बिनोद चौधरीको होटलबाट २ भारतीय र १ नेपाली पक्राउ
प्रतिबन्धित पिरामिड संरचनाको क्युनेट नेटवर्किङ व्यवसाय सञ्चालन गरेको अभियोगमा दुई जना भारतीय र एक जना नेपाली पक्राउ परेका छन् । गैरकानुुनी रुपमा सदस्य बनाई २७ लाख ५० हजार ठगेको सुराकीको आधारमा उनीहरुलाई चितवनको एउटा होटलबाट पक्राउ गरिएको हो ।
भरतपुर महानगरपालिका २६ बस्ने ३६ वर्षका सरोज घिमिरे र दुई जना भारतीय नागरिक स्थानीय सीजी ल्याण्डमार्क होटलमा नेटवर्किङ्ग सेमिनार गरिरहेको अवस्थामा प्रहरी फन्दामा परेका हुन् । अघिल्लो साता भरतपुरस्थित उक्त होटलको छैठौँ तलामा रहेको मिटिङ हलमा भारत राजस्थानका २८ वर्षीय जितेश वर्मा, भारत हरियाणाका ३४ वर्षे अंकित शर्मा र चितवनका घिमिरेले एक दर्जन मानिस भेला पारेर नेटवर्किङ व्यवसायको नेटवर्क तयार पारेको प्रहरीको दाबी छ ।
उनीहरुले स्थानीयलाई नेटवर्किङ व्यवसायको फाइदा देखाउँदै आफ्नो खातामा रकम जम्मा गर्न आग्रह गरेका थिए । सोही आधारमा प्रहरीले घिमिरेको बैंक खाताबाट २७ लाख ५० हजार रुपैयाँ समेत बरामद गरेको छ । पीडित विकास घिमिरेले आफू, श्रीमती र छोराको तर्फबाट उक्त रकम जम्मा गरेको बताएका थिए ।
प्रहरीले नेटवर्किङ सदस्यता बनाउन प्रयोग गरिएको ल्यापटप एक थान, निजहरूले प्रयोग गरेको मोबाइल चार थानसमेत नियन्त्रणमा लिएको छ । उनीहरु तीनै जनालाई ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी चितवन अदालतबाट म्याद थपेर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले बताउनुभएको छ ।
टिप्पणीहरू