नक्कली मायाले सिध्याउला जिन्दगी
उसै भनिएको होइन रहेछ, अविवाहितहरू प्रेमको प्रभावले र विवाहितहरू प्रेमको अभावले सिद्धिन्छन् । हो, म पनि सिद्धिएँ, बर्बाद भएँ प्रेमकै कारणले । अहिले भोग्दै छु, बर्वादी । स्कूले जीवन, कुर्कुरे वैँश । त्यही १६ वर्षे किशोरवय, अल्लारे उमेरमा मन साँटियो झापाका विक्रम पौडेलसँग । दुई वर्ष लामो प्रेम सम्बन्धपछि मन्दिरमा मूर्तिलाई साक्षी राखेर रंगाइदिए सिउँदो । सोचिएको थियो अब बहार हुनेछ जिन्दगीमा बसन्तको । तर त्यही एक धर्काे सिन्दूरका कारण जिन्दगी पतझड जंगलझैं हुन पुग्यो– उजाड, निरश ।
मनमा सपना थियो, कलाकारिताको । तर, जीवन सोचेको यथार्थ कम र नसोचेको धेरै रहेछ सायद । जीवनमा कल्पना नगरेका कतिपय घटना वास्तविकता भइदिन्छ । विवाह अगाडि सौम्य र शान्त देखिने श्रीमान्को असली चेहरा विवाहपछि देखा पर्दै थियो । कुरूप र राक्षसी अनुहार भोग्दै गएँ । विवाहको दुई वर्षसम्म पनि गाउँ वा घर लैजाने इच्छा देखाएनन् । सोच्थेँ, कार्यव्यस्तताले होला ! विवाह हुँदा कक्षा १० मा पढ्दै थिएँ । पटक–पटक जिद्धि गरेँ । वर्ष दिनपछि घर लगे तर त्यहाँ सासूआमाबाट कहिल्यै बुहारीको जस्तो व्यवहार भएन । नोकर्नीलाईझैं दुर्व्यवहार गर्नुभएपछि कुँडियो मन । सासूआमा र घर परिवारबाट तिरस्कृत थिएँ । श्रीमान्लाई मबाट छुटाउनकै लागि दिल्लीतिर पठाइयो । जसलाई आफ्नो हृदय, तन, मन दिएर जीवन दिएको थिएँ, ऊ नै साथमा नभएपछि त्यो घर बिरानो हुने नै भयो । छोरी चेलीको जातले अर्काेको घर गरेर खानुपर्छ भन्ने त लाग्थ्यो तैपनि रातदिनको टोकसो सहन नसकेपछि पुगें माइतीकै शरणमा । पेटमा बच्चा । माइतीमै जन्मियो । त्यहीँ न्वारान भयो । खै, कहाँबाट थाहा पाएर हो, छोराको न्वारानमा आइपुगे ससुरालीमै । एक महिनासम्म रहँदा बुबाआमालाई अनेक तवरले फकाए । पछाडि लागेर काठमाडौं आएँ । कल्पेको थिएँ, अब सुध्रनेछन् श्रीमान् । बालाजुमा एउटा सानो कोठा लिएर बसेका थियौं । तर, ‘मन’ कोसौं टाढा थियो ।
एउटै फ्ल्याटमा तीन कोठा । कामवासना शान्त पार्न चाहन्थे मबाट । उनको इच्छा पूरा नभएपछि एकाबिहानै बाटो लाग्थे ।
शुरुको विक्रम र अहिलेको विक्रममा अकाश जमिनको अन्तर पाउँथें । उनलाई हात र मुख छोड्नका लागि कुनै कारण चाहिँदैनथ्यो । ०७७ साल भदौताका खानामा पीरो मसला बढी भएको निहुँमा चुलेसीले प्रहार गर्दा पाखुरामा चोट लाग्यो । कहिलेकाहीँ सोच्थेँ, यी विवाह अगाडिका तिनै पुरुष हुन् ? कसरी सहन सकिन्छ यस्तो अत्याचार ? जसलाई जीवन दिएको छु उही मेरो जीवन लिन उद्यत छ । उनले प्रहार गरेको चुलेसीले लागेर पाखुराबाट तर्तरी रगत चुहियो । एकातिर काखे बच्चा च्यापेर प्रहरी चौकीमा पुगें । त्यो रात त्यही चौकीमा बसेँ । ऊसँग जीवन गुजार्न सक्ने अवस्था थिएन । साथमा पैसा थिएन । साथीसंगी तथा चिने जानेका आफन्तहरूसँग हारगुहार मागेर उठाएँ र माइती गएँ । तर, म जहाँ गए पनि छाँयाझैँ मलाई पच्छाइरहे । हिजोको त्यो पीडा त बिर्सन सकिएला तर कहिल्यै नमिटेने गरी लागेको पाखुराको दाग आज पनि प्रमाण छँदै छ ।
