माओवादीमा प्यानल बनाउन नपाइने

माओवादीमा प्यानल बनाउन नपाइने

नेकपा (माओवादी केन्द्र) मा नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानल बनाएर प्रतिस्पर्धा गर्न नपाइने भएको छ । वडा, स्थानीय तह हुँदै प्रदेश अधिवेशनमा रहेको माओवादीले नेतृत्व चयनमा प्यानलबद्ध प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरेको हो ।

पहिलो पटक नेतृत्व चयनमा आन्तरिक प्रतिस्पर्धालाई खुला गरेको माओवादी केन्द्रले त्यसका लागि निर्वाचन समिति समेत गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल ‘प्रशान्त’ ले सहमतिबाट नेतृत्व चयनमा जोड दिने तर, आन्तरिक प्रतिस्पर्धालाई पनि खुलै राखिएको बताए ।  उनका अनुसार प्यानल बनाएर प्रतिस्पर्धामा जाँदा पार्टीमा स्थायी गुट बन्ने भएकाले प्यानल बनाउन भने नपाइने व्यवस्था गरिएको हो ।

माओवादीले स्थानीय तहमा अधिकांश सहमतिबाटै नेतृत्व चयन गरिसकेको छ । हिजोदेखि शुरु प्रदेश अधिवेशनको आजदेखि बन्दसत्र थालिएको छ । सात भौगोलिक र दुई गैरभौगोलिक गरि नौ वटा प्रदेश अधिवेशनको हिजो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकैसाथ उद्घाटन गर्नुभएको हो ।

अहिले प्रदेश २ बाहेकका बाँकी सबै प्रदेशमा बन्दसत्र चलिरहेको छ । प्रदेश २ मा भने बन्दसत्र पुस ३ गते हुने बताइएको छ । अधिवेशनले प्रदेश कमिटी निर्वाचित गर्ने र निर्वाचित कमिटीले पदाधिकारी चयन गर्ने विधानमा व्यवस्था छ ।

माओवादीको अन्तरिम विधानमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्षसहित प्रदेश कमिटी निर्वाचित हुने व्यवस्था छ । सबै प्रदेशमा पदाधिकारीका लागि दर्जनौँ आकांक्षी रहेकाले नेतृत्व चयनका लागि निर्वाचन हुनसक्ने बताइएको छ । आकांक्षीको संख्या अत्यधिक रहेकै कारण माओवादीले प्रदेश कमिटी सदस्यको संख्या बढाएको छ ।

त्यस्तै, सात जना निर्वाचित हुने पदाधिकारीको संख्या बढाएर ९ पुर्याइएको छ । माओवादीले प्रदेशको जनसंख्या र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको संख्याका आधारमा प्रदेश कमिटी सदस्यको संख्या निर्धारण हुने विधानमा व्यवस्था गरेको छ ।

जारी बन्दसत्रमा अहिले समूहगत छलफल चलिरहेको र प्रतिवेदन पारित गरेपछि कमिटी गठनको प्रक्रिया शुरु हुने कार्यालय सचिव ढकालले जानकारी दिए । कमिटी गठनसँगै पदाधिकारी चयनको प्रक्रिया शुरु हुने उनको भनाइ छ ।

‘सहमति भए सहमतिबाट र नभए निर्वाचनको माध्यमबाट कमिटी चयन हुन्छ । तर प्यानल बनाउन भने पाईंदैन’, उनले भने, ‘प्यानल बनाउँदा पार्टीमा स्थायी प्रतिपक्ष जन्मिन्छ । अन्य पार्टीमा पनि हामीले त्यस्तो देखेका छौं । त्यसैले प्रतिनिधिहरुको जनवादी अधिकारलाई सम्मान गर्दै प्यानल बनाउन चाँही नपाइने व्यवस्था गरिएको हो । ’

जारी प्रदेश अधिवेशनअन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ता हुने र लगत्तै निर्वाचन प्रक्रिया शुरु हुने बताइएको छ ।

टिप्पणीहरू