आफैं कमजोर हुँदाको फल पायौं
- प्रकाशशरण महत, कांग्रेस सहमहामन्त्री
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस महासमितिको बैठक अपुरो अवस्थामा हालै सम्पन्न भएको छ । बैठक विधिसम्मत चलेन भन्ने गुनासोको भारी बोकेर महासमिति सदस्यहरु घर फर्किएका छन् । र, कांग्रेसले बहुपदीय विधिबमोजिम अन्तरविरोध हल गर्ने उपाय निकालेको छ । तर यसमा सहमहामन्त्री प्रकाशशरण महत भागबण्डा भएको स्वीकार्दैनन् ।
० संघीयता र समावेशिता भन्दै पार्टीको विधानमा भागबन्डा कसरी अटायो ?
– भागबण्डा होइन, सर्वसम्मत सहमति भन्नुपर्छ । संसारमा जो कोहीले सबैको भावना बुझ्न सकिँदैन । त्यसमा विषयवस्तुको फरकपन पनि हुनसक्छ ।
० महासमिति बैठक कर्मकाण्डी भयो । के कारण ?
– नौ–नौ दिनसम्म छलफल भयो । गम्भीर विषय उठान भए । बोल्न चाहने सबैले अवसर पाए । मनका खुल्दुली प्रष्टसँग राखे । राखिएका धारणा पनि परिमार्जन भयो । सँगसँगै अन्तिम दिन १५ बुँदे समसामयिक प्रस्ताव पनि पारित भयो । त्यो प्रस्तावमा वर्तमान राजनीति र सरकारबारे स्पष्ट उल्लेख छ । त्यस्तै, आर्थिक नीतिहरुको पनि स्पष्ट खाका तयार पारेका छौँ । यसका लागि देशव्यापी छलफल गरिएको छ भने राजनीतिक विषयमा सबैभन्दा बढी छलफल भएको छ । देशव्यापी सदस्यता र प्रशिक्षण अभियान सञ्चालन गर्ने, समावेशितातर्फ हरेक वर्ग अटाउने वातावरण बनाइएको छ । त्यसभित्र मधेसी, जनजाति, महिला, दलित र पिछडिएका वर्ग सबैको प्रतिनिधित्व हुनेछ । सधैँभर अधिकार र प्रतिनिधित्वमात्र दिएजस्तो गर्ने, तर ग्रासरुटमा चाहिँ केही अधिकार नदिइने परिपाटीको अन्त्य गरिँदैछ । यसकारण पनि यो महासमिति कर्मकाण्डीय हो भन्न कुनै कोणले मिल्दैन ।
होलान्, विधानको सम्बन्धमा ठूलो कमिटी भयो, नेतृत्वको कमाण्ड कस्तो हुन्छ ? भन्ने विषय । यो कुरा केन्द्रीय समितिमा पनि उठेको थियो । मुख्य कुरा यो कमिटी कत्तिको प्रभावकारी हुन्छ वा हुँदैन भन्ने हो । सबैले आफ्ना विचार राख्नुलाई गलत भन्न मिल्दैन ।
० महासमिति बैंठकपछि गुट उपगुटको अन्त्य भयो त ?
– ठूलो पार्टीमा मतभेद हुँदैन भन्न मिल्दैन । तर, मूलभूत रुपमा गुट–उपगुटतिर लागेर आ–आफैँ बलियो हुन खोज्ने हो भने पार्टीको औचित्य रहँदैन । पार्टी बलियो भएपछि व्यक्ति आफैँ दह्रो भइहाल्छ ।
० प्रतिपक्षीको रुपमा सत्तापक्षसँग जुध्नुपर्ने कांग्रेस आफू–आफूमै जुध्दा झन् कमजोर हुँदैन ?
– हाम्रो तागत र ऊर्जा एक–अर्कालाई कमजोर पार्नेमा खेर गइरहेको थियो । अहिले सबै साथीको कुरा सुनिसकेपछि यो निश्कर्षमा पुगेका छौँ कि, हामी आफैँ कमजोर भयौँ । र, त्यसको फल त्यहीअनुसारको पायौँ । अब विगतका तमाम कमजोरीबाट पाठ सिकेर नवीन बाटोमा हिँड्ने प्रण गरेका छौँ ।
० पार्टी सभापतिले सरकारविरुद्ध आन्दोलन गर्छाैं भन्नुभएको छ । आन्दोलन कसरी चर्काउँदै हुनुहुन्छ ?
