एमसिसीको बिरोध गर्दागर्दै कट्यो लाइन

एमसिसीको बिरोध गर्दागर्दै कट्यो लाइन

प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच पनि प्रतिनिधि सभाको बैठकले आज दुई वटा अध्यादेश पारित गरेको छ ।

सवा १ बजेका लागि बोलाइएको बैठकमा यौन हिंसा विरुध्दका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८’ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ कार्यसूचीमा चढेका थिए । महत्व र चासोका साथ हेरिएको एमसीसी कार्यसूचीमा थिएन ।

सांसद प्रेम सुवालले उक्त दुवै अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्ने कार्यसूची थियो । आज पनि सवा एक नहुँदै एमालेका सांसदहरुले बेलमा पुगेर नाराबाजी प्रारम्भ गरे ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच संसदको कार्यसूचीअनुसार नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई विरोधको सूचना राख्न अनुमति दिए । उनले दुबै अध्यादेश स्थगित गर्न माग राखे ।

एमालेको अवरोध र प्रेम सुवालको अस्वीकारको प्रस्तावका बीच कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले संसदमा अध्यादेश पेश गरे । हाउसमा अध्यादेश अस्वीकृतिका लागि समय पाएका प्रेम सुवालले दुवै पटक एमसीसीको विरोधमा मत राखे ।

एमसीसीको विरोधमा हाउसमा धाराप्रवाह बोल्न थाले । एमसीसी राष्ट्रघाती कदम भएको उनको भनाईको सार थियो । सुवालले हाउसमा एमसीसीकै विपक्षमा बोलिरहँदा तीन मीनेटमै सभामुख अग्नि सापकोटाले माइक काटिदिए ।

प्रतिनिधि सभाको बैठक बुधवार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ ।

टिप्पणीहरू