कमल थापाका नाउँमा हजार शब्द
– लक्ष्मी काफ्ले
आइतबार एकाबिहानै राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा झापाली नेता राजेन्द्र लिङ्देन निर्वाचित भए । उनले नेपाली राजनीतिको एकजना पुरानो र स्थापित नेता कमल थापालाई पराजित गरे । नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई अहिले बधाई तथा शुभकामनाको ओइरो छ । उनी लोकप्रिय नेता हुन् । युवाका त झनै प्रिय छन् ।
तर, पराजयपछि नेता कमल थापाको हालत भने अलिक बेग्लै छ । पद (कुर्सी) नपाउँदा अथवा निर्वाचनमा पराजित हुँदा नेताहरू कुन स्तरसम्म पुगेर सोच्न थाल्छन् भन्ने थाहा पाउन कमल थापाका ट्वीट पढे पुग्छ । आइतबार बिहानदेखि उनी बडो नमज्जाले रन्थनिएका छन् । ट्वीटरमा उनी कहिले पूर्वराजा ज्ञानेन्द्रमाथि खनिए, कहिले ज्ञानेन्द्रकी बुहारी हिमानीप्रति । हुँदाहुँदा एउटा विरहलाग्लो गीतका हरफ ‘यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने हो ?’ सम्मको स्मरण गरे ।
केही महिनाअघिसम्म यिनै थापालाई मिडियाले ¥याख्¥याख्ती पारेका थिए, अब पनि आफैँ अध्यक्ष ताक्ने कि युवालाई नेतृत्व हस्तान्तरण गर्न तयार हुनुहुन्छ भनेर । जवाफमा थापाले ‘म त तयार छु’ भनेको भिडियो अझै मसँग सुरक्षित छ । तर, जतिजति महाधिवेशन नजिकिँदै गयो, उनी त्यति नै पुनः अध्यक्ष हुनतिर लोभिँदै गए ।
हुन त उनी सामाजिक सञ्जालमा निकै सक्रिय छन् । फेसबुक र ट्वीटर आफैँ चलाउँछन् । सामाजिक सञ्जालमा के–कस्तो प्रतिक्रिया छ, सर्वसाधारणको प्रिय को छ, जनताले कसलाई चाहेका छन्, यी कुरा राम्ररी बुझेकै थिए । तर, उम्मेदवारी दिनबाट पछि हट्न चाहेनन् । उनलाई अध्यक्षको लोभले छोडेन । त्यसो त १५ वर्षयता निरन्तर अध्यक्ष पदमै थिए । तर, अब अध्यक्ष पद छाड्नुपर्ने सम्झिँदा उनलाई एउटा बेग्लै पीडा भयो । त्यसैले विभिन्न नयाँ–नयाँ बहाना बनाउँदै आफू अध्यक्ष नभए पार्टी बर्बादै हुने तर्क गर्न थाले ।
झण्डै आधा शताब्दी राजनीति गरेरै बिताएका यी नेता परिपक्व छन् भन्ने लाग्थ्यो मलाई । यसपटक अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनलाई समर्थन गरेर आफू अभिभावकीय भूमिकामा बसिदिएको भए धेरैले धन्यवाद दिन्थे । तर, महाधिवेशनको माहोल जतिजति तात्दै गयो, उनले त्यति नै अपरिपक्व व्यवहार देखाउन थाले । महाधिवेशन शुरु हुनुअघि अन्य दुई अध्यक्ष पशुपतिसमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीको भविष्यका लागि भन्दै उम्मेदवारी दिएनन् । उनीहरूले कमल थापालाई पनि मार्ग प्रशस्त गर्न नसुझाएका होइनन् ।
