हेरौँ न कसले जित्छ, कसले बनाउँछ सरकार
स्थानीय तहको चुनाव आउन अझै केही महिना बाँकी छ । संविधानअनुसार कार्यकाल सक्किएको ६ महिनाभित्र चुनाव गराउनु पर्ने हुन्छ । त्यसैले ढिलोमा वैशाखसम्ममा स्थानीय तहको चुनाव गर्नै पर्ने बाध्यात्मक अवस्था छ । तर, दलहरुलाई भने चुनावी रन्को लागिसकेको छ । प्रमुख पार्टीहरु महाधिवेशनका नाममा चुनावी तयारीमा जुटिसकेका छन् ।
अर्कोतिर अर्ली इलेक्सनको चर्चा पनि छ । खासगरी प्रमुख प्रतिपक्षी एमाले अर्ली इलेक्सनको पक्षमा उभिएको छ । प्रमुख सत्तारुढ नेपाली कांग्रेसका कतिपय नेताहरुका अभिव्यक्तिले पनि चुनावमा जाने हत्तारो देखिन्छ । जे होस्, नियमित चुनाव पनि अबको एक वर्षमा गर्नुपर्ने हुन्छ । त्यसअघि माघमा राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ । त्यसकारण माघदेखि नै चुनावी रन्को शुरु हुँदैछ ।
भित्रभित्रै चुनावी तयारीमा जुटेका दलहरु एकल बहुमत ल्याउने दाबी गरिरहेका छन् । संसद्को सबैभन्दा ठूलो दल एमाले पुरानै वर्चस्व फर्काउने दाबीका साथ भर्खरै महाधिवेशनबाट निस्किएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि एक दुई साताको अन्तरमा महाधिवेशन गर्दैछन् । उनीहरुले पनि महाधिवेशनलाई चुनावी तयारीका रुपमा लिएका छन् ।
चुनावमा पाँच दलीय गठवन्धन एकातिर र एमाले, राप्रपालगायतका दल अर्कोतिर हुने चर्चा पनि छ । यद्यपि एमाले र कांग्रेसले एक्लाएक्लै भिडेर बहुमत ल्याउने दाबी गरिरहेका छन् । दलहरुका दाबी जे–जे भए पनि अहिलेको निर्वाचन प्रणालीले कुनै पनि पार्टीले एकल बहुमत ल्याउने सम्भावना भने न्यून प्रायः छ ।
गत ०७४ सालको निर्वाचनमा दलहरुले पाएको समानुपातिक मत विश्लेषण गर्दा एउटा दलले बहुमत ल्याउने सम्भावना लगभग छैन । दलहरुबीच गठबन्धन हुँदा पनि एउटै चुनाव चिह्नबाट लडे मात्र बहुमत आउने सम्भावना देखिन्छ । अघिल्लो चुनावको मत परिणामले पनि दलहरु एक्लाएक्लै अथवा आ–आफ्नै चुनाव चिह्न लिएर गठवन्धन गर्दा पनि बहुमत आउने देखिंदैन ।
जस्तो गत निर्वाचनमा एमालेले ३३ प्रतिशत, कांग्रेसको ३२ प्रतिशत र माओवादी केन्द्रले १५ प्रतिशत हाराहारीमा समानुपातिक मत पाएका थिए । एमाले विभाजन भएकाले उसको मत घट्ने निश्चित छ । यदि एकीकृत समाजवादीले ७ लाख भोट काट्ने अनुमान लगाउने हो भने पनि एमालेको २५ प्रतिशत मत कायम हुने देखिन्छ । बाँकी ७५ प्रतिशत एकै ठाउँमा खस्दा बल्ल बहुमत पुग्छ । तर, ७५ प्रतिशत मत सबै सर्लक्कै एउटै दललाई जाँदैन । पाँच दलीय गठवन्धनले एउतै चुनाव चिह्न लिएको अवस्थामा बढीमा ६५ प्रतिशत मत जान सक्छ ।
७४ सालको चुनावमा प्रत्यक्षतर्फ बहुमत सिट जितेका एमाले र माओवादी एउटै चुनाव चिह्न लिएर लडेको भए उनीहरुले समानुपातिकतर्फ पनि ५१ देखि ५३ प्रतिशत मत ल्याउँथे । त्यो भनेको बहुमत हो । तर, दुवै दल आ–आफ्नै चुनाव चिन्हमा लडेका कारण त्यतिबेला समानुपातिकतर्फ पहिलो भएर पनि एमालेले बहुमत ल्याउन सकेन ।
त्यसो त, गठबन्धन गरेर दलहरुले एउटै चिह्नमा चुनाव लड्न पाउने ऐनमा पनि व्यवस्था छ । यदि अहिलेको पाँच दलीय गठबन्धनले एउटा नयाँ चिह्न लिएर चुनाव लड्न चाहने हो भने ऐनको व्यवस्था बाधक हुँदैन । तर, त्यसरी चुनाव लडेको अवस्थामा समानुपातिकतर्फको मत एकै ठाउँमा जान्छ ।
मानौँ अहिले नै चुनाव भयो र सबै दल एकल प्रतिष्पर्धामा गए भने कांग्रेस सबैभन्दा ठूलो दल बन्न सक्छ । गत निर्वाचनमा दलहरुले पाएको मत र हार–जितको मतान्तर विश्लेषण गर्दा प्रत्यक्षतर्फ काङ्ग्रेस पहिलो पार्टी बन्ने सम्भावना छ । कूल १६५ मा ८५ सीट काँग्रेसको पोल्टामा जाने देखिन्छ । तर, समानुपातिकतर्फको परिणामले उसलाई बहुमत पुग्दैन । कूल २७५ को बहुमत १३८ हुन्छ ।
कांग्रेसलाई एकल सरकार बनाउन समानुपातिकमा ५३ सित जित्नुपर्ने हुन्छ । त्यो भनेको ४८ प्रतिशत मत हो । अघिल्लो चुनावमा ३२ प्रतिशत मत ल्याएको कांग्रेसले बढीमा ३५ पु¥याउन सक्ला तर ४८ पुर्याउन असम्भव जस्तै छ ।
एमाले र अन्य दलको हकमा पनि यहि हो । गठवन्धन गरेर एउटै चुनाव चिह्नबाट प्रतिष्पर्धा गरेको अवस्थामा बाहेक प्रत्यक्षमा दुई तिहाई जिते पनि कुनै पनि दलले एकल बहुमतको सरकार बनाउन सक्ने देखिँदैन ।
टिप्पणीहरू