यसरी बन्यो बम, यसरी बढ्यो दम
भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थराज घिमिरे खुट्टामा गोली लागेपछि पाँच घण्टा पर अस्पताल लैजाँदै गर्दा अत्यधिक रक्तश्रावको कारण मारिएको आवेगमा पत्रकार कृष्ण सेन मारिएको दिन बन्द रोज्दा विप्लव समूहका थप कार्यकर्ता प्राविधिक गल्तीले बर्बाद भएका छन् ।
केही महिनादेखिको घरभाडा नतिरेका अखिल कार्यकर्ता प्रज्वल शाहीले जेठभरिमा भाडा तिर्ने र कोठा पनि छाड्ने बताएका थिए । बिहान घरबेटीसँग यस्तो सल्लाहपछि दिनभर कतै निस्किएनन् । बरु, एकैछिनमा केही साथी जम्मा भए । विद्यार्थीको कोठामा प्रायः ढोका लाग्ने नै भयो । तर, त्यही कोठामा दिउँसो टोलै थर्थराउने गरी बम बिष्फोट भयो । जेठभरिमा कोठा छाड्छु भन्ने प्रज्वलले आफैँले बनाएको बम लागेर कोठाभित्रै संसार त्यागे ।
ओम अस्पतालअगाडि सैलुन निक्कै चलेको थियो । आम्दानीले आफूमात्र हैन, साथीहरु पनि पालिने अवस्था थियो । तर, पार्टीले भन्यो, ‘अब पेशा पनि रणनीतिक तवरले चलाउनुप¥यो ।’ यही निर्देशन पाएर जीवकुमार ठाकुर ६ महिनादेखि सुकेधाराको भित्री सडक, ढलाने पुलनजिकैको नयाँ टहरामा सरे । सैलुन राखे । ग्राहक उति धेरै आउँदैन थिए । तर, उनी दिनैभर व्यस्त हुन्थे । अघिल्लै दिन साँझ चुनिखेलका सुरेन्द्र महर्जनसहित आठ–दशजना मान्छे पुगे । बाहिर सैलुन खुल्लै थियो । तर, उनीहरु भित्र व्यस्त भए । कपाल काट्ने हजामबारे कसैले केही शंका वा चासो राख्ने कुरा पनि भएन । तर, ती ठाकुर सशस्त्र द्वन्द्वकालदेखिकै माओवादी, विभाजनमा वैद्यतिर गएर फेरि विप्लवमा लागेका । त्यहाँ पनि दिउँसो बनाउँदा बनाउँदैको बम पड्कियो । सैलुनअगाडि अण्डाझैँ टाउको फुटेर गिदी छिरल्लिएका ठाकुरले त्यहीं प्राण त्यागे ।
बूढानीलकण्ठसँगै जोडिएको चुनिखेलमा दीपेन्द्र विश्वकर्माको डेरा थियो, तर उनी कहिलेकाँहीमात्र पुग्थे । पत्नी र दुई बच्चा त्यहीँ बस्छन् । अघिल्लो दिन साँझ कोठाबाट निस्किनुअघि चोकमा एकजनाले सोधे, ‘के काम गर्नुहुन्छ ?’ उनले भने, ‘पाटनमा एनजिओ चलाउँछु ।’ तर, भोलिपल्ट दिउँसो सुकेधारामा बिष्फोट भएको बममा परेर घाइते भए । उपचारको क्रममा अत्यधिक रक्तस्राव हुँदा ओम अस्पतालमा उनले पनि प्राण त्यागे । दीपेन्द्रसँगै अघिल्लो साँझदेखि सुकेधारास्थित ठाकुरको सैलुनसँगै कोठामा बसेका हाँडिगाउँका सुरेन्द्र महर्जनका दुबै खुट्टा बमले खाएको छ । अर्का घाइते हरि खड्काको एउटा खुट्टा कामै नलाग्ने अवस्थामा छ । दीपेन्द्र, सुरेन्द्र र हरि– यी तीनैजनाको डेरा चुनिखेलमा छ । उनीहरु ०७० सालदेखि त्यहाँ बसेका हुन् ।
घट्टेकुलोस्थित प्रज्वलको कोठामा बनाइएको बम अनामनगरबाट घट्टेकुलो चोक आसपास लगेर साँझको समयमा बिष्फोट गराउने योजना भएको प्रहरीले पत्ता लगाएको छ । अनुमानअनुसार, उनीहरुले सशस्त्रका पूर्वआइजिपी सिंहबहादुर श्रेष्ठको घर आसपास लक्ष्यित गर्दै बम बिष्फोट गर्ने योजना बनाएका थिए । तर, टाइमर मिलाउन नजान्दा बनाएकै ठाउँमा पड्कियो । सुकेधारामा पनि भएको त्यस्तै हो । घाइतेहरुले प्रहरीलाई बताएअनुसार, सुकेधारास्थित यातायात कार्यालय (लक्ष्मी बैंक चोक) र फलफूल बजारको बीचमा रहेको पार्किङस्थल खालि भएपछि साँझ बम राख्ने योजना थियो । सुकेधारामा बम बनाउन जान्ने उनै ठाकुर थिए । बाँकी सबै शिकारु हुन् । ठाकुरले भनेजसरी टाइमर सेट नगर्दा बम बिष्फोट भएको अनुमान प्रहरीले लगाएको छ ।
यसबाहेक त्यही दिन थानकोट, चेकपोष्टभन्दा केही पर मोटर साइकलमा बम लैजाँदा लैजाँदै बिष्फोट हुँदा दुईजना घाइते भए । कोटेश्वरबाट ग्वार्कोतिर बम लैजाने क्रममा सशस्त्र प्रहरीले सात जनालाई समातेर प्रहरीलाई बुझायो ।
यी घटनाक्रम हेर्दा विप्लवले मर्न तयार जत्था तयार पारेका छन् भन्ने प्रष्ट हुन्छ । सरकारले यस्ता राजनीतिक सशस्त्र समूहलाई राजनीतिक भाषामा संबोधन गर्ने, वार्ताको पहल गर्ने र समाधानमुखी कार्यशैली अपनाउनुको सट्टा होच्याउने र गालीको भाषा प्रयोग गर्दा एकोहोरो स्वभावका विप्लव झन् बिच्किने खतरा देखिन्छ ।
टिप्पणीहरू