‘म्यान्मारको ज्यानमारा राज्य’
म्यान्मारको क्रुर सेनाले थान्टलाङबासीका आँखै अघिल्तिर शहरका घरहरुमा आगो झोसिदिएको छ । घरमा आगो झोसेपछि स्थानीयले रोइकराई गरे पनि सेनाले उक्त बर्बर कार्य नरोकेको उनीहरुले बताएका छन् ।
सेनाले आगो लगाएपछि निमेषभरमा थान्टलाङ शहरलाई आगो र धुँवाको मुस्लोले ढाकेको हो । सुन्दर बस्ती क्षणभरमा खरानीमा परिणत भएको छ । सर्वसाधारणको घरमा लगाइएको आगो हेर्दै तानाशाही सेना रमाइरहेको देखिन्थ्यो भने जनआक्रोश दबाउन उल्टै पीडितमाथि गोली बर्साउन सैनिकहरु तम्तयार अवस्थामा बसेका थिए ।
सेनाले गरेको आगजनीबाट त्यहाँका उत्तरी छिन् राज्यको थान्टलाङ शहरका पाँच सयभन्दा बढी घर, १३ वटा मन्दिर र ५० भन्दाबढी चर्च नष्ट भएका छन् ।
आगलागीपछि स्थानीयहरू त्रसित र भयभित देखिन्छन् । सुन्दर घरहरू खरानी भएको छ भने, पाल गाडेर बस्ने ठाउँसमेत उनीहरुलाई दिइएको छैन । त्यसैले अधिकांश शहरबासी जंगल पसेको त्यहाँबाट प्राप्त समाचारमा उल्लेख छ ।
स्थानीय पीडितलाई उद्धृत गर्दै भनिएको छ, ‘सरकार नै जनता मार्न लागिपरेको छ । सहयोग गर्ने कोही छैन । उद्धार गर्ने संघ–संस्था समेत देखिएका छैनन् ।
स्रोत : म्यानमार नाउ समाचार एजेन्सी
टिप्पणीहरू