आजको धर्ना स्थगित, पछिका यथावत

आजको धर्ना स्थगित, पछिका यथावत

बुटवलको चौराहादेखि गोलपार्कसम्मको सडक मर्मत तत्काल शुरु गर्न माग गर्दै बुटवलवासीले आह्वान गरेको धर्ना स्थगित गरिएको छ ।

चुरे-तिनाउ संरक्षण समिति बुटवलका नाममा संगठित स्थानीयले सडक मर्मतको मुख्य मागसहित पहिरो नियन्त्रणको समुचित व्यवस्थापन र बस्ती सुरक्षाका लागि दबाब दिन भन्दै आज डिभिजन सडक कार्यालय बुटवलमा धर्ना दिने कार्यक्रम यसअघि नै सार्वजनिक गरेका थिए ।

तर, सडकको भेरिएसन अर्डर स्वीकृत भई ठेकेदारले काम सुरु गर्ने भनेपछि धर्ना कार्यक्रम स्थगित गरिएको समितिका अध्यक्ष कमल गौतमले जानकारी दिए ।

समितिले झुम्सा खानेपानी योजना तत्काल सम्पन्न गर्नुपर्ने, ज्योतिनगर, लक्ष्मिनगर पाखापानी– १, २ र ६ को ताइवान टोल माथिको पहिरो नियन्त्रण गरी बस्ती सुरक्षित गर्नुपर्ने जस्ता माग राख्दै दुई महिने संर्घषका कार्यक्रम घोषणा गरेको थियो । अन्य कार्यक्रमलाई यथावत राख्दै धर्नाको कार्यक्रम स्थगित गरिएको गौतमले बताए ।

समितिले केही दिनअघि नागरिक समाज तथा सरोकारवालासँगको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्रीको कार्यालय र बुटवल उपमहानगरपालिकाको कार्यलयमा समस्या समाधानका लागि ध्यानाकर्षण गराएको थियो ।

घोषित आन्दोलनका कार्यक्रममा पुस ६ गते खानेपानी संस्थानमा र ८ गते प्रदेश वन मन्त्रालयमा धर्ना दिने उल्लेख छ । त्यस्तै, पुस १५ गते नगरपालिकामा र १८ गते मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने समितिको तयारी छ ।

त्यतिबेलासम्म पनि माग पूरा नभए पुस २३ गते एक घण्टा चक्काजाम गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ । समितिले २५ पुसमा नाराजुलुस गर्ने पनि बताएको छ । २६ पुसमा बुटवल बन्दको कार्यक्रम घोषणा गरेको छ ।

टिप्पणीहरू