ए जोइपोइ, तिम्रो भान्छा खोइ !

शक्तिशाली पार्टी, अपार जनादेश र सुदृढ संगठन भनेर मात्र के गर्नु, चालामाला बिग्रेपछि भताभुंग हुन केही बेर नलाग्दो रहेछ । सबैले ‘हाम्रो र राम्रो’ हेर्दा विभिन्न गुटभित्रका पनि उपगुट समस्यामा परेका छन् ।

जस्तै, रामबहादुर थापा (बादल) सहितको समूहले वैद्यसँग विद्रोह गरेपछि त्यताबाट जो–जो आए, तिनका नेता उनी बन्नु स्वाभाविकै हो । अहिले पनि बादलले नियमित भेट्ने र घनीभूत छलफल गर्ने भनेको तिनैसँग हो । एमालेसँग एकीकरण घोषणा हुनुअघि माओवादीमा बादलजस्ता विभिन्न १५ घटकको समायोजन भएको थियो । नयाँ शक्तिबाट देवेन्द्र पौडेल (सुनील) सहितको समूह, नेकपा (संयुक्त) का गणेश साहहरू, जनसमाजवादी पार्टीसहितका ती घटकमध्ये अधिकांशको अहिले हरिबिजोग छ । गणेश साहले स्थायी कमिटी सदस्य पाए । देवेन्द्र पौडेलले बाग्लुङबाट प्रत्यक्षतर्फ संसदको चुनाव नै जिते । बाँकीको बिचल्ली छ । केन्द्रमा भएका नेता प्रदेश र जिल्लामा परेका छैनन् । त्यसैले गुटको कुरै भएन, गुटभित्रका पनि उपगुट र घटकहरू यस्तो मारमा परेका छन् । तिनीहरूको रुवाई र पीडा आ–आफ्नो ठाउँमा छ ।

पद पाइएन भन्दैमा फर्किएर जाने ठाउँ पनि छैन । पार्टीभित्र शुरु भएको यो संक्रमणकालमा लिनेले आ–आफ्नो किसिमले फाइदा लिइरहेका छन् । जसले सकेका छैनन्, उनीहरूको कन्तबिजोग हेरिनसक्नुको छ । तत्कालिन माओवादी केन्द्रमा मिसिएका घटकहरू तलबाटै दबाब अभियान चलाउने, नेतृत्वलाई आग्रह गर्ने भनेर सरसल्लाह गर्दै छन् । उनीहरूको बुझाइ छ, पूर्वएमालेमा राजनीतिक चेत कम रहेछ । उनीहरू सन्तुलन मिलाएर बसेका छन्, जमेको तलाऊजस्तो । आफ्नै कोटरीमा रमाएर बस्ने, रूपान्तरण नहुने तहमा छन् । एकता प्रक्रियालाई लम्ब्याउँदा त्यसको फाइदा महाधिवेशनसम्ममा लिन सकिने उनीहरूले बुझेका छन् । सरकार एउटै पार्टीको भनिएको छ । तर, नियुक्तिहरू आ–आफ्ना मन्त्रालयअन्तर्गत आ–आफ्ना मान्छेको मात्रै गरिएको छ ।

कुरा नमिलेका जोई–पोईको घरभित्र अलग–अलग भान्सा, बाहिरचाहिँ सँगै देखिनुपर्ने बाध्यताजस्तो बनेको छ, एकता । भित्री रणनीति के पाइयो भने, महाधिवेशनसम्म आ–आफ्नो जोड–घटाऊको स्थितिले जाने र एकतालाई यसरी नै लम्ब्याइरहने ! पार्टीभन्दा सत्ताप्रमुख । एमालेभित्रको समस्या माओवादीलाई थाहै हुन छाड्नु । माओवादी पनि एकीकृत भएको देखिनु । प्रचण्ड साझा नेता त भए । तर, उनले पनि सबै सन्तुलन मिलाउन नसकेको गुनासो बाक्लो छ । बादललाई अलिक बढी च्याप्दा अन्यत्र समस्या भयो । कम्युनिष्ट पार्टीका नेता र कार्यकर्ता जनतामा अत्यधिक सम्पर्कमा रहनुपर्छ भन्ने मान्यता त हो । तर, एकतापछि झन् बढी सत्ताकेन्द्रित हुँदा भएको जनसम्बन्ध पनि बिच्छेदको स्थिति छ । अहिले जनसम्बन्धबाट सबभन्दा टाढा कोही छ भने त्यो नेकपा नै हो । परिणामस्वरूप स–साना देखिने, तर गहिरिएर हेर्दा त्यस्तै साना–साना असफलता बढेर पार्टी संकटमा पर्ने घटनाहरू देखिन थालेका छन् ।

जस्तो कि, देशका विभिन्न भागमा भएका विद्यालय व्यवस्थापन समिति, खानेपानी उपभोक्ता समिति, टोल सुधार समितिहरूका चुनावमा नेकपाका मान्छेहरूले व्यहोर्दै रहेको असफलता । तल्लो कमिटीहरूमा काम गर्ने अगुवा स्थानीय तहको पदाधिकारी बनेका छन् । पार्टी कमिटी छैन । निर्वाचित जनप्रतिनिधिलाई जनतासँग जोड्ने पार्टी कमिटीले हो । त्यसको अभाव हुँदा ‘राजा र रैती’ भनेजस्तो, जनता र जनप्रतिनिधि भएका छन् ।

टिप्पणीहरू