राप्रपामा लिङ्देन उदयको सन्देश र सन्देह

राप्रपामा लिङ्देन उदयको सन्देश र सन्देह

– टिकाराम सुनार

संसदीय मोर्चामा एक सिटमा खुम्चिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सम्पन्न भएको छ । आइतबार सार्वजनिक परिणामले त्यही एक सिट जितेर पार्टीको संसदीय यात्रामा बिउ जोगाएका राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् । पञ्चायतकालदेखि अहिलेसम्म राजकीय एवं पार्टी सत्ताको भरपूर भोग गरी बसेका कमल थापा पराजित भएका छन् ।

परम्परागत राजनीतिक शक्तिको रूपमा अस्तित्वमा रहेको र नेपालको राजनीतिमा अस्वीकृत हिन्दू राज्यसहित राजसंस्थाको यति बिघ्न आलाप जपिरहेको पार्टी अहिले प्रचारको केन्द्रमा छ । सामाजिक सञ्जालदेखि मूलधारका मिडियामा विभिन्न कोणबाट राप्रपाको व्यापक प्रचार भइरहेको छ । यतिबेला मिडियाले त्यस पार्टीका गतिविधि, विश्लेषकका विचार र अभिव्यक्तिलाई विशेष स्थान दिइरहेका छन् भने राप्रपाको राजनीतिक सोच एवं चिन्तनलाई सम्पूर्ण रूपमा अस्वीकार गर्ने धारका नेताहरूले पनि त्यसलाई विशेष महत्वसाथ हेरेको कुरा यो बीचका गतिविधिबाट थाहा हुन्छ ।

त्यसैले त आइतबार आयोजित शपथग्रहण समारोहमा नवनिर्वाचित अध्यक्ष लिङ्देनले भनेका थिए, ‘प्रचार र आकर्षणको हिसाबले भर्खरै सम्पन्न नेकपा एमालेको महाधिवेशनभन्दा हाम्रो महाधिवेशन पनि कम छैन ।’ गणतन्त्रलाई राम्ररी अँगाले पनि हिन्दूराज्यको पक्षमा व्यक्त र अव्यक्त रूपमा रक्षात्मक बनेको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसको महाधिवेशन सम्मुखमा छ । गणतन्त्र र त्योअनुसारको राजनीतिक एवं प्रशासनिक परिवर्तन गर्नैका लागि जन्मिएको भनी दाबी गर्ने माओवादीको अधिवेशन पनि लगत्तै छ ।

तर, परिस्थिति यस्तो छ कि परम्परागत राजनीतिक दल राप्रपाले नवीन नेतृत्वलाई अनुमोदन गरिरहँदा एमालेले हालै सम्पन्न महाधिवेशनबाट फेरि ७० वर्ष उमेर हाराहारीका केपी शर्मा ओलीलाई जिम्मेवारीको भारी बोकाएको छ । कांग्रेसमा ७५ वर्ष कटिसकेका शेरबहादुर देउवा फेरि एक पटक नेतृत्व लिन तम्तयार छन् । र, माओवादी भनेकै प्रचण्डजस्तो बनाएका पुष्पकमल दाहाल फेरि अध्यक्ष बन्ने तयारीमा छन् ।

यही सन्दर्भमा राप्रपा अध्यक्ष लिङ्देनको भाषणको अंश उल्लेखनीय छ । ‘म अहिले पनि अरू राजनीतिक दलका नयाँ पुस्तासँग सम्पर्कमै छु । रामहरि खतिवडा, योगेश भट्टराई, रामकुमारी झाँक्रीहरूसँग कुरा भइरहन्छ । मेरो यो विजयले राप्रपा मात्रै होइन नेपालको राजनीतिमा पुस्तान्तरणको अभियानमा नयाँ हौसला प्रदान गरेको छ । पार्टीभित्र र बाहिर पुस्तान्तरणको बहसलाई नयाँ उचाइमा पु¥याएको छ ।’ यो भनाइले गहिरो राजनीतिक अर्थ बोकेको छ ।

