रावतको अन्त्येष्टिमा १७ तोपको सलामी

रावतको अन्त्येष्टिमा १७ तोपको सलामी

गत बुधबार दक्षिण भारतको तमिलनाडुमा भएको हेलिकोप्टर दुर्घटनामा मारिएका भारतका प्रथम चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको सैनिक सम्मानका साथ अन्त्येष्टि गरिएको छ । १७ तोपको सलामीसहित उनको नयाँ दिल्लीमा अन्त्येष्टि गरिएको हो । रावत र दुर्घटनामा मारिएकी श्रीमती मधुलिकाको शवयात्रा सँगै गरिएको थियो ।

उनलाई १७ तोपको सलामी दिइएको तर २१ तोपको सलामी नदिइएको सम्बन्धमा विभिन्न चर्चा भएको छ । तर भारतीय सैन्यस्रोतले २१ तोपको सलामी राष्ट्रपति तथा वरिष्ठ नेताको निधनमा मात्रै दिइने प्रचलन रहेको प्रष्ट पारेको छ ।

तीबाहेक तीन वटै सेनाका प्रमुखको निधनमा भने १७ तोपको सलामी दिने प्रचलन छ । १९ तोपको सलामी भने भारतीय राष्ट्राध्यक्ष वा सरकार प्रमुख विदेश भ्रमणमा जाँदा र विदेशी राष्ट्राध्यक्ष वा सरकार प्रमुख भारत भ्रमणमा आउँदा दिइने गरिएको छ ।

यता उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले हेलिकोप्टर दुर्घटनामा मारिएका सेनाका विंग कमाण्डर पृथ्वीसिंह चौहानको परिवारसँग भेट गरेका छन् । उनले कमाण्डरको परिवारलाई राज्य सरकारले ५० लाख रुपैयाँ र परिवारका सदस्यलाई रोजगारीको वचन दिएका हुन् ।

मुख्यमन्त्रीले मृतक चौहानको आगरामा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने जानकारी गराएको बताइएको छ ।

https://www.youtube.com/watch?v=4U0ynBqAV10

टिप्पणीहरू