पैसाको पीरले निर्जला प्याकप्याक
चक्रीय प्रणालीको चक्र चुँडिने बेला, दक्षिणतिर चुनाव सकिएर मोदी दोहोरिनै लाग्दा यता राष्ट्रिय जनता पार्टी (राजपा) मा अनेकन सम्भावना र विरक्तिको बादल मडारिन थालेको छ ।
भर्खरै अनिल झालाई दुई महिने संयोजकको जिम्मा दिइएको र महन्थ ठाकुरलाई एकल नेतृत्व बुझाउने तयारी भइरहेको बेला भविष्यको अनेक परिदृश्य प्रकट भएको हो । महन्थ, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झाहरु कालान्तरसम्म एकै ठाउँ रहलान् । तर, कम्युनिष्ट पृष्ठभूमिका महेन्द्र रायले यादवचाहिँ सबै कुरा सहेर बस्ने देखिँदैन । एमाले पृष्ठभूमिका उनको त्यता फर्किने सम्भावना नभए पनि बाबुराम, उपेन्द्र, अशोक नेतृत्वको समाजवादी पार्टीमा जाने कुरालाई नकार्न सकिँदैन । अर्को प्रसंग आउँछ, शरद्सिंह भण्डारीको । लैनचौर दूतावासनिकट भएका कारण उताको ईशाराबिना दायाँबायाँ गर्दैनन् । बेलाबेला सरकारमा जाऔँ पनि भनिहाल्छन् ।
दिल्लीको केन्द्रीय सत्तामा नरेन्द्र मोदी दोहोरिने भएपछि यता राजपामा हर्ष छ । भारत सरकारले नेपाली कांग्रेसलाई उताको कंग्रेस आईकै स्तरमा राख्दै छ । न उसले नेकपा र त्यसको सरकारलाई फुटाउने, न काँग्रेसलाई उकास्ने खतरा छ, न हिन्दू धर्मबाटै टसमस हुन्छ । ऊ ‘गुड इन्गेजमेण्ट विथ गभर्मेन्ट’ को स्थितिमा रहने अनुमान लगाउँछन्, भारतीय विश्लेषकहरु ।
शरद्सिंह सन्त नेता किसुनजीलाई जीवनका केही वर्ष बस्न दिएको भैंसेपाटीस्थित निवास अघिल्तिर भूकम्पपछि प्रिफ्याब टहरो ठड्याएर अचेल धेरै समय निर्जला राउतसँगै बस्छन् । यसो हुनुको अर्को कारण हो, निर्जलाले ल्याएको अकुत सम्पत्तिप्रतिको आकर्षण । उनका दक्षिण भारतीय पति छन्, कृष्णन् । अमेरिकाको जर्जिया राज्यमा बस्ने । दुई छोरी भारतमै अध्ययनरत छन्, राउत हैन कृष्णन् थर नै लेख्छन् । मधेस आन्दोलन ०६३ देखि नेपाल आएर यतै बस्न थालेकी हुन् । नागरिकताअनुसार सिराहा जिल्ला, बस्तिपुर– २ पक्कीटोलकी बासिन्दा र अस्थायी बसोबास ललितपुरको भैंसेपाटी हो । रहस्यमय छ– जुन दिनदेखि शरद्सिंह निर्जलासँग बस्न थाले, त्यही बेलादेखि नेपाली कांग्रेस त्यागे र निरन्तर मधेसकेन्द्रित राजनीति गरिरहेका छन् । तर, उनी पुख्र्यौैली मधेसी हैनन् ।
पोखराबाट खेतीपातीको क्रममा बाबुसँगै महोत्तरीको बर्दिबास झरी त्यहीँबाट पहिला पञ्चायतसम्बद्ध र ०४६ पछि कांग्रेसको राजनीति गरेका हुन् । निर्जलालाई उनले ०६४ कै संविधानसभामा लैजान खोजेका थिए, तर उपेन्द्र यादवले रेणु यादवलाई छाड्न नमान्दा पालो आएन । तर, ०७० को दोस्रो संविधानसभा हुँदै अहिले प्रतिनिधिसभामा समानुपातिक सांसद छिन् । अहिलेको संसदमा माधव नेपाल, प्रदीप गिरी, प्रकाशमान सिंह, डा.नारायण खड्का, अग्नी सापकोटा, सुजाता कोइराला, सुरेन्द्र (राम) कार्की, भीम रावल, सुजिता शाक्यजस्ता नेताहरु रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य पनि छन् ।
निर्जलाले ल्याएको सम्पत्ति शरद्सिंहले विभिन्न ठाउँमा लगानी गरेका छन् । शिक्षासम्बन्धी काम गर्ने गरी ललितपुरमा सञ्चालित होप इन्टरनेशनल, बर्दिबासमा होटल र हस्पिटल व्यवसाय, मुस्ताङको जलविद्युत परियोजनासहित विभिन्न आयोजनामा लगानी छ । अहिले उनीहरुलाई सरकारले यसैमा अँठ्याउँछ, कस्छ कि भनेर बयान दिँदैको हैरानी छ ।
निर्जलालाई किन नमज्जा ?
प्रम कार्यालयअन्तर्गत सम्पत्ति शुद्धिकरण छानविन आयोगले शुरु गरेर पनि राजनीतिक दबाबमा फाइल थन्क्याइएको मामिला हो, अपर मुस्ताङ जलविद्युत परियोजनाको ।
त्यसैको मालिक्नी निर्जला राउतमाथि अधिक विजकीकरणअन्तर्गत मुद्दा चलिरहेको छ । अर्थात्, पर्ने मूल्यभन्दा बढी लगानी गरेबापतको कानुनी झमेला । साढे चार सय मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने लक्ष्यसहित अपर मुस्ताङ जलविद्युत परियोजना दर्ता गरिएको छ । उनले मरिससबाट पैसा ल्याएकी हुन् । सम्पत्ति शुद्धिकरणले सो रकमको स्रोत उपलब्ध गराउन पत्राचार गरेको थियो । तर, अहिलेसम्म न स्रोत खुल्यो, न कारवाही नै अगाडि बढेको छ । लगानीको वास्तविकता बुझ्न सम्पत्ति शुद्धिकरण जोडसँग लाग्यो ।
राजनीतिक दबाबमा फाइल बन्द छ । उनीहरुले जलविद्युतका लागि आठ करोडमा जग्गा किने । रजिष्ट्रेसनमा पनि त्यति नै देखाए । तर, फिल्डबुकमा दोब्बर पैसा गएको पाइयो । एक त सरकारी मूल्यांकनको तुलनामा बढी रकम हालिएको जमिन, त्यसमाथि फिल्डबुकमा जनाउँदा किनेको वास्तविक लागतभन्दा बढी मूल्य † सामान्यतया व्यापारीहरुले जति मूल्यमा जग्गा तिरे पनि जमिनको कर जोगाउनका लागि सरकारी रेट राख्ने गर्छन् । तर, तनाव बढी नै भएपछि निर्जला अचेल बढी देखिएको रकमबापतको जरिवाना, कर वा जस्तोसुकै दस्तुर तिर्न तयार रहेको बताउन थालेकी छन् । सम्पत्ति शुद्धिकरणको क्षेत्राधिकारभित्र ‘तिराउने’ विषय पर्दैैन, कसरी यत्तिका सम्पत्ति आयो र कुन उद्देश्यका साथ बाहिरियो भनेरमात्र हेर्ने हो । विशेषतः क्षेत्रीय आतंकवादको खतरा, त्यसमा आर्थिक लगानीमाथि केन्द्रित भएर यस्तो संयन्त्र स्थापित भएको हो । तर, सरकार नियन्त्रित सो संयन्त्र प्रत्यक्षतः राजनीतिक प्रभावमा पर्ने गरेको छ ।
त्यहीँ अजेयराज सुमार्गीको पनि १२ अर्बको मुद्दा चलिरहेको छ । अदालतमाजस्तै गोलचक्करमा छ, सुमार्गीको मुद्दा ।
अर्को छ, भारतीय लगानीको एसबिआई बैंकसँग सम्बन्धित मुद्दाको अनुसन्धान । उक्त बैंकमार्फत एकजना भारतीयले ४३ करोड रुपैयाँ बाहिर लगेका छन् । न आरोपितले, न बैंकले– कसैले पनि भरपर्दो जवाफ नदिएपछि सम्पत्ति शुद्धिकरण आयोगले सो मुद्दा उच्च अदालत पाटनको बाणिज्य इजलाशमा लैजाने अन्तिम तयारी गरिरहेको छ ।
अर्को छ, विनोद गुप्ताको मुद्दा । राजश्व अनुसन्धानले कर छलीमा मुद्दा हालेर सम्पत्ति शुद्धिकरणमा पठाएको हो । सम्पत्ति शुद्धिकरणले वैशाख ११ गते मुद्दा विशेष अदालतमा पेश गरेको छ । उनकी नेपाली पत्नी मधुकुमारी चौधरीलाई पनि विपक्षी बनाइएको छ । विनोदचाहिँ भारतीय नागरिक हुन् । उनीहरु विरुद्ध २२ करोड ९५ लाख बिगो राखेर मुद्दा दायर भएको हो ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा केही कठिनाई रहेछन् । यो मुद्दा चलाउने प्राथमिक चरणको निकाय होइन । उदाहरणका लागि, लागु औषधको व्यापार गरेको छ भने पहिला प्रहरीले कारवाही गरेर मुद्दा बुझाएको हुनुपर्छ र शंकास्पद सम्पत्ति देखियो भनेमात्र सम्पत्ति शुद्धिकरण आकर्षित हुन्छ । कर, भन्सार छलेको भए ती निकायले हेर्छन् । सबै निकायले कसुर स्थापित गरेपछि सम्पत्तिको अनुचित वा शंकास्पद स्थिति देखियो भने मात्र सम्पत्ति शुद्धिकरण आकर्षित हुने हो ।
जस्तो कि, अहिले कारागारमा रहेका पूर्वराज्यमन्त्री सञ्जय साह (टकला) माथि पहिला अख्तियारले भ्रष्टाचार मुद्दा चलायो । त्यहाँबाट स्थापित भएको कसुरमा टेकेर सम्पत्ति शुद्धिकरणले उनीमाथि हात हाल्यो । प्रहरी, अख्तियार, राष्ट्रबैंकले फाइल पठाएपछि बल्ल यो विभागले काम पाउने हो । ऊ आफैंले शुरुमै हात हाल्न पाउँदैन ।
टिप्पणीहरू