नेपाली राजनीतिमा युवा नेतृत्व र पुस्तान्तरणको कुरा हँसिमजाकको विषयजस्तै छ । कतिपयका लागि यो भाषणको विषय मात्रै छ भने कतिपयका लागि खिसिट्युरी । चुनावी मैदानमा होमिने घोषणा गरिरहँदा कमल थापाले भनेका थिए, ‘युवा भनेर हुन्छ ? टुँडिखेलमा दौडौं जसले जित्छ त्यो अध्यक्ष !’ यो कमल थापाको मात्रै होइन त्यो पुस्ताको मानसिकताको प्रतिनिधि आवाज हो । तर, राप्रपाका महाधिवेशन प्रतिनिधिहरूले अब नेतृत्व परिवर्तन ‘लिगलिगे दौड’ र खिसिट्युरीको विषय होइन भनेर गतिलो झापड दिए । थापाको पराजयसँगै त्यहाँ पञ्चायतकालीन पृष्ठभूमि हुँदै बहुदल र अहिलेसम्म नेतृत्व गर्दै आएको एउटा पुस्ता बाहिरिएको छ ।

लिङ्देनले चुनावी अभियान समापनका क्रममा नाम लिएका युवा पुस्तामध्येका योगेश भट्टराई एमालेका ऊर्जावान् युवा हुन् । त्यहाँ अरू थुप्रै योगेश छन् तर त्यो पुस्ता पहिलो पुस्ताको आशीर्वादबिना जमानत जफत हुने अवस्थामा छ भन्ने कुरा भर्खरै सम्पन्न एमालेको महाधिवेशनबाट पुष्टि भएको छ । कारण जेसुकै होस् त्यो पार्टीभित्र फरक विचार राख्ने, परिवर्तन र फरक अस्तित्वको कुरा गर्ने भीम रावल, घनश्याम भुसालहरू अस्वीकृत हुन्छन् र भइरहन्छन् भन्ने ठूलो मनोवैज्ञानिक त्रासको सन्देश प्रवाह भयो ।

यसैगरी, अर्की नेत्री रामकुमारी झाँक्री नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) मा नयाँ भूमिकामा छन् । जोड घटाउको अवस्था आउँदा त्यो भूमिका पहिलो पुस्ताको निगाहमा निर्भर हुन्छ वा फरक, यस विषयमा पनि पर्याप्त अड्कल गर्ने ठाउँ छ । लिङ्देनले नाम लिएका अर्का नेता रामहरि खतिवडा कांग्रेसमा छन् । कांग्रेसको महाधिवेशन मंसिर २४ देखि शुरु हुँदै छ । त्यहाँ गगन थापालगायतको एउटा समूह पुस्तान्तरणको याचना गरिरहेको छ भने त्यही पुस्ताको अर्को समूह पुस्तान्तरणको कुरा गरेर राजनीतिक अवसानको बाटो रोज्ने पक्षमा छैन । यसो गर्नेको संख्या अहिलेको संस्थापनमा बढी छ ।

त्योमध्ये कोही रामचन्द्र पौडेल त कोही शेरबहादुर देउवाकै शक्तिमा आफ्नो भविष्य देखिरहेका छन् र त्यहीअनुसार गत भदौ १७ गतेदेखि शुरु विभिन्न तहका निर्वाचनमा भूमिका निभाइरहेका छन् । पार्टीभित्र तेस्रो धार बनाएका कृष्णप्रसाद सिटौलासँग आफ्नो पक्षका केही नेताको राजनीतिक भविष्य सुनिश्चितताको नाममा त्यही पहिलो पुस्तासँगै मिलेर अगाडि बढ्नुको विकल्प र सांगठनिक ओज देखिँदैन ।

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन कर्मकाण्डी, कानुनी बैधताभन्दा बाहेक मूल नेतृत्व परिर्वनका हिसाबले फलदायी हुने देखिँदैन । त्यहाँ तत्कालीन अवस्थामा पुष्पकमल दाहाल प्रचण्डको विकल्प प्रचण्ड नै हुन् । त्यहींभित्रको दोस्रो र पछिल्लो पुस्ताले नै विकल्प नदेखेपछि अरूले चिन्ता गरिरहनुपरेन ।

