भूपूका नाममा खाइरहेकै छन् कुपुकुपु

भूपूका नाममा खाइरहेकै छन् कुपुकुपु

पढाइमा अब्बल थिएँ । तर, गरिबको कोखमा जन्म । डाक्टर बन्ने सपना तुहियो । प्रहरी बन्छु र देशको सेवा गर्छु भन्दा पनि गरिबको जीवन र भविष्यमाथि खेल्ने व्यक्ति भेटिए, सेनाकै अवकाशप्राप्त एक व्यक्ति । उनकै घात र प्रतिघातका कारण आज मानसिक रोगको औषधि सेवन गर्नुपर्ने अवस्थामा पुगेको छु । 

काभ्रेको कोशीपारि हो मेरो जन्मघर । सानुभाइ : सबैले प्यारले बोलाउने नाम । मध्यम वर्गीय परिवारको कान्छो छोरा । सानो हुँदा लुकामारी खेल्ने डाँडापाखा, बच्चामा चिप्लेटी खेल्ने देउराली डाँडा धेरै परिवर्तन भए तर फेरिन नसकेको म मात्रै हो । सात वर्ष टेकेपछि मात्र पाइला राखेँ स्कूलमा । बच्चालाई स्कूल पठाउँदा भूत लाग्छ भनेर पठाएनन्, स्कूल । एक कक्षादेखि ३ कक्षासम्मका पाठ्यपुस्तक घरमै पढियो । र, एकै पटक भर्ना गरिदिनुभयो कक्षा ४ मा । म चारमा भर्ना हुँदा दिदीले प्लस टु सकाइसक्नुभएको थियो । कहिल्यै दोश्रो भइन ।

एसएलसी सकिएपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं जाने निधो गरियो । बुबाआमाको साथ र काख कहिल्यै नछोडेको र घर नछाडेर कहिल्यै टाढा कतै ननिस्किएको मलाई एकातिर डर थियो, अर्काेतिर उत्साह । एक मनले भन्थ्यो– शहर जान्छु र केही बन्छु अनि पार्छु बुबा आमाको सपना साकार । सन्तान जति ठूलो भए पनि बुवाआमाको अगाडि सदैव बच्चाजस्तै लाग्छ । त्यही कारण बुबाआमाको एक्लो छोरा घरबाट हिँडेपछि घर शून्य हुन्छ भन्ने लाग्यो र गाउँमै बसेर पढ भन्नुभयो । भन्छन् नि राजहठ, नारीहठ र बालहठका अगाडि कसैको केही लाग्दैन । यी हठसँग हार्नै पर्छ, जो–कोहीले । मेरो हठसँग बुवा आमाको केही लागेन । बुवा–आमा मात्र यस्ता मान्छे हुन्, जो सन्तानसँग हार्नुमा गर्व मान्छन् । उहाँहरु हार्नुभयो । मैले जितें, काठमाडौं जान पाउने भएँ । 

को हुन्थ्यो र हामीजस्ता भुँइमान्छेको शहरमा ! न त टेक्ने ठाउँ, न समाउने हाँगो । बुवाले एक जना भिनाजु नाता पर्ने आफन्तको जिम्मा लगाएर पठाउनुभयो । घरबाट गाडी चढ्ने ठाउँसम्म पुग्न तीन घण्टा लाग्यो । गाडी जति जति हुइँकिन्थ्यो उति उति जोडले हुइँकिन्थ्यो मेरो मन । गाउँ छाडेर यात्रा जति शहरतिर बढ्दै जान्थ्यो उति उति बुवा आमा र घरको यादले मन अमिलो हुँदै आउँथ्यो । अनेकन तर्कना खेल्दथे । कोटेश्वरसम्म आइपुग्दा घर सम्झेर रोएँ । वरिपरि भिनाजुबाहेक कोही थिएनन् । गाउँको खुल्ला ठाउँमा हुर्किएको म, एउटा सानो कोठा, एउटै घरका वल्लो कोठा र पल्लो कोठामा बस्ने पनि अपरिचितहरू । बस्न साह्रै सकस । फुर्सदको समयमा कम्प्युटर सिकें । एसएलसी प्रथम श्रेणीमा पास गरें । प्रथम श्रेणीको विद्यार्थी भएका कारण धेरैको सुझाव रह्यो– विज्ञान बिषय लिएर पढ्नु । भोलि डाक्टर हुने सपना देख्दै थिएँ तर हामीजस्ता गरिबलाई त्यस्ता महँगो सपना देख्न कहाँ छुट छ र ? उक्त सपनालाई मनकै कुनामा राखें ।

