मधेशमा जन्मनु मेरो अपराध हो र महोदय ?

मधेशमा जन्मनु मेरो अपराध हो र महोदय ?

के यो मुलुक र यहाँको कानुनमा पुरुष सधैँ दोषी र महिला निर्दाेष नै हुन्छन् ! होइन भने, एउटा केटीको पक्षपोषण गर्न किन यहाँको प्रशासन, प्रहरी हात धोएर लागेको छ । किन मेरो कुरा कोही सुन्दैन ? जसलाई हात दिएँ, उसैले डडुल्लो निल्यो । अन्यायमा परेको म न्यायको खोजीमा भौंतारिएको वर्षौं बित्यो । तर, न्यायको खोजीमा भौंतारिएको यतिका समय व्यतित हुँदासम्म न्यायको आभाष पाउन सकेको छैन । सोध्न मन लाग्छ, राज्य सञ्चालकहरूलाई यहाँको सिंगो प्रहरी र प्रशासन संयन्त्र बिक्री हुन्छन् ? होइन भने, किन पीडितमाथि नै जाइलाग्छ प्रहरी ? 

बुवाको पछि लागेर भित्रिएको हुँ, काठमाडौँ । हातमा अरु केही सीप थिएन, साइकल ब्वाईका रुपमा केही समय साहुको काम गरेँ । काठमाडौं भित्रिएको ३५ वर्ष व्यतित भइसक्यो । शुरुमा बुवाकै काममा सघाएँ । बुवा बित्नुभएपछि साहुकोमा ८ वर्षजति काम गरेपछि साहुलाई छाडेर आफैँले उक्त काम गर्न थालेको छु । साधारण पेशा व्यवसाय गरेर जीवन गुजारिरहेको एक व्यक्ति हुँ । दिनभर श्रम गरेर बेलुका खाने मान्छे । आज मेरो पछाडि किन लागिरहेको छ, प्रहरी प्रशासन ? के तराई मूलको नागरिक हुनु मेरो गल्ती हो ? वा तराईमा जन्मनु मेरो अपराध हो ? आज मलाई किन यसरी फसाइएको छ ? म आफैँ अचम्ममा परेको छु । ०७२ सालदेखि टुथ व्रथ मार्केटिङ गर्न थालेको हुँ । ८ वर्षपछि ०८० सालबाट आफैँले आफ्नो कार्यालय खोलेँ र यो व्यवसायलाई निरन्तरता दिएँ । म बजारमा जाँदा पनि कार्यालय खोलिदिने कोही कार्यालय सहयोगीको खोजीमा थिए । यसअघि कार्गाेमा काम गर्ने सिन्धुपाल्चोक घर भएकी सुनिता नेपाल कार्यालय सहयोगी बन्न आइपुगिन्, साथीहरूकै माध्यमबाट ।

 के मधेशमा जन्मनु काठमाडौंमा केही गरिखान खोज्नु, मेरो अपराध हो ? होइन भने किन एउटा व्यक्तिलाई यसरी जाइलाग्छ राज्य, प्रहरी, प्रशासन ? के मधेशमा जन्मिएर हुर्किएका भुइँ मान्छेको होइन यो काठमाडौं ? 

०८० वैशाख अन्तिममा उनी मेरो पसलमा स्टाफ बनेर आइपुगेकी थिइन् । म दिनभरि बजारमा हुन्थेँ, पसल उनको जिम्मामा लगाइएको हुन्थ्यो तर पसलमा दिउँसो अनेकथरीका केटा आउँथे । मलाई कामको बाहेक अरुको प्रवाह हुँदैनथ्यो । आफ्नो स्टाफ बिना जानकारी हराउँदा चिन्ता हुनु स्वाभाविकै हुन्छ, उनी बीच–बीचमा हप्तौँसम्म हराइन् । उनलाई काममा जोडिदिने साथीसँग जिज्ञासा राखेँ, थाहा छैन भने । उनले सुनिताको दाजुको नम्बर दिए । उनलाई भेटेर बहिनीको बारेमा जिज्ञासा राखेँ । जवाफ फर्काए ‘थाहा छैन ।’ ‘०६३ सालमा पिता बितेपछि उनैले काठमाडौं ल्याएर पढाए, बढाएका रहेछन् । त्यही पनि बहिनी आफ्नो अण्डरमा नरहेको भन्दै दुखेसो पोखे । भने, उसको क्यारेक्टर ठीक छैन, सचेत भएर बस । नत्र तिमी पनि फस्न सक्छौ ।’ 