तर, थापाले लिँडेढिपी छोड्दै छाडेनन् । अन्ततः अध्यक्षमा उम्मेदवारी दिइछाडे । महाधिवेशनको माहोलमा थापाले केही सञ्चारमध्यममा अन्तर्वार्ता दिँदा राजेन्द्र लिङ्देनलाई घोचिरहे । कहिले जिल्लास्तरीय नेता भन्दै टिप्पणी गरे, कहिले क्षमता नभएको भने । तर, लिङ्देन भने जहिल्यै पनि भद्र शैलीमा प्रस्तुत भए । राजनीतिक भाषामै टिप्पणी गरे ।
राजेन्द्र लिङ्देन कति शालीन र इमान्दार नेता हुन्, यहाँ लेखिरहनु नपर्ला । राजावादी भएकै कारण धेरै यातना सकेका छन् । हिजोका दिनमा माओवादीले मरणासन्न हुनेगरी कुटे । मरेको भन्ठानेर झाडीमा फालिदिए । तर, उनी बाँचे । घर पनि कामै नलाग्ने गरी आगो लगाइदिए ।
तर, लिङ्देन कहिल्यै विचलित भएनन् । संघर्षको मैदानमा कहिल्यै थाकेनन् । पार्टीप्रतिको निष्ठा झन् बढ्यो उनीमा । पार्टीलाई मात्र होइन, कमल थापालाई अप्ठ्यारो पर्दा काँध हालेर साथ दिएका छन् लिङ्देनले थुप्रैपटक । राप्रपा नामको पार्टीलाई शून्य हुन नदिने राजेन्द्र लिङ्देन र धवलसमशेर राणाहरू नै हुन् । प्रतिनिधिसभा निर्वाचनमा कमल थापाले हारे । तर, लिङ्देन नै हुन् कांग्रेसका चर्चित अनुहार कृष्णप्रसाद सिटौलालाई १३ हजार मतान्तरले पराजित गरेर संसदमा निरन्तर एक्लै हिन्दू राष्ट्र र राजसंस्थाको कुरा राखिरहने नेता ।
एउटा कुरा के साँचो हो भने नेपाली जनता पुरानो नेतृत्वबाट वाक्क भइसकेका छन् । जनता अब नेतृत्वमा नयाँ अनुहार, नयाँ सोच, नयाँ जोश देख्न चाहन्छन् । तर, खासगरी कांग्रेस, एमाले, माओवादीमा एउटै अनुहार दोहोरिरहँदा जनता दिक्क हुनु स्वाभाविकै हो । आमसर्वसाधारणमा एउटा आशा जाग्यो राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारीले । यसपटक थापा, राणा र लोहनी तीन जनाले नै राजेन्द्र लिङ्देनलाई अध्यक्ष सुम्पिएर अभिभावकीय छहारी दिएको भए नयाँ सन्देश जाने थियो जनतामा । लिङ्देनलाई डा. लोहनीले त खुलेरै समर्थन गरे । राणाले उम्मेदवारी नदिएर बाटो छाडिदिए । तर, थापा भने कस्सिन छाडेनन् ।
अझ उनी त अपरिपक्व तर्कहरू गर्नतिर लागे । एकपटक त उनले भने, ‘दौडिँदा मलाई लिङ्देनले जितेछन् भने अध्यक्ष दिन तयार छु ।’ यतिसम्मको कच्चा सोचाइ राख्ने थापाले अझ उल्टै लिङ्देनलाई पो ‘काँचो नेतृत्व’ भन्न भ्याए । महामन्त्रीकी उम्मेदवार रेखा थापाले गणतन्त्रबारे बोलेको एउटा भिडियो सेयर गर्दै व्यंग्य पनि गरे । अध्यक्ष जित्नका लागि थापाले के गरेनन् ? जनआस्था साप्ताहिकको अनलाइनले त लेखिसक्यो, महाधिवेशनको दुई दिनअघि रातको समयमा ह्याकर नै ल्याएर नामावली सच्याएको कुरा । त्यति गर्दा पनि लिङ्देनलाई जित्न सकेनन् । पैसा नबाँडेको भए, ह्याकर नल्याएको भए थापाले एक हजार भोट पनि कटाउन नसक्ने कुरा त समाचारमै आइसक्यो ।