साइन्समा प्लस टु उत्तीर्ण गर्नका लागि मात्र कम्तीमा ४/५ लाख लाग्ने हिसाब निस्कियो । मेरालागि उक्त रकम जुटाउन मुस्किल पर्ने स्थिति थियो । भनिन्छ, जसको कोही हुँदैन, उसको भगवान हुन्छ । मेरालागि भगवान् बनेर उभियो उच्च माध्यमिक शिक्षा परिषद्को छात्रवृत्ति कोटा । नाम निकालेँ । परिषद्ले बानेश्वरको हिमालयन ह्वाइट हाउसमा निशुल्क अध्ययनको लागि सिफारिस ग¥यो । मिहिनेतसाथ पढ्न थालेँ । कक्षा ११ को बोर्ड परीक्षा आउनै लाग्दा एक्कासी सिकिस्त बिरामी भएँ । कलेज जान सक्ने स्थिति रहेन । लगातार ६ महिनासम्म बिरामी भएपछि बुबाआमाले गाउँमै लिएर जानुभयो । झण्डै बर्ष दिनपछि तंग्रिएँ र स्वास्थ्यमा सुधार आएपछि कलेज गएँ तर धनीमानीका छोराछोरीले महँगो शुल्क तिरेर पढ्ने युवराज शर्माहरूको उक्त कलेजले मलाई छात्रवृत्तिमा पढ्न नदिने निर्णय ग¥यो । अब न्याय खोज्न कहाँ जानु ? हामीजस्ता सानु र भुइँमान्छेको पुकार कसले सुन्छ र यो विरानो शहरमा ?

शहरमा टिक्न सकिएन र फर्किएँ गाउँ । विज्ञान पढ्ने र डाक्टर बन्ने सपना बोकेर हिँडेको एउटा युवा शिक्षा विषयमा सिफ्ट भएँ । प्लस टु सकाएँ । हुने खाने, राजनीति जान्ने, नेताको पिछलग्गु भइएको भए गाउँमै जागिर पाइन्थ्यो होला तर हामीजस्ता गरिबका लागि को हुन्छ र ? केही काम पाइएला र कमाउँदै, पढ्दै गर्न सकिन्छ कि भनेर फेरि शहरै छिरेँ । छोराका लागि काम खोजी गर्दिन बुवाले एक जना नातेदारलाई भन्नुभएको थियो । उहाँले सेनाबाट अवकाशप्राप्त डोलबहादुर कार्कीलाई भनिदिनुभएको रहेछ । डोलबहादुरको घर, काभ्रेकै साँगामा । काठमाडौँ बोलाउनुभयो । जीवनमा अरु केही गर्न नसकिए पनि प्रहरी बन्छु र सरकारी सेवा गर्छु भन्ने लागेको थियो ।

एकातिर लोकसेवा आयोगको तयारी गर्दै थिएँ । त्यही बीचमा राष्ट्रिय अनुसन्धान विभागले सहायक सूचक पदका लागि विज्ञापन खोल्यो । यो गुप्तचरहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत जानुअघिकै कुरा हो । परीक्षा दिन बनेपा पुगेँ । उनै कार्कीले आफू बस्ने ठाउँ साँगा लानुभयो । लाग्यो– जीवनमा भगवान भेटिए । यति धेरै माया, प्रेम गर्नुभयो कि सबै कुरा सोध्नुभयो र भन्नुभयो ‘जीवनमा जसरी पनि सरकारी जागिर खानुपर्छ, तिमी ढुक्क हौ, जसरी पनि जिम्मा मेरो भयो ।’ अहिले पनि झल्झली सम्झन्छु कार्कीले भनेका कुराहरू, भन्थे– ‘बाबु चिन्ता नगर, तिमी पक्का सरकारी जागिरे बन्छौ किनकि तिमीले समयमै मलाई भेटायौ । अब भोलिका दिनमा बिहान मुख धुँदा पनि भगवानको नाम भन्दा पहिले मेरो नाम जप्नेछौ ।’