दुई महिनापछि फेरि माइतीमै पुगे । बुबा आमासँग हार गुहार गरे । अब सुन्ध्रन्छु, छोरीलाई सुख दिएर राख्छु भन्दै फकाए र काठमाडौं लिएर आए । तर, बुबाआमाको अगाडि खाएको कसम काठमाडौं फर्कंदा भुलिसकेको । कहिले कता जाने, कहिले कता । साथमा सानो बच्चा, खाने राशन हुँदैनथ्यो । हप्तौंसम्म हराउने । यही बीचमा कोठा छाडेर हिँडे । कहाँ गए केही थाहा थिएन । मनखुशी चल्थ्यो । जे मन लाग्यो त्यही गर्ने । रिस उठेपछि अगाडि जे भेट्यो त्यसैले प्रहार गर्ने । उनका प्रहारबाट कति पटक घाइते भएँ, हिसाब छैन । अति गर्नु, अत्याचार नगर्नु भन्छन्, सहन नसकेपछि प्रहरीमा निवेदन दिएँ । मैले दिएको निवेदनकै आधारमा तीन दिन बालाजुमा थुनेर छोडियो तर नानीदेखि लागेको बानी सिस्नुपानी लगाएर कहाँ जाने रहेछ र ? मनमौजी ढंगले चल्ने, जे मन लाग्यो त्यही गर्ने भएपछि लोग्ने छ भन्न पनि छाडिदिएको थिएँ, मनमा ऊप्रति कत्ति पनि प्रेम, सद्भाव र आदर बाँकी थिएन ।
अलि धेरै इख थियो केही गरेरै देखाउने र सानैदेखिको सोख थियो कलाकारिता क्षेत्रमा केही गरेर देखाउने । भगवानले भन्छन् रे, तँ आँट् म पुर्याउँछु । त्यही इख र सोखको जोडस्वरूप कलाकारितामा जोडिएँ । सानो पर्दा, केही विज्ञापनमा अभिनय गरेँ । आजसम्म काठमाडौं खाल्डोमा टिकेको छु, छोरालाई पढाएको छु त्यही कलाकारिताको आडमा । जीवन आफ्नै रीतमा छन्दबन्द नदीझैं बग्दैथ्यो । छुटेको वर्ष दिनपछि फेरि भेट भयो । भने– हेर दुई दिनको जिन्दगी तिमी एक्लै, म पनि एक्लै बसेर कसैलाई केही फाइदा छैन । एकै ठाउँमा बसौं । हिजो जे भयो–भयो, त्यसलाई बिर्सिएर नयाँ र तरोताजा सम्बन्ध स्थापना गरौं । म अब सुध्रिन्छु । विपस्यनामा बसेर आएको हुँ भने । म पग्लिएँ उनको कुराले । खासमा छोराको जन्मदर्ता नभएका कारण समस्या भइरहेको थियो । त्यही कारण लचिलो हुँदै गएँ तर उनको प्रेम मप्रति थिएन । मेरो शरीरप्रति थियो । एउटै फ्ल्याटमा तीन कोठा । कामवासना शान्त पार्न चाहन्थे मबाट । उनको इच्छा पूरा नभएपछि एकाबिहानै बाटो लाग्थे । सम्बन्ध जोड्न पो गाह्रो, तोड्न एकै निमेष काफी हुँदो रहेछ । कतिसम्म छुद्र र कतिसम्म धुन्धुकारी हुन सक्छ है मान्छेको जात ? जवानीमा आफ्नो कामवासनाको ‘आगो’ शान्त पार्न प्रेमको नौटंकी गरेर कसरीसम्म फसाउन सक्छन्, एउटी किशोरीलाई निर्दयी लोग्नेमान्छेले !
छोरा एक कक्षामा पढ्दै छ । ऊ विनाबाबुको छोरा त होइन । जन्मदर्ता चाहियो । जन्मदर्ता नहुँदा समस्या भोग्नुपरेको छ पटक–पटक । त्यही जन्मदर्ता गराउनकै लागि भए पनि उनलाई खोज्दै भाैँतारिदै गर्दा पुतलीसडकको एउटा कन्सलटेन्सीमा भेटिए । देख्नेबित्तिकै झस्किए, भने– ‘यहाँ आएर मेरो बेइज्जत नगर ।’ मैले जवाफ फर्काएँ– ‘तपाईंंको के इज्जत छ र, बेइज्जत हुनलाई ? मलाई अरू केही चाहिएन, छोराको जन्मदर्ता बनाइदिनू ।’ तर टेरेनन्, अनेकन बाहनाबाजी गर्न थाले । अहिले मसँग बसाइँ सराइको कागजात छैन भन्दै तर्किए । बनाइदिन्छु भने ।
पटक–पटक विश्वासघात गर्ने उधारो आश्वासनलाई पत्याएर फर्किएँ । दुई सातापछि फेरि त्यही कार्यालयमा गएँ । उस्तै आनाकानी गरेपछि उनको बिलबुक, लाइसेन्स, नागरिकता खोसेर राखेँ । साता दिनपछि काठमाडौं २९ नम्बर वडा कार्यालयमा भेट भयो । बच्चाको जन्मदर्ता गर्न पहिले विवाह दर्ता नभई नहुनेरहेछ तर उनी विवाह दर्ता गर्न नमान्ने । विवाह दर्ता गरेपछि अंश दिनुपर्छ भन्ने भय होला सायद । वडामा गए त्यही लफडा, जहाँ गयो त्यहीं लफडा । जन्मदर्ता गर्न नमान्दा प्रहरी बोलाएँ । केही नरम भयो । विवाह दर्ता र जन्मदर्ता भयो । श्रीमानसँग छुटेँ । एक्लै छु । यो काठमाडौं खाल्डोमा संघर्ष गरेर छोराको लालनपालन गरिरहेछु । जिन्दगी चलिरहेकै छ । छोरोको मुख हेरेर सास अड्याइरहेको छु । छोराका लागि सतिसाल बन्नु छ । टिक्नु छ यही राजधानी खाल्डोमा । नारीको चरित्र र जिन्दगीसँग खेलवाड गर्ने यस्ता यौनपिपासुहरूलाई हेक्का रहोस् नारीको अर्काे रूप उग्रचण्डी पनि हो भन्ने !
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू