कत्ति पनि सुरक्षित छैन यो काठमाडौं

कत्ति पनि सुरक्षित छैन यो काठमाडौं

६ महिना अघिमात्र बुबा बितेको शोक घट्न नपाउँदै ज्यानै लिने हिसाबले कात्तिक ११ गते लाजिम्पाटजस्तो व्यस्त ठाउँमा ममाथि सांघातिक हमला भयो । राष्ट्रपतिदेखि उपराष्ट्रपतिको निवास यही बाटोमा पर्दछ । सिआइबीको कार्यालयभन्दा करिब ३ सय मीटर परको दूरीमा उक्त घटना हुँदासमेत अपराधीहरु आजसम्म पक्राउ पर्दैनन् । कुन तत्वको संरक्षणमा छन् तिनीहरु ?

जन्मिएँ नुवाकोट ककनीमा, हुर्किएँ काठमाडौंमा । यतै पढें, बढें । ककनीमा ढुङ्गा गिट्टीको खानीका अलावा नेपाल भूमि रियल इस्टेट कम्पनी सञ्चालन गरेको छु । त्यस दिन टोखाबाट कार्यालयतिर जाँदै थिएँ । पहिला इमेज च्यानल रहेको भवनमा कसैसँग टेलिफोन संवाद गर्दै गाडी पार्किङ्ग गरेर निस्कन खोज्दै थिएँ । पहिला एक जनाले रडले प्रहार गरेपछि पाँच/सात जनाले बाइकको सक र रडले तारन्तार हाने । चार दिनसम्म बेहोस भएर ढलें । होस खुल्दा ग्रीन सिटी अस्पतालको बेडमा रहेछु । टाउकोको हड्डी फुटेको छ । ब्रेनमा रगत जमेको छ । शरीरभर निलडाम छ । सुन्दैछु, मलाई मार्न ५० औं लाखको सुपारी दिइएको थियो रे !  

घरैबाट उनीहरुले मेरो पिछा गरेका छन् । यो प्रकरणमा नुवाकोटकै अजय लामा, निश्चल सुनार, दीपक बरायू र नुवाकोट बेलकोटगढी घर भएका शैलेन्द्र भनिने मार्शल जोडिएका छन् । मार्शललाई प्रहरी परिसरले सोही दिन पक्राउ गरेको छ भने बाँकी तीन फरार छन् । फरारमध्येका अजय ठगी मुद्दामा तीन वर्ष ६ महिना जेल बसी दुई महिनाअघि मात्रै छुटेका हुन् । उनले बर्दीमै रहेका प्रहरी जवान लोकबहादुर बुढालाई लात्ती प्रहार गर्दा टाउकोमा गम्भीर चोट लागेको थियो । अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएका उनी ४० हजार धरौटीमा छुटेको बुझिएको छ ।

मलाई मार्ने, नभए फसाउने योजना आजभन्दा वर्ष दिनअगाडि देखिकै हो । गाडीमा लागुपदार्थ हालेर फसाउन खोजेका थिए, सकेनन् । गत बर्ष दशैंको मुखमा बिजनेश पार्टनर बनाउनुपर्‍यो भन्दै एक जनाले बोलाएर गाडीमा लागु औषध राखी फसाउन खोजेका थिए । त्यही राती दुई जना डिएसपीको कमाण्डमा मेरो घर घेर्न आए । उनीहरुले भनेका थिए, तपाईंमाथि लागुऔषध ओसारपसार तथा कारोबारको आंशका छ । घर खानतलासी गर्नुपर्ने भयो । उनीहरुले घण्टौं लगाएर खानतलासी गरे, केही भेटेनन् । २० दिनपछि अर्काे एउटा मिटिङ्गमा थिएँ । रियल इस्टेटको कारोवार गर्नु छ भन्दै अर्काे फोन आयो । बोर्ड मिटिङ्ग स्थगित गरेर तल झर्दा हामी सिआइबीबाट आएका हौं, सँगै हिँड्नुहोस् भनी लिएर गए । त्यतिबेला किरण बज्राचार्य सिआइबी प्रमुख । उहाँसँग जिज्ञासा राखें, मलाई किन समाइएको हो ?

