स्याउ हेर्न २ सय तिर्नुपर्ने
मनाङ जिल्लालाई नेपालको स्याउखानी समेत भनिन्छ । मनाङको स्याउ मुलुकभित्र निकै प्रख्यात छ । मनाङको पनि ङिस्याङ गाउँपालिका–१, भ्राताङको स्याउ बगैंचाले आन्तरिक तथा बाहिरी पर्यटकलाई आकर्षित गर्न थालेको छ ।
मनाङको स्याउ फर्म (बगैंचा) हेर्न आन्तरिक पर्यटकको ओइरो लाग्न थालेको छ । अन्नपूर्ण पदमार्गमा घुम्न गएका विदेशी पर्यटकले समेत स्याउ बगैँचामा आनन्द लिने गरेका छन् । पछिल्ला दिनमा मनाङ घुम्न जानेहरू सबैले भ्राताङको स्याउ बगैंचा नघुमी नफर्किने गरेका छन् ।
त्यसरी घुम्न जानेले प्रायः स्याउ बगैँचा घुम्ने, फोटो खिच्ने र स्याउ किनेर लैजाने गरेका छन् । त्यसैलाई मध्यनजर गर्दै ङिस्याङ गाउँपालिका–१, भ्राताङस्थित एग्रो मनाङ प्रालिले स्याउ हेर्न टिकटको व्यवस्था गरेको छ ।
एग्रो मनाङले स्याउबारीमा पर्यटन प्रवद्र्धन गर्न टिकट प्रणाली लागु गरेको जनाएको छ । संस्थाका अध्यक्ष समराज गुरुङका अनुसार स्याउबारीमा स्याउ हेर्ने पर्यटकको भीड लाग्न थालेपछि टिकट प्रणालीको व्यवस्था गरिएको हो ।
स्याउ हेर्न दिनहँु ६० देखि ७० जना आन्तरिक पर्यटक पुग्ने गरेका छन् । त्यसैगरी ३० देखि ४० जना विदेशी पर्यटकले पनि दैनिक स्याउबारी हेर्नैको निम्ति आउने गरेको गुरुङ बताउँछन् । स्याउ हेर्नैका लागि आन्तरिक पर्यटकले प्रतिव्यक्ति दुई सय र वाह्य पर्यटकले प्रतिव्यक्ति चार सय रुपैयाँ टिकट शुल्क तोकिएको छ ।
दक्षिण एसियामै ठूलो दाबी गरिएको एग्रो मनाङको ७ सय ३५ रोपनी जग्गामा स्याउ खेती गरिएको छ । एग्रो मनाङले ६ वर्षअघि इटाली र सर्वियाबाट ल्याइएका बिरुवा रोपेको हो । गत वर्ष ४ सय ५० टन स्याउ उत्पादन भएको एग्रो बगानमा यो वर्ष पाँच सय टन उत्पादन हुने अनुमान गरिएको छ । फार्ममा गाला, गोल्डेन र फुजी जातका स्याउको बेर्ना लगाइएको छ ।
स्याउलाई स्टोर गर्न भ्राताङ, लमजुङको बेंसीसहर र काठमाडौंमा कोल्ड स्टोर बनाइएको छ । मनाङका चार स्थानीय तहमध्ये नार्पाभूमि बाहेक चामे, नासो र मनाङ ङिस्याङ गाउँपालिकामा स्याउ खेती हुँदै आएको छ ।
टिप्पणीहरू