​सत्ताले जब दुश्मनी मोल्छ

  •  नरेन्द्रजंग पिटर

सर्लाहीमा कुमार पौड्यालको हत्याबारे पुलिस र गृहमन्त्रीका भनाइले पञ्चायत र जनयुद्धकालको सम्झना गरायो । फर्जी मुठभेड र गैरकानुनी हत्या सभ्य समाजका लागि कलंक हुन् । के यो जनयुद्ध र जनआन्दोलनको जगमा बनेको कम्युनिष्ट सरकार हो ? कथनी र करनीमा कति सांगोपांगो मिलेको छ ?  एउटा कम्युनिष्टका निम्ति ‘समाजवाद उन्मुख’ पार्टी र सरकारको विरोध रहर र इच्छा कदापि हैन । 

जनयुद्धले मञ्चमा पु¥याएकाहरू अहिले जनयुद्धको छायाँदेखि तर्सिरहेका छन् । असहमतिलाई तह लगाउन एकातर्फ कानुनको सहारा लिइँदै छ भने आफ्नै अदालतको आदेशसमेत सरकार पालन गर्दै छैन । सरकार अलोकप्रियताको काँडाघारीमा  जेलिँदै जाँदा जति उम्कन खोज्छ त्यति नै काँडाले छियाछिया पारिरहेको छ । सपना देखाउनुका साथै विश्वास पनि जगाउनुपथ्र्यो तर दम्भी शक्ति आलोचना सुन्न र पचाउन सक्दैन । शक्ति कमजोर बन्दै गएको कुरा पनि अन्तिमसम्म थाहा पाउँदैन । सर्पले निल्न थालेको भ्यागुताले सामनेको झिँगा सिकार गरेको देखेका आँखावाल–धृतराष्ट्रहरू त्यसबाट शिक्षा लिँदैनन् । 

आलोचनात्मक चेत शक्तिलाई काउसो हुन्छ । संसारभरका कम्युनिष्टलाई समाजमा समर्थक या विरोधी मात्र हुन्छन् भन्ने ग्रन्थीले सधैँ दीक्षित ग¥यो । बीचमा मध्यमवर्गीय जनताको ठूलो संख्या पनि रहन्छ भन्ने सोचिएन । बुर्जुवा वर्गभित्रको प्रगतिशील शक्तिलाई सदा उपेक्षा गरियो । मध्यमवर्गलाई साथ नलिँदा क्रान्तिको सामाजिकीकरण हुन नसकेको पीडा जताततै रह्यो । अनुशासनका नाममा चल्ने डण्डाले नेतृत्वको आलोचना र सिर्जनात्मक चेत दबाबमा प¥यो । सहयोद्धा वा कार्यकर्ताका एकपटककै पनि सिर्जनात्मक आलोचना कहिल्यै नबिर्सेर राजनीतिक सुरक्षामा समेत असर पारियो । निमित्तकारण तयार पारेर जति गम्भीर खाले साहित्य, जनपत्रकारिता प्रतिबन्धित काल वा विद्रोहकालमा सिर्जना भए त्यति बन्धुजन सत्तामा पुगेका बेला भने संसारकै कम्युनिष्टले गर्न सकेनन् ।

भक्तिकालमा राम्रा लेखक, कवि, कलाकारले पनि आफ्नै गौरवशाली इतिहास थेग्न सकेनन् । विद्रोही चेत र आलोचनात्मक चेत कलमको पहिलो ऊर्जा र जनपक्षधरता हँुदो रहेछ । जनयुद्धकालीन कैयौं लेखक, कवि तथा पत्रकार अहिले कर्कलाका डाँठझंै लल्याकलुलुक परेको देखिन्छ । माओवादीभित्र शान्तिकालमा पुग्दा चरम विवाद भयो । त्यसलाई ऊर्जा दिन तीन पत्रिका तम्सिए । खाँटी आदर्शवादी समयबद्ध, मध्यपन्थी क्रमभंग र नवमाक्र्सवादी रातो झिल्को । एफएम र जनादेशको त सहादत भइसकेको थियो ।  ग्राम्स्कीले संकेत गरेको क्रान्तिपछिको वर्ग रुपान्तरणले उसको हैसियत मात्र फेर्दैन चिन्तन, सोच र सौन्दर्यसमेत फेरिदिन्छ । 

जाँन मिर्डल आपूmलाई साठी वर्षदेखिको सडकको माओवादी भन्ने गर्थे । संसारमा न्यायपूर्ण संघर्ष भएका थलो पुग्थे । सरोकार राख्थे । सामेल हुन्थे । गैरकम्युनिष्ट नोम चोम्स्की, अरुन्धति रोय त चरित्र नायक नै हुन् । तर, नेपालमा सहमतिमा हिम्मत र विमतिमा विवेक प्रयोगको अवस्था कमजोर छ । आग्रहका पर्खाल र पेटका समस्याले बुद्धिजीवी खुम्चिँँदै एनजिओकर्म वा परामर्शदाता या बुद्धि ब्यापारी बन्दा आफ्नै गौरवता पनि आश र त्रासले थेग्न सकिरहेका छैनन् । जनयुद्धबाट जन्मिएको बौद्धिक तप्काको त अझ कन्तविजोग छ । संसद् औकातहीनको जमघट र प्रतिपक्ष आग्रही र निरीह बनेको बेला यो गम्भीर अवस्थाको संकेत हो ।

टिप्पणीहरू