रामचन्द्रे बौलायो नभन्दिनुहोला

रामचन्द्रे बौलायो नभन्दिनुहोला

औसत, नेपालीको सपना हुन्छ, काठमाडौँको चार आना जग्गामा दुई तले घर ठड्याउनु । तर, मलाई कंक्रिटको जंगल काठमाडौंले उति तानेन । हामीजस्ता भुइँमान्छेको लागि होइन रहेछ यो उपत्यका । परिवारका ८ सन्तानमध्ये एक्लो छोरा । सात दिदीबहिनीको एक्लो भाइ/दाइ । रसुवाको बाँदर लड्ने भीरबाट सरियो अलिकति उब्जनी हुने ठाउँ नुवाकोटको लिखु गाउँपालिका, चौघडातिर ।

स्कूले शिक्षा पूरा गरेपछि उच्च शिक्षा अध्ययनका लागि छिरियो काठमाडौं शहर । न टेक्ने ठाउँ, न समाउने हाँगो । न त थियो हातमा कुनै सीप, झण्डै एक दशक काठमाडौँमा पत्रिका बेच्ने काम गरेँ । तिनताक अहिलेजस्तो हातहातमा मोबाइल र अनलाइन थिएन । पत्रिकाका राम्रै पाठक थिए । बिहान, दिउँसो पत्रिका बेच्ने, राति सरस्वती कलेज पढ्ने । साइकलमा पत्रिका बेच्न थालेको केही वर्षपछि बालाजु, बसपार्क, गोंगबु क्षेत्रका अधिकांश स्टेशनरी पसलमा न्युरोडबाट पत्रिका पुर्‍याउन थालेँ । बीचमा अजंगका दुःखका भुमरीसँग खेल्दै कोरिया जाने सपना देखियो । लाग्थ्यो– एक पटक कोरिया छिर्न पाए, बदल्छु र आफ्नो परिवारको भाग्य र भविष्य !

कोरिया जाने लहर भर्खर शुरु भएको थियो । भाषा परीक्षा दिनुपथ्र्याे । कोठाका भित्ताभरि कोरियन भाषा टाँसेर पढ्थेँ । पत्रिका बेच्न जाँदा सानो कागजमा नोट बोक्थें । त्यही पढ्दै हिँड्थेँ । झण्डै ८० हजार परीक्षार्थीको भीडबाट ४ हजार छानिँदा मेरो नाम पनि अटाएछ । र, २०११ अगष्टमा कोरिया छिरें । दैनिक १८ घण्टाको खटन, मासिक ३ लाख हाराहारी आम्दानी । तर त्यो पैसाले पनि तानेन मेरो मन, रमेन कोरियामा यो ज्यान । भिसा अवधि बाँकी हुँदै स्वदेश फर्किएँ ।

कुभिण्डो सेवनले जण्डिस निको हुँदो रहेछ । सुगर, प्रेसर कम गर्ने, इम्युनिटी पावर पनि बढाउने ।

अधिकांश नेपाली जो श्रम बेच्न विदेश पुग्छन्, उनीहरूले आर्जेको लगानी त्यही घर जग्गामै हुन्छ, काठमाडौंमा । म मात्रै अपवाद कसरी हुनसक्थें र पत्रिका पसल बेच्दा झण्डै १७ लाख हात लागेको थियो । कोरियाबाट कमाइएको रकम थपेर घर जोडिएको थियो तर त्यो घरले खुसी दिएन । यो कंक्रिट शहरमा रमेन मन । कोरियाबाट फर्किएको पाँच महिनामै घर बेचें र फर्किएँ गाउँ । गाउँमै घर बनाएँ, केही जग्गा जोडेँ । खेती किसानी गर्न थालें । सन्त कविरले कतै भनेका छन्, ‘सबसे बडा हें रोग क्या कहेंगे लोग’ । घर बेचेर गाउँमा फर्किएर खेती किसानी गर्न थालेपछि धेरैले भने– ‘रामचन्द्रे बौलायो ।’ तर मैले आफ्नै अन्तरमनको आवाज सुनेँ । बुद्ध, जिसस, ग्यालिलियोलाई त बहुलायो भन्न बाँकी राखेनन् भने म त एक साधारण मान्छे । गाउँघरमा बाख्रा, कुखुरा, खेती किसानीमा रमाइरहेको थिएँ । यस्तैमा एक दिन कुभिन्डो देखे बारी भरी । गाउँघरमा जसलाई कू फल मानिन्छ । न कसैले रोपेको हुन्छ । त्यही फलको विषयमा अनुसन्धान गरें ।

कुभिण्डो धेरै औषधीय गुण हुने, स्वास्थ्यका लागि फाइदाजनक । यसमा हुने ९६ प्रतिशत पानीको सेवनले जण्डिस निको हुँदो रहेछ । सुगर, प्रेसर कम गर्ने, इम्युनिटी पावर पनि बढाउने । गाई भैंसीलाई यो फल खुवाउँदा राँगो खोज्ने अनि गर्भवती महिलाले यो फल खाएमा गर्भ खेर जाने रहेछ । यस्तो फललाई हामी कू फल भनिरहेका रहेछौं । यो सबै चाल पाए पछि  बजार खोज्न थालेँ । यस्तैमा दरबारमार्गमा रैथाने हाटबजार रहेको चाल पाएँ । त्यहाँ गाउँघरका फलफूल बेचिँदोरहेछ । तिलक ढकाल र उद्धव ढकालहरूसँग सम्पर्क गरे पछि एउटा फाराम भर्न भन्नुभयो । स्टल पाइएसँगै पहिलो लटमा कुभिण्डो र केराको बुंगो बोकेर दरबारमार्ग छिरे । हरेक शनिबार लाग्ने मेलामा लैजानका लागि केराको बुंगो र कुभिण्डो संकलन गर्न लाग्दा गाउँका मान्छे भन्थे– पशुहरूले समेत नखाने बुंगो र कुभिण्डो शहरियाले खान्छन् ? तर, हरेक साता सयौं किलो बुंगो र कुभिण्डो बिक्री हुन थाल्यो उक्त बजारमा । एक सय रूपैयाँ प्रतिकिलोका दरले । अहिले त व्यक्तिगत रूपमै अर्डर आउन थालेको छ, शहरबाट । एकै जना मान्छेले २० किलोसम्म उठाएर लगेका छन् ।

गाउँघरमा फालिएका यी फल बेचेरै अहिले मासिक ५० हजारभन्दा बढी आम्दानी गर्न सकिएको छ । हाटबजारमा उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याल धादिङकै अर्काे पालिकाका अध्यक्ष रैथाने उत्पादन खुर्सानी बेच्न आउने गर्नुभएको छ । अहिले अमलाको सिजन छ । यो साता नुवाकोटको अमला, अमारोलाई राजधानीको दरबारमार्गमा पु¥याएर बेच्दै छु । गाउँमा मकै गोड्ने र मल हाल्ने यन्त्र आफैँ तयार पारेको छु । अचम्म लाग्छ, हामी विदेश जान्छौं र आर्जेको रकम अचल सम्पत्ति जोड्नतिर लाग्छौं तर कोही पनि विदेशबाट फर्किएको नेपाली उद्योग धन्दामा लगानी गर्न किन अगाडि बढ्दैन ? 

अमेरिका, अष्ट्रेलियालगायत देशमा पुगेका नेपालीलाई उतै पिआर दिएर अडाइन्छ तर कोरियाले निश्चित समयपछि आफ्नै देशमा फर्काइदिन्छ । त्यसरी फर्किएका नेपालीलाई अचल सम्पत्तिमा लगानी गर्न रोकेर केही उद्योग, कलकारखानामा लगानी गर्ने नीति किन लिँदैन सरकार ? यसरी फर्किएकाहरूको लगानी उद्योग धन्दा र कलकारखानामा गर्न सके नेपाल बन्ने थियो तर घर र जमिनजस्तो अनुत्पादक क्षेत्रमा लगानी गरेर, नेपाल बन्ला कहिले ? यो र यस्तै सोचका कारण कोरियाबाट फर्किएका नेपालीहरू अर्थात् कोरिया रिटर्न ५० जनामध्ये उत्कृष्ट काम गरिरहेको भनेर माइग्रेड संस्थाले छनोटसमेत गरेको छ । मेरो पुर्खा यही माटोमा खेले, रमाए । मलाई पनि यही माटोमा रमाउनु छ । नुवाकोटको एउटा गाउँमा खेतीकिसानीमा रमाइरहेको छु, मैले बजारबाट नुन र कपडाबाहेक अरु कुनै चिज किन्नु छैन । सबै आफैँ उत्पादन गर्छु, यसैबाट परिवारलाई खुवाउँछु । र, बहुत रमाइलो लाग्छ, गाउँको उर्वरा जग्गा जमिन बाँझो राखेर कौसीमा खेती गर्नेहरू देख्दा ! 

– रामचन्द्र अगस्ती, चौघडा, नुवाकोट 

(साभार:जनआस्था-साप्ताहिकबाट)

टिप्पणीहरू