जेठो पार्टीको जेठै पारा

जेठो पार्टीको जेठै पारा

नेपाली कांग्रेस मुलुककै जेठो राजनीतिक पार्टी । जेठो पार्टी भएकाले उसको इतिहास पनि लामै छ । इतिहास मात्र हो र, कांग्रेसको सांगठानिक जीवन र उसका कार्यशैली झन पुराना छन् ।

आफूलाई लोकतान्त्रिक आन्दोलनको अगुवा दाबी गर्ने काँग्रेसको महाधिवेशन शुक्रबारदेखि भृकुटीमण्डपमा जारी छ । आज चौथो दिन नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । अहिले प्रतिनिधिहरुले लाइन लागेर धमाधम मतदान गरिरहेका छन् ।

तर,कांग्रेसको पुरानो शैलीका कारण महाधिवेशनका मतदाता (प्रतिनिधि) हरुले नराम्रो सास्ती व्यहोर्नु परेको छ । एकातिर कोरोनाको जोखिम,अर्कोतिर एक झोला मतपत्र बोकेर दिनभर लाइन बस्नुपर्ने बाध्यता । एक प्रतिनिधि भन्छन्,’घाममा दिनभर लाइनमा परियो । कतिबेला पालो आउने हो खै !’

कांग्रेसमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ४७ सय २३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । केन्द्रीय समितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि ४८० जना भन्दा धेरै उम्मेदवार छन् । जसका लागि २७ वटा मतपत्र बनाइएको छ ।

उम्मेदवार धेरै भएकाले मतदानका लागि एउटै प्रतिनिधिलाई एक घन्टासम्म समय लाग्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार दिउँसो २ बजेसम्म जम्मा ६ सय मत खसेको छ । आधा दिनसम्म १० प्रतिशतभन्दा कम मत खसेकाले मतदान प्रक्रिया लम्बिने देखिएको छ ।

कांग्रेसले पानी ट्यांकीलाई मतपेटिका बनाएर अर्को बिजोग देखाएको छ । मतपत्र धेरै र ठूलो भएकाले पानी ट्यांकी प्रयोग गर्नु परेको निर्वाचन समितिको भनाइ छ ।

काँग्रेसकै समकालीन अन्य पार्टीहरुले भने समयअनुसार आफ्ना कार्यशैलीलाई अपडेट गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको लिगेसीबाट आएका नेकपा एमालेलगायतका अन्य कम्युनिष्ट पार्टीहरुको पनि राजनीतिक इतिहास लामो छ । एमालेको हालै सम्पन्न महाधिवेशनमा नेतृत्व चयनका लागि बिध्युतीय भोटिङ मेसिन प्रयोग भएको थियो । चार घन्टामा मतदान सकेर दुई घण्टामा परिणाम आएको थियो।

अहिले काँग्रेसले गरेकै ठाउँमा महाधिवेशन गरेको पूर्वपन्चहरुको पार्टी राप्रपाले पनि अध्यक्षबाहेकका पदमा बिध्युतीय भोटिङ मेसिन प्रयोग गरेको हो ।

टिप्पणीहरू