यसर्थ, राप्रपाजस्तो सम्बद्र्धनवादी धारमा दुई दशकदेखि सत्ता र शक्तिको चरम सुखभोग गरिरहेको नेतृत्वलाई चुनौती दिनु चानचुने कुरा थिएन । त्यो पनि केन्द्रीय समितिमा आएको करिब १२ वर्ष मात्रै पुगेको व्यक्तिलाई । त्यो नेतृत्वलाई विस्थापित गर्ने कुरा पार्टी बाहिर त कसैले पनि कल्पना गरेका थिएनन् । तर, धेरैले कल्पना नगरेकै कुरा राप्रपामा सम्भव भयो ।

राजनीतिक पार्टी केवल सत्ताको भ¥याङमा सीमित भएको, पार्टीहरू त्यहाँभित्रका सीमित नेताको नितान्त निजी कम्पनी, स्वार्थपूर्ति र लेनदेनको अखडा बन्दै गएको आरोप लागिरहेको छ दलहरूलाई । यही बेला गणतन्त्रपक्षधर संसदको सबैभन्दा ठूलो पार्टी नेकपा एमालेको महाधिवेशन सम्पन्न भयो । तर, त्यहाँ डेढ दर्जनभन्दा बढी पदाधिकारीसहित तीन सय एक सदस्यीय केन्द्रीय सदस्य चुन्नेभन्दा बढी के भयो ? पार्टी र देशको जनमत नै उथलपुथल हुने गरी अध्यक्ष ओलीले कदम चाले पनि ओलीकै एकल व्याख्यामा एमाले हिँड्ने अवस्था छ ।

विचारमाथिको बहस त्याज्य नभए पनि नेपाली कांग्रेसको महाधिवेशनले दिने परिणामबारे पनि अनुमान गर्न कठिन छैन । भलै त्यहाँ एमालेमा जस्तो सभापति देउवाले आशीर्वाद दिँदैमा सदस्य र पदाधिकारीको चुनावी विजय सुनिश्चित छैन ।

समग्रमा राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरण प्रक्रिया प्रारम्भ भएको सन्देश प्रवाह गरेको छ । नेपालको परिवर्तनमा महत्वपूर्ण योगदान गरेको एउटा पुस्ताले अब सूचना, प्रविधिमा आएको अभूतपूर्व परिवर्तन, उमेरकै कारण नेपाली राजनीतिलाई थप समृद्धि बनाउन धेरै योगदान गर्न सक्ने अवस्था छैन । त्यसैले कसैले मानोस् या नमानोस् आजको राजनीतिक धरातल, अहिलेको आवश्यकता पार्टीमा नेतृत्व परिवर्तन नै हो र त्यो काम राप्रपाबाट शुरु भएको छ ।

तर, चुनावी परिणाम घोषणा भएपछि थापाको अभिव्यक्ति र छटपटाहट हेर्दा लाग्छ त्यो पुस्ता अझै पार्टी सत्ता र राजकीय सत्ताको लोभबाट मुक्त हुन सकेको छैन । लिङ्देनको उदयजस्तै हरेक पार्टीमा नयाँ पुस्ताको हस्तक्षेपकारी भूमिका प्रतीक्षाको विषय र आजको आवश्यकता त हो नै, सँगसँगै थापा प्रवृत्ति पनि नेपाली राजनीतिको तीतो यथार्थ हो । यो पुस्ताको राजनीतिक संस्कारले पार्टीमा आफू फेरिँदा अर्कोलाई स्विकार्न सक्दैन र जिम्मेवारी हस्तान्तरण सभामा जानेसम्मको हिम्मत गर्दैन । राज्यसत्ताबाट आफू बाहिरिँदा अर्को व्यक्तिलाई सहजै हस्तान्तरण गर्ने र शपथग्रहणमा जानेसम्मको संस्कार देखाउन सक्दैन ।