मलाई अचम्म लागेको थियो, त्यो समयमा एउटै आमाको लाम्टो चुसेर हुर्किएको दाजुले आफ्नै बहिनीको बारेमा यस्तो कसरी बोल्न सकेको होला ? आज उनको दाजुले जे भनेका थिए । त्यही सही निस्कियो । सोझा सिधा मान्छेहरूलाई लुट्ने समूह नै रहेछ उनको, त्यही समूहको एउटा सदस्य हुन् उनी भन्ने लाग्छ, मलाई ।

दुई साता हराएर काममा आएकी उनी फेरि साउन अन्तिम साता उसैगरी हराइन्, न कुनै पूर्व जानकारी, न कुनै सूचना ! अनि शुरु भयो मानसिक तनाव । राम्रोसँग सम्झाएँ, बहिनी यसरी काम गर्न सकिन्न, तिम्रो हिसाब–किताब लैजाऊ । यो भन्नु नै मेरो गल्ती भएछ क्यारे ! अनेकन नम्बरबाट फोन गर्ने र धम्क्याउने क्रम पो शुरु भयो । यसै क्रममा एक दिन धुम्बाराही जान निस्किएको थिएँ, बागबजारमा बोलाइयो । काममा राखेको मान्छेले जता–जता बोलायो, उतै हिँड्न सम्भव त हुन्नथियो यद्यपि यो लफडा टुंग्याऊ भनेर बोलाइएको ठाउँमा पुगेँ ।

बानेश्वरको भित्री गल्लीमा चार/पाँच जना चुल्ठेमुन्द्रे रहेछन् । तिनले मेरो कठालो समाए । मोबाइल लुटे, गोजीमा २३ हजार नगद थियो त्यो पनि लुटेर लगे । त्यसरी लुटपाटमा संलग्नमध्ये एक स्वास्थ्यकर्मी पनि रहेछन् । नाम प्रकाश, नाताले सुनिताले मामाको छोरा भन्थिन् । यसअघि पनि पसलमा आइरहन्थ्यो, त्यो केटो । स्वास्थ्य चौकीमा काम गर्छु भन्थ्यो । त्यो केटोको बारेमा उसको दाजुलाई सोध्दा आफ्नो प्रकाश भन्ने कुनै आफन्त नै नभएको जवाफ दिएका थिए । त्यसपछि पनि उनले मेरो तलब कहिले दिने भन्दै विभिन्न नम्बरबाट फोन गर्न छाडिनन् । उनलाई दिनुपर्ने तलब महिना दिनको पनि थिएन । तीन महिनाको तलब बाँकी छ भन्न थालिन् । मैले आग्रह गरेँ, बहिनी अफिसमा आउनुहोस्, तपाईको श्रमको एक रुपैयाँ पनि मलाई चाहिँदैन । मलाई यसरी मानसिक यातना दिने काम बन्द गर, बरु एक महिनाको होइन ६ महिनाकै तलब लैजाऊ भनेँ । यति भन्दाभन्दै पनि उल्टै मै विरुद्ध प्रहरीमा उजुर बाजुर गरियो । प्रहरीमा लगेर एउटा कागजात गरियो । उनीहरूले जहाँ जसरी भने त्यसैगरी हस्ताक्षर गरिदिएँ । त्यसपछि पुरानो नम्बरबाट धम्की आउन छाड्यो, नयाँ–नयाँ नम्बरबाट धम्की आउन थाल्यो । फोनको शुरुमा आमाचकारी गाली गर्छन् । 

अचाक्ली नै भएपछि हेलो सरकारमा गुनासो गरेँ । नेपाल प्रहरीको मुख्यालय, काठमाडौंको प्रमुख जिल्ला अधिकारीलाई भेटेँ । निवेदन दिएँ । न्यायको खोजीमा म कहाँ–कहाँ मात्र पुगिनँ । कहाँ मात्र पुग्न बाँकी छ र अब ? तर, कहीँबाट न्याय पाउन सकेको छैन ।

पहिला धुम्बाराहीमा बस्दा एक जना प्रहरीका तल्ला दर्जाका कर्मचारीसँग चिनजान थियो । उनलाई दुःख बेसाएँ । उनले मनोज नाम गरेका एउटा प्रहरी कर्मचारीलाई जोडाइदिए । दुई महिनाको अन्तरालमा उनले ऋण सापटी भन्दै २४ हजार लिए । काम होला, भन्ने आशामा सापटी दिएँ तर तीन महिनासम्म केही तार लागेन । धम्की आउने सिलसिला रोकिएन । म दिनभर काम गरेर त्यही आर्जित पैसाले बेलुका एक छाक खाना खाने मान्छे । २४ हजार ठूलो पैसा थियो । माया मार्न सकिनँ ।

सर, पैसा कहिले फिर्ता गर्नुहुन्छ भनेर सोधेको साँझ बिनाकसुर उठाएर प्रहरीले लिएर गयो र २४ दिनसम्म विना कसुर हिरासतमा राख्यो ? मेरो कसुर के थियो ? के प्रहरीसँग पैसा फिर्ता माग्नु मेरो गल्ती थियो ? २४ दिनपछि ३ हजार धरौटीमा छाडियो । यो ज्यादतीविरुद्ध प्रमुख जिल्ला अधिकारी, हेलो सरकार, प्रहरी मुख्यालयसम्म जानकारी गराए तर हामीजस्ता भुइँमान्छेको आवाज कसैले सुनेन । सबैतिरबाट उधारो आश्वासन मात्र पाइयो । पछि प्रहरीले त यतिसम्म भन्यो कि तँ चुप लागेर बस होइन भने तलाईं रेप केस वा चरेस केसमा लागेर फसाइदिन्छु । कहीँ–कतैबाट पार नलागेपछि मानव अधिकार आयोग पुगेँ । नाम चलेका मानव अधिकारकर्मीहरूलाई भेटेँ । सहयोग माग गरेँ । तर कतैबाट केही सुनुवाइ भएन । 

पछिल्लो समय गौरीघाट बस्दै आएको छु । यही बीचमा एक साँझ यहीको तन्दुरी होटलमा खाना खाँदै थिए, साथीसँग । प्रहरी पोशाकमै थिए, त्यहाँ एक जवान । जो म कष्टडीमा हुँदा टेकुमा थियो अहिले यता आइपुगेछन् । रक्सी पिउँदै थियो । मलाई देख्नेबित्तिकै ऊ चिलले कुखुराको चल्ला झम्टेझेँ झम्टन आए । मेरो ज्याकेट खोलेर नांगो पारे । साथमा केही नभेटेपछि तँ गाँजा, चरेश बेच्छस् भन्न भ्याए । त्यसदिन साथीकै कारण म बचेँ ।

मेरो ज्यान चौतर्फी खतरामा छ, जतिबेलै जहाँ जे पनि हुन सक्छ । म न्यायको खोजीमा भौंतारिरहेको छु तर मेरो बिन्तीभाउ राज्यले सुन्दैन । के मधेशमा जन्मनु काठमाडौंमा केही गरिखान खोज्नु, मेरो अपराध हो ? होइन भने किन एउटा व्यक्तिलाई यसरी जाइलाग्छ राज्य, प्रहरी, प्रशासन ? के मधेशमा जन्मिएर हुर्किएका भुइँ मान्छेको होइन यो काठमाडौं ? अनि न्याय खोज्नु, प्रहरीलाई दिएको सापटी पैसा फिर्ता माग्नु मेरो अपराध हो ? होइन भने, भनोस् प्रहरी प्रशासनले मेरो कसुर के हो ? किन बेकसुर मान्छेलाई तीन सातासम्म प्रहरी हिरासतमा राखिन्छ ? खाना खाँदै गरेको ठाउँमा बर्दीधारीहरू किन चिलले कुखुरा छोपेझैँ झम्टिन आउँछन्, ममाथि ? के कसुर छ मेरो ?  

  – हरेराम कुशवाह

टिप्पणीहरू