सुर्खेत विमानस्थल सञ्चालनमा ल्याइयो
धावनमार्ग मर्मतको निम्ति मंसिर १० गतेदेखि पुस ५ गतेसम्म बन्द गरिएको सुर्खेत विमानस्थल आजदेखि सञ्चालनमा आएको छ ।
विमानस्थलको धावनमार्ग मर्मत गर्नुपर्ने भन्दै एक महिनादेखि विमानस्थल बन्द गरिएको थियो । मर्मतको काम सकिएसँगै विमानस्थल सञ्चालनमा आएको नागरिक उड्डयन कार्यालय, सुर्खेतले जनाएको छ ।
विमानस्थल सञ्चालन हुने भएपछि आजका लागि वायुसेवा कम्पनीहरूले काठमाडौं–सुर्खेत टिकट बिक्री खुला गरेका हुन् । बुद्ध एयरले सुर्खेत–काठमाडौं नियमित उडान गर्दै आएको छ । बुद्धले योबीचमा सुर्खेतको विकल्पमा नेपालगन्जमा एक उडान थपेको थियो ।
नेपालगञ्जमा दैनिक पाँच उडान गरिरहेको उक्त कम्पनीले सुर्खेत विमानस्थल बन्द रहेका बेला दैनिक ६ उडान गरेको थियो । धावनमार्ग मर्मतको समयमा पनि सुर्खेत विमानस्थलमा हेलिकोप्टर उडान भने नियमित थियो ।
टिप्पणीहरू