जसलाई चाहेको थिएँ, उनैलाई बहिनी बनाऊँ कसरी ?

जसलाई चाहेको थिएँ, उनैलाई बहिनी बनाऊँ कसरी ?

भ्रम भनाैँ या रोग रहेछ प्रेम । न कुनै औषधिले छुने, न तन्त्रमन्त्र वा धामी–झाँक्रीले निको पार्ने । जति बिर्सन खोज्यो उति याद गाढा भएर आइरहने । साथमा श्रीमती र छोरी छन् । नपुग्दो केही छैन । सम्पत्ति र पैसाले त कहिल्यै पुग्ने पनि होइन । सानोतिनो रोजगारी छँदै छ । सुखमय जीवन व्यतित भइरहेकै छ । खाना, नाना र छानाको समस्यामा भौंतारिनुपरेको पनि छैन । तैपनि, किन–किन बिचलित भइरहेछ यो मन, चिनीबिनाको चियाजस्तो फिक्का लागिरहेछ जिन्दगी ! बिस्तरामा पल्टन्छु, निद लाग्दैन । जब फेसबुक खोल्छु झन् निद्रा गायब !

०६६ साल आसपास । १७ वर्षे किशोरवय । कालेकाले दिलवाले केटोको हट्ठाकट्ठा थियो ज्यान । एसएलसीपश्चात् जिल्ला सदरमुकाम जाने । कम्प्युटर सिक्ने अनि विस्तारै भविष्य खोज्ने सोचाइ थियो । सोचेजस्तो त कहाँ हुनेरहेछ र ? जीवन सधैँ भोगाइमै बित्यो । भोगाइको पोखरीबाट डुबुल्की मारेर उत्रिन कहिल्यै सकिएन । पौडी खेल्दै बितिरह्यो । 

ऐँसेलुखर्क गाउँबाट खोटाङ सदरमुकाम दिक्तेल झरेपछि कम्प्युटर इन्स्टिच्युटमा भर्ना भएँ । अध्ययनभन्दा पनि सीप नै प्रमुख भन्ने ध्येय थियो । र, त्यो जमाना कम्प्युटर चलाउन जान्ने मान्छे सबैको गन्ने–मान्ने ठहरिन्थ्यो । म पनि त्यही भुमरीमा परेँ । कम्प्युटरसँगै फोटोग्राफीमा रुचि बढ्यो र क्यामेरा चलाउन सिकेँ । त्यसो त त्यो युगमा कम्प्युटरभन्दा अझ क्यामेरा बोकेर फोटो खिच्नेको कद अग्लो थियो जस्तो लाग्छ ।

जति निषेध गर्न खोज्यो उति सीमा पार गरेर अनुशासन तोड्छ मनले ।  

‘सर, नमस्कार ! म कम्प्युटर कोर्स सिक्न आएको....’ यति आवाज सुनेको अझै मेरो मानसपटलमा ताजै छ । त्यसपछि इन्स्टिच्युटका मालिकसँग के कुरा भयो केही थाहा छैन । कति मिजासिली । कति संस्कारी । बोलीमा कति मधुरता ! जति बोल्यो उति सुनिरहुँजस्तो । मैले सायदै जीवनमा पहिलोपटक सुनिरहुँ, हेरिरहुँजस्तो खास लाग्नेवाली भेटेको थिएँ । र, उनलाई मनमनै आफ्नो बनाइसकेको थिएँ । आफूले मन पराएकोलाई मनको कुनामा राख्न सबैभन्दा सजिलो । उसले स्वीकारोस् या नस्वीकारोस् । त्यो सवालको विषय होइन, आफूले के चाहेको हो त्यो रहेछ मुख्य वस्तु । 

इन्स्टिच्युटमा कोर्स पूरा गर्न आएको महिना बित्यो । न मलाई उनको नाम थाहा छ, न मेरो उनलाई । यसैलाई भनिएको रहेछ माया... । न ठेगाना थाहा छ, न वतन, न कुनै खास परिचय नै । तैपनि, एकोहोरो उनैलाई चाहन्छु किन–किन ! सक्कली परिचय थाहा छैन तर मेरो मन खाली उनैलाई खोज्छ हरदम–हरबखत । जति निषेध गर्न खोज्यो उति सीमा पार गरेर अनुशासन तोड्छ मनले । यही अन्जान (भ्रम) का बीच उनीसँग परिचय भयो । डाँडापाखातिर देखिएका उराठ वनमा एकाएक पाउलो पलाएजस्तो, मौसमअगावै जुरेलीले गुँड बनाएजस्तो भो मन । 

नाम, ठेगाना, वतन केही थाहा नहुँदा त मन रफ्तारमा कुदिरहेको थियो । त्यो सब थाहा पाएपछि गाडीको गेयर नै चेञ्ज गर्न नसकिने गरी हुइँकियो मन । हाइहेल्लो चल्दै गयो । घर बुइँपा रहेछ । परिवारकी जेठी । हरसमस्या नजिकबाट नियालेकी । समाज बुझेकी । कसैलाई पराइ नठान्ने । मानवताकी खानी । झन् सौन्दर्यले परिपूर्ण । उनलाई पाउने केटो संसारकै भाग्यमानी हो, नपाउने अभागी । म त्यही अभागी हुँ, जसले एकोहोरो माया गरिरहेँ । उनको खुशी नै आफ्नो खुशी ठानिरहेँ ।

जब ०७० मा काठमाडौँ खाल्डोमा पाइला टेकेँ । दिक्तेलमै मोबाइल हाउसले मनग्गे मुनाफा दिए पनि छोरीको भविष्यले काठमाडौं नै तान्यो । श्रीमतीसँगको छलफलपछि छोरी च्यापेर शहर छिरेँ । शहर गाउँलेका लागि चन्द्रमा नै रहेछ । न आरामले सास फेर्न सकिने, न सजिलै यहाँको जनजीवनमा रुमल्लिन सकिने । समय लाग्यो शहरमा घुलमिल गर्न । काठमाडौँमा दाइ भए पनि उसका आफ्नै व्यथा थिए । आफ्नो खुट्टामा आफैँ उभिन सिक्नुपर्छ तब मात्र जीवन भोगाइको असली पाटो थाहा हुन्छ भन्ने सोचमा हुर्किएँ । र, काठमाडौंको बसाइ घिटीघिटी चलिरहेको थियो ।

जसोतसो काठमाडौंमा तीन ज्यान, एक धड्कन चलिरहेको थियो । आर्थिक पाटो धान्न मुश्किल भए पनि व्यवस्थापन भइरह्यो । दैनिक पत्रिकामा काम गरेको तलबले तीन जनालाई राम्ररी आङ ढाक्ने लुगा किन्न सकिने अवस्था थिएन । तैपनि, यहाँको हावापानी बुझ्दै गएपछि हाँस्नै पर्ने ! पेटमा ग्यास्ट्रिक, टाउकोमा समस्याको भारी, मनमा पीडाको पोको बोकेर अफिस जान्थेँ–आउँथेँ । भर्खंर फेसबुकको व्यापकता छाइरहेको थियो । अहिलेजस्तो स्मार्ट फोनको जमाना थिएन । हुनेखानेहरूले भर्खंर स्मार्ट फोन चलाउँदै थिए । दुनियाँ अजीवको थियो । 

मैले नि फेसबुक आइडी खोलेँ । अरुले फेसबुक भनेको सुन्दा अचम्म लाग्ने, आफ्नै फेसबुक आइडी हुँदा दंग परेँ । चिनेजानेकाहरूलाई फ्रेण्ड रिक्वेस्ट पठाएँ । उनीहरूले पनि एक्सेप्ट गरे । फेसबुक खोल्नेबित्तिकै ‘सर्च बक्स’मा मनीषा नामको फेसबुक आइडी चेक गरेँ । त्यो नामको कैयौँ भीडभित्र उनलाई बल्लतल्ल फेला पारेँ । पहिला जस्ती, त्यस्ती नै ! कुनै मेकअप छैन । सामान्य जीवनशैलीमा हुर्किएकी । फेसबुकका भित्तामा पोष्ट्याइएका प्रत्येक तस्बिर गहिरिएर नियालेँ । मनले सुम्सुम्याएँ । मैले यसरी सुम्सुम्याएको उनलाई न आज थाहा छ, न उतिबेला, न भोलि नै थाहा हुनेछ । मबाहेक अरु कसैलाई थाहा हुने छैन । 

उनले मेरो फ्रेण्ड रिक्वेस्ट एक्सेप्ट गरिन् । ‘हाइ, हेल्लो’ मैले नै अघि बढाएँ । उनले पनि फुर्सदको समयमा रिप्लाई दिन्थिन् । अफिसमा हुँदा कामको चापले व्यस्त हुने म घर पुगेपछि उनको फ्रोफाइल लुकी–लुकी हेर्थेँ । जबकि श्रीमतीले यो कुरा चाल नपाउन् भन्ने लाग्थ्यो । श्रीमती मेरो जीवनको अभिन्न अंग हो, छोरी परिवारको खुशी । यी सबथोकका सामु पनि उनी झन् खास लाग्ने । फेसबुक च्याटमा उनको मेरो अनौपचारिक कुरा हुन्थ्यो । केवल ‘तपाईं’ सम्बोधन । फेसबुके गफगाफ झांगिँदै गएपछि एकदिन भेटघाट गर्ने सहमति भयो ।

काठमाडौंको एक क्याफेमा भेट भयो । अनौपचारिक गफगाफलाई औपचारिकतामा धकेल्दै जाँदा थाहा भयो– उनको पनि छोरा भइसकेको रहेछ । बूढो कोरियामा । ब्युटीपार्लर सिक्ने योजनामा रहिछन् । बूढोले औधि माया अनि विश्वास गरेको । उनीबारे सबथोक थाहा भयो । मैले आफ्नोबारे सबथोक भनेँ । तर, उनले पनि भेटको मुख्य उद्देश्य के भनेर सोधिनन् । न मैले सोधेँ । मलाई त केवल उनलाई हेरेर वर्षाैँदेखिको प्यास मेटाउनु थियो, मेटाएँ पनि । प्रपोज गर्ने आँट गरेको भए उनी मेरी हुन्थिन् होला, म उनको । तर, सबथोक समयको खेल रहेछ । उनी एकाएक दिक्तेलबाट हराइन् अनि मैले फेसबुकबाट बल्ल शहरको एउटा कुनामा भेट्टाएँ । 

जीवनको अन्तिम भेट त्यहीजस्तो लागेको थियो तर जे–जस्तो भए पनि मानवताको नाताले केही सम्बन्ध त गाँस्नै पर्‍यो । आखिर उमेरमा केही महिना कान्छी भएकाले उनलाई ‘बहिनी’ र उनले मलाई ‘दाइ’ भनेर संबोधन गर्ने वाचाका साथ बिदावारी भयौँ । फेसबुक अनि टिकटकमा लाइक, कमेन्ट अनि हाइहेल्लो भइरहन्छ, श्रीमती छ तैपनि बहिनीको बहानामा मन उतै डुल्छ ।

केही दिनअघि फेसबुक च्याट गरिन्– ‘सम्भव भएसम्म पूर्णबहादुरको सारंगी फिल्म हेर्न सपरिवार भेटौँ । नभए नि यसो कफीचाहिँ पिउनुपर्छ है दाइ !’ सोच्दै छु– जसलाई चाहेको थिएँ, उनैलाई बहिनी कसरी बनाऊँ ? श्रीमतीलाई मेरै मुखबाट यो यथार्थ कसरी जानकारी दिऊँ ! 

– उही अभागी रविन 
 

टिप्पणीहरू