उपमहासचिव गुरुङ्ग किन भाउन्न ?
एमाले केन्द्रीय समितिको दोस्रो बैठकमा हिजो पनि नेताहरुले खासै बोलेको सुनिएन । चेहराको भावले चित्त नबुझेको देखाए पनि अधिकांश सहभागी तैं चुप मै चुपको अवस्थामा बसेको पाइयो ।
तर, केन्द्रीय समिति,पोलिटब्युरो, स्थायी समिति,प्रदेश पदाधिकारी र इञ्चार्जको सूची वाचनसम्बन्धमा भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले निकै तार्किक र मार्मिक धारणा राख्नुभएको एकथरी सदस्यहरुले बताएका छन् । उनीहरुले गुरुङले नेतृत्वलाई सजग गराउँदै पूर्ण विवेकशील कोही पनि नहुने तर विभिन्न कमिटीमा गरिएको मनोनयनको निर्णयलाई हेर्दा विवेक छाडेर गरिएको टिप्पणी राख्नुभएको हो ।
गुरुङको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक जना सदस्यले भने, ‘यो पाराले हामी कसरी लिडरसीपको विकास गर्छौँ ? यहि नै अहिलेको मुख्य समस्या हो । एउटा मापदण्ड बनाएनौँ भने हुने यस्तै हो । प्रणाली कस्तो बनाउने भन्ने विषयमा हामीले कहिल्यै छलफल गरेनौँ ।’
पार्टीभित्र व्यक्तिगत निर्णय हाबी भएको उदाहरण दिँदै गुरुङले पुराना र त्यागी नेताहरुलाई छुटाइएकोमा असन्तुष्टी पोख्नुभएको थियो । उहाँले नेतृत्वलाई सम्झाउँदै दुई तीन कार्यकाल काम गरेका साथीहरूलाई छुटाइएकोतर्फ ध्यान दिन आग्रह गर्नुभएको हो ।
पोलिटब्युरोमा मनोनीतको नाम सुनेपछि उहाँले स्थायी कमिटीमा पनि यही रोग दोहोरिने सम्भावना रहेको बताउनुभएको थियो । नभन्दै धेरै जना पुराना र अनुभवी नेताहरुलाई छुटाइएको पाइयो । त्यसैले उहाँले व्यक्तिगत रुपमा निर्णय लिने कुरा नै गलत छ, सामूहिक निर्णय गर्नेतर्फ जाऔं भनेर विशेषगरी अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिनुभएको थियो । तर, सबै मनोनीतका नाम सुनेपछि गुरुङका ती भावना र धारणालाई कार्यान्वयन गर्नु धेरै टाढा,नेतृत्वले एउटा कानले सुनेर अर्को कानले उडाइदिएको गुनासो छ ।
टिप्पणीहरू