पत्रकारका दु:ख,उपाध्यक्षले महासंघ छोडे,महासचिवले पार्टी जिम्मेवारी
नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारीहरु पछिल्लो समय विभिन्न राजनीतिक दलमा आवध्द भैरहेका छन् । महासंघको जिम्मेवारीमा रही पार्टी राजनीतिमा उनीहरुको सक्रियतालाई लिएर आलोचना पनि हुने गरेको छ । महासंघले बेलाबेला विज्ञप्ति नै निकालेर पार्टी राजनीतिमा लागेका पदाधिकारी तथा सदस्यहरुलाई सचेत पनि गराउँदै आएको छ ।
पत्रकार महासंघको विधानले संगठनको सदस्यता लिएका पत्रकारलाई राजनीतिक दलमा आवध्द हुन रोक लगाएको छ । तर, पत्रकारहरु खुलेआम पार्टीका विभिन्न तह र निकायमा पुग्न चुनावमा होमिने गरेका छन् । प्रमुख पार्टीहरु नेपाली काँग्रेस,एमाले र माओवादी केन्द्रका अधिवेशनहरुमा ठूलो संख्यामा महासंघका सदस्यहरु प्रतिनिधि चुनिने गरेका छन् ।
पत्रकार महासंघ स्वतन्त्र र साझा संस्था हो । महासंघको स्वतन्त्रता र विश्वसनीयता जोगाउन यसका सदस्यहरु पनि स्वतन्त्र हुनुपर्छ । तर, यी सबै कुरा केवल कागजमा मात्र सीमित हुने गरेका छन् । यसैबीच महासंघका महासचिव रोशन पुरीले भने पदमा रहँदासम्म राजनीतिक जिम्मेवारी नलिने घोषणा गरेका छन् ।
महासचिव पुरीलाई माओवादी केन्द्रले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको सदस्य बनाएको थियो । उक्त जिम्मेवारी अस्वीकार गरेका उनले महासंघमा रहँदासम्म पार्टीको कुनै पनि निकायमा नरहने प्रष्ट पारेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘नेकपा (माओवादी केन्द्र)को केन्द्रीय प्रचार विभाग सदस्यकारुपमा मलाई नसोधिकन नाम समावेश गरिएको प्रति मेरो ध्यानाकर्षण भएको छ । नेपाल पत्रकार महासंघको महासचिवरहेसम्म पार्टीको प्रचार विभाग वा पार्टीका अन्य निकायमा नरहने कुरा जानकारी गराउँदछु ।’
यता, उपाध्यक्ष बाला अधिकारीले भने महासंघको जिम्मेवारी छोडेर पार्टी राजनीति रोजेकी छिन् । नेपाली कांग्रेसको १४ महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि चुनिएकी अधिकारीले चौतर्फी आलोचना भएपछि महासंघ छोड्ने निर्णय गरेकी हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘म नेपाल पत्रकार महासङ्घको केन्द्रीय उपाध्यक्ष भएको नाताले नेपाल पत्रकार महांसघको विधान आचारसंहिताका पालना गर्नु मेरो प्रमुख कर्तव्य रहेको कुरा मलाई हेक्का छ ।’ उनले अब आफ्नो गन्तव्य पार्टी राजनीतितिर भएको भन्दै पत्रकार महासंघको २६औं महाधिवेशनमा अमूल्य भोट दिने सबैप्रति आभार व्यक्त गरेकी छिन् ।
टिप्पणीहरू