किरणले भन्नुभएको थियो– सुन तस्करीको आरोप छ, सोधपुछ गर्नुपर्ने भयो । त्यस दिन झण्डै ११ घण्टा सिआइबीमा राखेर छोडियो । गत वर्ष तिहारअघि मोबाइलमा अर्काे फोन आयो र भनियो– ‘तपाईंलाई ड्रग्समा नभए हातहतियार प्रयोग गरेर मार्ने प्लान बन्दैछ । सबै इन्फरमेसन दिन्छु ।’ उसले त्यसका लागि शुरुमा तीन लाख माग्यो । बैंक खाता नम्बर मागें र प्रहरीलाई जानकारी गराएँ । दानबहादुर कार्की सरलाई भेटेर आफूमाथि भइरहेको आक्रमणको सिलसिला र योजनाबारे जानकारी गराएँ । सिआइबीले उक्त खाता नम्बर भएको सागर कडायतलाई टीकापुरबाट समाएर ल्यायो । उसले लक्ष्मी राइसहित चार जनाको नाम पोलेको छ ।

दुई महिनाअगाडि फेरि उसैगरी थ्रेट आयो । यो बिषयमा सिआइबी प्रमुख एआइजी दीपक थापादेखि प्रहरी प्रवक्ता दानबहादुर कार्कीसम्मलाई भेटेर जानकारी गराएँ । ढुक्क हुनुहोस्, केही हुन दिन्नौ भन्थे तर पनि सांघातिक आक्रमण भयो । यो घटनापछि स्वास्थ्यमन्त्री प्रदीप पौडेल, बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, काँग्रेस नेता अर्जुननरसिंह केसीदेखि राजनीतिक तहका नेताहरु भेट्न आउनुभयो । सहानुभूति राख्नुभयो । नेताहरुले अपराधीलाई कानुनी दायरामा ल्याउने बताए पनि घटना भएको १५ दिन बित्दा समेत एक जनाबाहेक अरु अपराधीलाई कानुनी कठघरामा किन ल्याउन सकेन प्रहरीले ?

यी सबै घटनाका पछाडि पूर्व भाउजूको हात रहेको आशंका छ । सुनसरीकी ५० वर्षीया लक्ष्मी राईसँग मेरो दाइ दीपेश लामाको १२ वर्षअघि बेलायतमै विवाह भएको हो । आठ वर्ष सँगै रहे । तर लक्ष्मीको चालामाला ठीक लागेन मलाई । मेरो दाजुसँग आउनुअघि तीन जना केटासँग विवाह गरेको थाहा पाएँ । त्यसपछि उनीहरुको सम्बन्ध विच्छेद भयो । बेलायतकै एक जना केसी थरका काउन्सिलरसँग रङ्गेहात भेटिएसँगै उनको घरबारसमेत बिग्रिएको छ । हाल एक जना धादिङ्गे पत्रकारमार्फत त्यतैको एक युवकसँग विवाह गरेर बेलायत लगेको विषय खुल्दै छ । उनका अनेक बदमासीबारे जानकार छु । दोहोरो नागरिकतादेखि दोहोरो राहदानी, गोदावरीदेखि निजगढमा चार पाँच रोपनी जग्गा, ठमेलमा चार करोड माथि लगानी गरेर क्लब सञ्चालन हुँदै गरेको बिषयमा मसँग सूचनाहरु छन् । आफ्नै दिदीको छोरीलाई सरोगेसी गरेर बेलायत लगेको एक एक जानकारी छ । त्यही कारण उनको तारो म बनेको हुनुपर्दछ, भन्ने अनुमान हो । होइन भने जीवनमा कहिल्यै कसैसँग दुश्मनी हुनुपर्ने तहको काम गरेको छैन मैले ।

ममाथि आक्रमण हुनु दुई दिन अगाडिमात्र लक्ष्मी नेपाल छाडेर बेलायत उडेको कुरा आइरहेको छ । र, यो प्रकरणमा जोडिएका अपराधीहरुलाई जोगाउन तिनै धादिङ्गे पत्रकार हात धोएर लागेको सिआइबीकै हाकिमहरुले बताइरहेका छन् । अहिले अस्पतालको बेडमा छु । भाग्यवश, बाँचेको छु । यहाँ रहँदा पनि मन बेचैन छ । गृहमन्त्री रमेश लेखकज्यू, सचिव गोकर्णमणि दुवाडी, प्रहरीका आइजिपी बसन्त कुँवरज्यू ! यही हो तपाईंहरुको कानुनी राज्य ? अपराधीहरु खुलेआम हिँड्ने, पीडितले उल्टै त्राहिमाम भएर बाँच्नुपर्ने ?

– विक्रम लामा, ग्राण्डी सिटी अस्पतालको बेडबाट​​​​​​​

(साभार:जनआस्था-साप्ताहिकबाट)

टिप्पणीहरू