– दम्भ र अहंकारको सरकार सच्चिएन भने हामी आन्दोलनमा जानैपर्ने हुन्छ । सारा अधिकार केन्द्रिकृत गर्ने, सारा बाटो छेक्ने र निषेध गर्ने, लोकतन्त्र मास्ने, प्रशासनलाई पार्टीकरण गर्ने र संवैधानिक निकायलाई छायाँमा राख्ने प्रबृत्ति देशका लागि शुभसंकेत होइन । विदेश नीति फितलो छ । सुनकाण्ड, चिनीकाण्ड, बूढीगण्डकी काण्डलगायतका तमाम विषय छन् । यी काण्ड सच्चिनुपर्छ ।
० हिन्दू राज्यको माग अनुमोदन हुन्छ ?
– साथीहरुले यो माग पनि अनुमोदन हुनुपर्छ भनेर कुरा उठाउनु भएको छ । सरकारले गैरसरकारी संघ–संस्थाको कार्यक्रममा आफ्नै खर्च गरेर उपस्थित हुनाले यहाँको हिन्दू, बौद्ध, मुस्लिम, किरातलगायत विभिन्न धर्म, संस्कृतिमाथि असुरक्षा पैदा गरेको छ । संविधानले सनातन धर्म, संस्कृतिलाई संरक्षण गर्ने भनेको छ । तर, सरकारचाहिँ खिलाफमा उत्रिनाले देश सही दिशमा हिँडेको आभाष दिन्न । जबकि जनप्रतिनिधिहरुलाई गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा बोलाएर ‘म फलानाकी पुत्री हुँ’ भन्ने कसम खानु हाम्रो धर्म, संस्कृतिअनुसार कत्तिको सुहाउँदिलो कुरा हो ? कदापि हुँदैन । सफा र उदार भावको धर्म र संस्कृति भएको मुलुकमा त्यसको खिलाफमा सरकार आफैँ उत्रिनु कत्तिको दुःखद् हो ? यसले देशभर आतंक र असुरक्षा उब्जिएको हो । हिन्दू, इसाई, बौद्ध, मुस्लिम, किँरात जुनसुकै धर्म मान्न पाइन्छ । तर, कसैलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न खोज्ने, अन्य धर्मविरुद्ध अनर्गल प्रचार गर्ने कामलाई रोक लगाउने विषयमा पार्टीमा आवाज उठेको छ ।
० बहुपदमा गएर कांग्रेस बलियो हुन्छ भनिँदैछ । पद बढाएर बलियो हुने राजनीतिको कुन सिद्धान्त हो ?
– पद बढाएर पार्टी बलियो हुने सिद्धान्तमा म विश्वास गर्दिन । नेतृृत्व उल्टो पिरामिड हुनुपर्छ । अर्थात् बेस सानो, माथि ठूलो । सिद्धान्त यही नै हो । कांग्रेस पार्टी पहिलेदेखि नै समावेशी छ । अहिले पार्टीमा एकजना मधेसी मूलका उपसभापति, अर्काे थारु मूलका र कोषाध्यक्ष मधेसी मूलका हुनुहुन्छ । पहिला पनि महामन्त्री आदिवासी मूलको हुनुहुन्थ्यो । जोसँग विचार र क्षमता छ उसलाई कदापि रोकिएको छैन । त्यसो गर्नु महापाप हो । यो अहिलेसम्म गरिएको छैन । जोसँग दृढ विचार छ, उलाई भ¥याङ चढाउने काम भएको छ, न कि ओराल्ने । तर, अझै अन्य वर्गको पनि यथेष्ट समावेशिता भएको छैन भन्ने विषयमा महासमितिमा बहस उठान भएको छ ।
० कांग्रेस पार्टीमा भर्खरै प्रवेश भएका व्यक्तिलाई उपसभापति बनाउँदा कार्यकर्ताबाट घोर विरोध हुँदै आएको छ । तपाईंले पनि त सुन्नुभएको होला नि !
– छैन । छैन । विरोध होइन, सबैले भव्यताका साथ स्वागत गरेका छौँ । उहाँ विगतमा कांग्रेसकै होनहार नेता हो । बीचमा छुट्टिएर जानु भए पनि फेरि आउनुभएको छ । उहाँ थारु समुदायको भएकाले समुदायमा आफ्नै छुट्टै पहिचान र पकड छ । थारु समुदायभित्रको आदिवासी जनजाति समुदायको संयोजक नै भएको हुनाले कांग्रेस पार्टीका लागि उहाँ पुँजी नै हो ।
० बहुपदलाई भागबण्डामा मिलाएर पार्टी चलाउने रणनीति भनिँदैछ । के लाग्छ तपाईंलाई ?