२०औं बर्ष सेनामा जागिर खाएर अवकाश पाएको व्यक्तिलाई आँखा चिम्लिएर विश्वास गरिएको थियो । त्यही विश्वासले आज मलाई घर न घाटको बनाएको छ । उनले दिएको धोखाधडी र छलछामको कुरा आज पोख्दै छु, तपाईंको यस लोकप्रिय पत्रिकामार्फत । कार्की काकाले मैले सहायक सूचकको परीक्षा दिएको चाल पाएपछि भने– चिन्ता नगर बाबु, मेरा छोरी–ज्वाइँ प्रहरीको उच्च दर्जामा छन्, जसरी पनि तिम्रो नाम निकाल्न मद्दत गर्दछु । ढुंगा खोज्दा देउता मिलेझैं लाग्यो मलाई । सहायक सूचकको परीक्षामा मेरो रोल नम्बरदेखि सबै विवरण टिपेर भने– हप्ता दिनपछि मलाई फोन गर्नु । 

हप्ता बित्यो । कार्की काका आफैंले फोन गरे । उत्साहित हुँदै फोन उठाएँ । जागिर पक्कापक्की गर्नका लागि केही रकम जोहो गर्नुपर्ने प्रस्ताव राखे । सोधें, कति खर्च गर्नुपर्छ अंकल ? जवाफमा ‘मैले गाउँको गरिब केटो हो, दुई लाखसम्म मात्र खर्च गर्छ भनेको छु । एक हप्तामा एक लाखचाहिँ ल्याइदिनु । नाम निस्किएपछि बाँकी रकम दिनु ।’

छोराले सरकारी जागिर खाने भयो भन्ने लागेपछि बुवाले ऋृण खोजेर एक लाख ल्याउनुभयो । सय कडा तीन व्याजदरमा । भाका थियो वर्ष दिनको । हप्ता दिनपछि कार्की अंकलको घर साँगामा पुगेर एक लाख उहाँको हातमा दिएँ । अहिलेसम्म थुप्रैलाई यसैगरी जागिर लगाइदिएको र तिम्रो पक्का हुन्छ, जाऊ भनेकोले ढुक्क हुँदै घर फर्किएँ । त्यसको दुई सातापछि थप ५० हजार माग्नुभयो । उही साहुलाई गुहारेर थप ५० हजार लिई फेरि साँगा पुगें, उनको हातमा थमाएँ । यसरी डेढ लाख रकम दिएको २ महिनापछि सहायक सूचक परीक्षाको नतिजा आयो तर त्यहाँँ मेरो नम्बर थिएन । रुँदै फोन गरेँ ।

उनको आश्वासन अझैं सकिएन । कहिले लोकसेवामा गएर नतिजा सच्याउँछु भने त कहिले हेडक्वार्टरमा भनेर सिधै सहायक हवल्दार बनाइदिने, त कहिले असइमा भर्ना गर्ने आश्वासन दिइरहे । उनीसँग भएका अडियो कुराकानी अहिले पनि मेरो मोबाइलमा सुरक्षित छ । यसरी डेढ वर्ष अनेकन आश्वासन देखाएर मलाई ठगिएको चाल पाएपछि सञ्चार माध्यममा पुगेर यी सबै गतिविधि छरपष्ट पार्ने धम्की दिएँ । पैसा नातेदारमार्फत फिर्ता त भयो ।

अहिले उनको फोन उठ्दैन । डेढ वर्ष आश्वासनमा अल्झिँदा उमेर कट्यो । लोकसेवा लड्न अयोग्य भइसकेको छु यतिखेर । एउटा गरिब र सोझा केटा अनि उसको परिवारमाथि सेनाकै अवकाशप्राप्त व्यक्तिले गरेको घात र प्रतिघातका कारण मानसिक रूपमा विक्षिप्त छु । मेरो त पैसा फिर्ता भयो । यसैगरी कति जनालाई सरकारी जागिरे बनाउँछु भनेर खाए होलान्, उनले ? तपाईंजस्ता समाजको कलंकलाई मेरो आँशुल्यै कहिले बाटो दिनेछैन । 

– (रिकेश विश्वकर्मा (क्षितिज) सँगको कुराकानीमा आधारित)
 

टिप्पणीहरू