लिङ्देनको उदयपछि सशंकित हुनुपर्ने पक्ष

अहिले ०६२–६३ को परिवर्तनलाई उल्ट्याउने, राजतन्त्र फर्काउने, हिन्दू राष्ट्र बनाउने, संघीयतालाई नाकाम बनाउने नाममा घोषित र अघोषित रूपमा केही शक्ति लागिरहेकै छन् । गणतन्त्रवादी राजनीतिक शक्तिका आन्तरिक गतिविधि र सत्ताको छिनाझपटीले दक्षिणपन्थी प्रवृत्ति सल्बलाइरहेकै छन् । यो अवस्थामा राप्रपामा पुस्ता नयाँ भए पनि सोचको हिसाबले झन् दक्षिणपन्थी विचारलाई संगठित गर्दै राजतन्त्र फर्काउने नारासहित लिङ्देनको उदय भएको छ । अध्यक्षमा पराजित कमल थापाले सामाजिक सञ्जालमा व्यक्त गरिरहेका विचारलाई आधार मान्ने हो भने लिङ्देनको आवरणमा ज्ञानेन्द्र शाहको विजय छ ।

महाधिवेशन अगाडिका बहसलाई हेर्दा राप्रपामा देश बनाउने र जनताको परिवर्तित चाहनालाई सम्बोधन गर्ने कोणबाट कुनै चर्चा भएको देखिँदैन । उल्टै त्यहाँ को बढी राजावादी देखिने, को बढी पश्चगामी बन्ने, परिवर्तनका मूलभूत एजेण्डालाई उल्ट्याउँदै राजसंस्थालाई जगाउन राप्रपाको आन्दोलनमा सबैलाई जोड्न कसले बढी आश्वस्त पार्ने भन्ने होडबाजी चलेको थियो । सबै बहस हेर्दा थापाभन्दा लिङ्देन समूहले बढी राजावादी देखिने भरमग्दुर प्रयास ग¥यो । यही आधारमा लिङ्देनको उदय भएको छ । लिङ्देनले बारम्बार अब राप्रपा र राप्रपाबाहिर रहेको हिन्दू धर्म एवं राजसंस्था पक्षधरलाई जोडेर आन्दोलनसहित हस्तक्षेपका गतिविधि गर्नेमा जोड दिइरहेका छन् ।

यसर्थ नेपाली राजनीतिमा पुस्ता हस्तान्तरणको हिसाबले लिङ्देनको उदय खुशीको पक्ष हो । तर, उनको अभिव्यक्ति निराशाजनक छ । लाखौंको रगत–पसिनाबाट ल्याइएको अहिलेको व्यवस्था उल्ट्याउनका लागि पूर्वराजादेखि त्यसका अनुयायीलाई संगठित गरी आन्दोलन गर्छु भन्ने उनको सोच नेपालका लागि दुर्भाग्यपूर्ण छ । उनले अहिलेको परिवर्तनलाई मन नपराएका देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिसँग अघोषित र अघोषित रूपमा साँठगाँठ गरी अगाडि बढ्ने पर्याप्त ठाउँ छ ।

यदि, उनले यसो गरेमा नेपाल फेरि प्रयोगशाला हुनेछ । राजनीतिक अकर्मण्यता शुरु हुनेछ । नेपाललाई असफल राष्ट्र बनाउन चाहनेहरूको जित हुनेछ । राजा आऊ देश बचाऊ भन्ने नाममा अस्थिरता निम्त्याउनका लागि अप्राकृतिक शक्ति सञ्चय र संघर्षमा लागेमा लिङ्देन आउनु र कमल थापा जानुमा कुनै उल्लास हुने छैन । यस विषयमा राप्रपामा रहेका राष्ट्रवादी व्यक्तिदेखि अरू सबै सचेत बन्न जरुरी छ । राजतन्त्र ब्युँताउने भन्दा पनि अहिलेको परिवर्तनपछि मौलाएको गलत प्रवृत्तिलाई सुधार्दै राष्ट्र निर्माणको अभियानमा राप्रपालाई डो¥याउन सकेमा मात्रै लिङ्देनको उदय अर्थपूर्ण हुनेछ ।

टिप्पणीहरू