरिकातिर बाइबल समातेर शपथ खाइन्छ । उनीहरूले जसरी गीतालाई छोएर हामीले शपथ नखाए जस्तै गाईको मासु पनि खाँदैनौँ नि † हामी यस्तो विशिष्ट स्थितिको मुलुकमा छौँ, संस्कारले हामीलाई बाँधेको छ, प्रभावित पारेको छ । त्यस्तो देशमा क्रिश्चियन धर्मको बढावा हुने गरी प्रधानमन्त्रीले एक करोड बराबरको विदेशी मुद्रा र १८ तोला सुन लिनु पनि घुस नै हो । त्यो पैसा के उद्देश्यले दिइयो ? के त्यो पैसाको कर तिरिएको छ ? त्यो पैसाको स्रोत के हो ? पञ्चायतकालमा कम्युनिष्टहरूले मानवअधिकारका नाममा राजनीति गर्थे, पत्रकारले पनि पेशाको आडमा प्रजातन्त्रका निम्ति काम गर्थे । अहिले क्रिश्चियनहरूले पनि धर्म प्रचारको नाममा उपहार दिएका हौँ भन्दैनन् । तर विभिन्न नाममा आउँछन् र कामचाहिँ त्यही गर्छन् ।’ 

योगेश भट्टराईले ‘दलाल पुँजिवाद भनेको के हो ? त्यो आर्थिक मामिलामा मात्र प्रकट हुन्छ कि हुँदैन’ भन्दै कुरा उठाए । भने, ‘आफू नजिकको मान्छेलाई नेता र मन्त्री बनाउने अड्डा, अदालतमा आफ्ना मान्छे भर्ति गर्ने । एनसेललाई माफी मिनाहा दिने को हो ? लोकमानलाई प्रमुख आयुक्त बनाउन मरिहत्ते गर्ने को हो ? ती नेता यही बैठकभित्रै छन् ।’ अग्नी सापकोटाले ‘पुँजिवादी बोटमा समाजवाद फल्न सक्दैन । अर्थमन्त्रीको काम छैन । उसलाई पनि बदल्नुपर्छ’ भनेर कुरा उठाए ।

‘सामन्त, राजा महाराजाले मात्र आत्मालोचना गर्दैनन्, आलोचना सुन्न सक्दैनन् । कम्युनिष्ट पार्टीमा पनि चलन त्यस्तै चलाउने ?’ प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रश्न थियो । 

टिप्पणीहरू