– नेतृत्व तहका निर्वाचित साथीहरुले यो प्रस्ताव गर्नुभएको थियो । यद्यपि, सभापतिले पार्टीको नेतृत्व कमाण्ड गर्ने हो । समस्या त बग्रेल्ती उब्जिन्छन् नै । तर, समाधान गर्दै जाने हो ।
० ओली सरकारको १० महिने कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?
– हामीले त १० होइन, छ महिनामै धेरै महŒवपूर्ण काम गरेका थियौँ । म ऊर्जामन्त्री हुँदा अपर तामाकोशी अघि बढ्यो । त्यसका लागि देशभित्रबाट ३४ अर्ब रकम जुट्यो । सञ्चयकोष, नेपाल टेलिकम, नागरिक लगानी कोष पनि गतिलो तरिकाले चलाइएको थियो । तर, यो बहुमतको सरकारमा काम गर्नु छ भन्नुको सट्टा हामी त यत्तिकै सरकार कब्जा गर्न सक्छौँ भन्ने दम्भ विकसित भएको छ । उहाँहरुले विश्वसनीयता गुमाउनुभएको छ । कामभन्दा ज्यादा कुरा गर्ने, हातमा सीप छैन । यो सरकारको परिचय नै यही हो । अहिले जनतामा निराशा छ । एउटा भन्ने, तर सबै अधिकार केन्द्रिकृत गर्ने । प्रगति शून्य । विदेशी लगानी बढ्नुपर्ने ठाउँमा ७५ प्रतिशत घटेको छ, अघिल्लो आँकडाअनुसार । व्यक्तिगत स्वार्थपूर्ति गर्नेहरुलाई उद्योग सञ्चालन गर्ने जिम्मा दिइएको छ । जोचाहिँ कानुन र नियमअनुसार अघि बढ्न चाहेको छ, उसलाई रोकिएको छ । यस्तो अवस्थामा युवा विदेश पलायन नभएर स्वदेशमा कसरी बस्न सक्छन् ? त्यस्तै, बजेट खर्च, सरुवा, बढुवा आफूअनुकूल भइरहेका छन् । संसद बस्दैछ तर, अध्यादेश जारी गर्नुहुन्छ । प्रतिपक्षीसँग सदाशयतापूर्ण व्यवहारका साथ सरकार चलाउनुपर्नेमा घुर्की र धम्कीको भाषामा आफ्नो बचाव गर्ने प्रबृत्ति देखिन्छ । आफ्नै पार्टीभित्र उहाँहरुले नेता–कार्यकर्तालाई सन्तुष्ट पार्नुभएको छैन भने जनता कसरी सन्तुष्ट होलान् ? प्रतिपक्षीले उठाउनुपर्ने कुरा उहाँकै नेता–कार्यकर्ताले उठाइरहेका छन् ।
० प्रतिपक्षीका रुपमा कांग्रेसको भूमिकाचाहिँ कस्तो देख्न पाइन्छ ?
– सरकार सच्चियो भने ठीक छ । सच्चिएन भने विद्रोहको रुप थाहा हुन्छ । हामी संसदको अत्यन्तै महŒवपूर्ण पार्टी हौँ । अहिले भइरहेका गलत कामविरुद्ध उत्रिनेछाँै । जनताको माझ गएर यो सरकारको गतिविधि खुलस्त रुपमा भन्ने छौँ । हिजो कांग्रेस सबैभन्दा ठूलो दल थियो । तर, दुई कम्युनिष्ट सबैतिर मिल्दा हामीले पराजय भोग्नुप¥यो । अब, पराजय भइयो भनेर भन्दा पनि प्रतिपक्षको भूमिका निर्वाह गरेर आगामी निर्वाचनमा दरिलो पार्टी बन्दैछौँ ।
० पाँच वर्षपछि सत्तामा कांग्रेसलाई देख्न पाइन्छ ?
– यसमा कुनै शंका नै छैन । यहाँ बढी नारा बिक्ने गरेको छ । कांग्रेस काम गर्ने तर प्रचार गर्न नजान्ने पार्टी हो । हेर्नुस् त, उद्योग व्यवसायीले विज्ञापनमा कति रकम खर्च गर्छ ? लगभग २५ प्रतिशत । त्यही नाफा कमाउनलाई हो । उसले उपभोक्तालाई हो भन्नका लागि प्रचार गर्छ । यता, कांग्रेस प्रचारभन्दा पनि जनताले त्यसै बुझिहाल्छन् नि भनेर लुरुलुरु काम गर्छ । तर, त्यसरी जनताले नबुझ्दा रहेछन् ।
टिप्पणीहरू