नेपाली काँग्रेसको महाधिवेशनमा गाडी भारतीय,मतपेटिका पानी ट्याङ्की

नेपाली काँग्रेसको महाधिवेशनमा गाडी भारतीय,मतपेटिका पानी ट्याङ्की

नेपाली काँग्रेसको राजधानीमा जारी १४ औं महाधिवेशनमा नेता तथा कार्यकर्ताले मज्जैले भारतीय नम्बर प्लेटका गाडी कुदाएका छन् । भारतको पश्चिम बंगाल,बिहार र उत्तर प्रदेश राज्यको नम्बर प्लेटका जीपहरु बग्रेल्ती गुडाइएका छन् ।

कतिपय भारतीय सवारी साधनमा केन्द्रीय समितिमा उठेका उम्मेदवारको ब्यानरसमेत झुण्डाइएको देखिन्छ । भृकुटीमण्डपभित्र लाइनमा राखिएका भारतीय नम्बर प्लेटका सवारी साधनले भारतीय काँग्रेसको अधिवेशनको झझल्को दिएको भन्दै एकथरी महाधिवेशन प्रतिनिधिले खासखुस गरेका छन् ।

“नाङ्लोभन्दा ठूलो मतपत्र हुने भएपछि काँग्रेसले ७५ थान पानी ट्याङ्कीको जोहो गरेको छ ।”

यता, केन्द्रीय समितिका सभापतिसहित १ सय ३४ सिटको निम्ति ५ सय ४८ जनाको उम्मेदवारी परेको छ । पर्सि हुने मतदानको निम्ति सम्भवतः विश्वकै लामो र ठूलो मतपत्र हुनसक्ने काँग्रेस निर्वाचन समितिका सदस्यहरुले आकलन गरेका छन् ।

भद्दा मतपत्रका कारण एक जना मतदातालाई मतदान गर्न कम्तिमा पनि ५० मीनेट लाग्ने छ । ४७ सय जना प्रतिनिधिलाई पर्सि दिनभरको समयले पनि मतदान गर्न नपुग्ने आशंका गरिएको छ । मतदान केन्द्र तीन स्थानमा तोकिएको छ ।

महाधिवेशन भइरहेको भृकुटीमण्डप, नजिकैको राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लबलाई मतदान केन्द्र बनाइएको छ । नाङ्लोभन्दा ठूलो मतपत्र हुने भएपछि काँग्रेसले ७५ थान पानी ट्याङ्कीको जोहो गरेको छ । त्यो खानेपानीको निम्ति नभई ‘ब्यालेट बक्स’ को लागि हो । खानेपानीको रुपमा महाधिवेशनमा पतञ्जली नेपालले दिव्यजल उपलब्ध गराएको छ ।

टिप्पणीहरू