पराजित भएपछि थापाले कार्यकर्ता र पूर्व राजपरिवारप्रति सकेसम्म रिस पोख्दैछन् । तर, राजतन्त्र र हिन्दू राष्ट्रको मुद्दा सडकमा चर्कंदा पनि राप्रपा भने चुप लागेर बसेको सबैलाई थाहा छ । त्यसबेला यिनै कमल थापा अध्यक्ष थिए । अहिले उनी अध्यक्षमा पराजित भएपछि भने उल्टै अनेकथरी कुरा ट्वीट गर्न थालेका छन् ।
स्मरण रहोस्, कमल थापा उनै नेता हुन् जसले कहिल्यै पार्टी फुट्न नदिने भन्दै श्रीमद्भगवदगीता छोएर कसम खाएका थिए । तर, अध्यक्षमा पराजित भएपछि दिएका अभिव्यक्ति र गतिविधि हेर्दा भने शंका गर्ने प्रशस्तै आधार छन् । अध्यक्षमा हारेलगत्तै आफू पक्षको आकस्मिक बैठक बोलाए । हराउनेहरूको सूचि बनाए । अनलाइनहरूमा गाइँगुइँ छ, उनी नयाँ दल खोल्नतिर लागिसके भनेर । गीतामा हात राखेर कसम खाएको यति चाँडै बिर्सिए यिनले ? आशा गरौँ, यी हल्ला हुन् हामीले सुनेका ।
पराजित भएपछि मान्छेले साह्रै नमिठो महसुस गर्छ । तर, झण्डै आधा शताब्दी राजनीति गर्नेका लागि हार–जित सामान्य लाग्नुपर्ने हो । ०७४ को प्रतिनिधिसभा निर्वाचन हार्दा पनि पीडामा थिए । कार्यकर्ताले राजीनामा माग्न थालिसकेका थिए । बाध्य भएर राजीनामा गर्न लाग्दा राजेन्द्र लिङ्देन नै रातारात काठमाडौँ गएर थापाको अध्यक्ष पद जोगाइदिएको धेरैलाई थाहा छ ।
दशकौँ राजनीति गरेको व्यक्तिमा पार्टीको आन्तरिक प्रतिष्पर्धालाई कसरी लिनुपर्छ भन्ने सामान्य चेत पनि रहेनछ । अनि उल्टै अरूलाई काँचो नेतृत्व भन्दै हिँड्दा कसलाई हाँसो नउठ्ला र ? अब पनि केही बितेको छैन । थापाले सकारात्मक सोचसाथ आत्मसमीक्षा गरे हुन्छ । आवेशमा आएर बढी कुरा बोलेको, लेखेको स्विकारे हुन्छ । नत्र आफूले गरेका तिनै ट्वीटका कमेन्ट पढे हुन्छ, भोलिको राजनीतिक भविष्य छर्लंग छ ।
पार्टीको निर्वाचनमा भोट हाल्दै गरेको तस्बिरसहित शनिबार थापाले ट्वीट गरेका थिए, ‘राप्रपा एकता महाधिवेशअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा सहभागी हुँदा हर्ष र गौरवको अनुभूति गरेको छु । पार्टीको एकता कायम राखी राप्रपालाई देशको अग्रणी शक्ति बनाउन सकौँ ।’ अब प्रश्न उठ्छ, के पराजयपछि थापाले हर्ष र गौरवसाथ राजेन्द्र लिङ्देनलाई अँगालो हाल्न सके ? के अब यिनले पार्टीको एकता कायम राख्न सहयोग गर्लान् ? राप्रपालाई देशको अग्रणी शक्ति बनाउन राजेन्द्र लिङ्देनलाई खुलेर साथ देलान् ?
टिप्पणीहरू