​कसले डुबायो, कसले कसलाई रुवायो ?

जसरी गायिका सत्यकला राईले श्रीमान्लाई विदेशमै थान्को लगाएर नवल खड्काको साथ रोजिन्, उस्तै काण्ड मच्चिएको छ सांगीतिक र सिने नगरीमा । सरस्वती लामा भुजेलले श्रीमान्लाई तन्नम बनाएर दोस्रो पतिको साथ खोजेकी छन् । 

०६४ सालमा काभ्रेपलाञ्चोक मादनकुडारीका धनबहादुर लामा (डिबी)ले सस्वतीसँग प्रेम विवाह गरेका थिए । र, उनकै इच्छामुताविक डिबी उडे खाडी मुलुक युएईतिर ०७१ सालमा । बाह्रै महिना पसिना बगाएर पैसा घर पठाइरहे । श्रीमान्कै पसिनाबाट सरस्वती १५० सिसीको स्कुटर चढ्ने भइन् । १ लाख १० हजार मूल्य बराबरको आइफोन बोक्न थालिन् । २ लाख ८० हजार बराबरको ब्रासलेट लगाएर हिँड्थिन् । सरस्वतीकै इच्छामुताविक सुनको चुरा, सुनकै औंठी, सिक्री र रिङ मात्र बनाइदिएनन्, पटक–पटक गरी ग्लोबल आइएमई बैंकबाट ३४ लाख ५२ हजार ५ सय ८६, महालक्ष्मी विकास बैंक दरबारमार्ग शाखामा ११ लाख ९८ हजार ५ सय ११, इन्भेष्टमेन्ट बैंकमार्फत ३ लाख ९० हजार, एभरेष्ट बंैकमार्फत ३ लाख र बैंक अफ काठमाडौंमार्फत ४ लाख ५० हजार पठाएपछि उनी छाँगाबाट खसे । श्रीमती अरुसँगै गइछन् ।

योे खबर पाएपछि डिबी हतारिँदै आए । कोठामा रहेको १५ लाखभन्दा बढी सम्पत्ति, गर गहना र नगद रकमसहित श्रीमती फरार भएको चाल पाएपछि बौद्ध प्रहरीमा पुगे– श्रीमती एक करोड ६ लाखभन्दा बढीको सम्पत्तिसहित हराइन्, खोजिदिनु भन्ने निवेदन बोकेर । उनकै उजुरीका आधारमा प्रहरीले चलचित्र निर्माता पिटर खालिङलाई गिरफ्तार ग¥यो भने गायिका लामालाई सोधपुछपछि छाडिदियो । डिएसपी नरेन्द्र चन्दका अनुसार सम्बन्धविच्छेद र ठगीसम्बन्धी केश भएकाले अदालत जान सुझाउँँदै उनीहरूलाई फर्काइएको छ । 

डिबी विदेशमा पसिना बगाइरहँदा यता सरस्वती चलचित्र निर्माता पिटरसँँग बस्दै आएकी थिइन् । दुई छोरीको पिता पिटरले श्रीमतीलाई डिभोर्स गरेर सरस्वती लामासँग घरजम गरेको रहस्य खुलेको छ । यता, जारले श्रीमतीसहित सम्पत्ति उडाइदिएपछि ठगी र बहुविवाहको मुद्दा दर्ता गर्ने तयारीमा रहेको डिबीले बताएका छन् । पिटर र सरस्वती खालिङ सिष्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘द डार्क एण्ड लाइट’ चलचित्रबाट नजिकिएका हुन् । 

उनै पिटरले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोग्नेमान्छे भएर रुनु हुन्न रे तर समयले नरुवाएको पल छैन । स्वार्थी र लालची संसारमा संघर्ष त गर्नैपर्ने ।’ प्रश्न उठ्छ यहाँ रुनुपर्ने स्थितिमा पिटर पुगेका हुन् कि सरस्वतीको पहिलो श्रीमान् डिबी ? 
 

टिप्पणीहरू