पोल गाडियो, तार टाँगियो तर बिजुली छैन

पोल गाडियो, तार टाँगियो तर बिजुली छैन

अहिले पनि नेपालमा यस्ता थुप्रै जिल्ला छन् जहाँका बासिन्दालाई बिजुली बत्ति बलेको देख्न धौ धौ छ । विभिन्न कारणले दुर्गम जिल्लामा बिजुली पुग्न सकेको छैन । अनेक पहुँच र हतकण्डा प्रयोग गरेर ठेक्का लिने तर ठेकेदारले काम नगर्दा जाजरकोट जिल्लाको विद्युतीकरणमा समस्या देखिएको छ ।

ठेकेदारले तोकिएको समयमा विद्युत लाइन बिस्तार नगर्दा ठूला आयोजनादेखि विद्युतबाट सञ्चालन हुने विभिन्न कार्य अलपत्र परेका छन् । तोकिएको समयमा विद्युत लाइन बिस्तार नहुँदा जाजरकोटमा सामान्य घरायसीदेखि ठूला विकास आयोजनासमेत प्रभावित बनेका हुन् । ११ केभी प्रसारण लाइन बिस्तारका लागि तीन वर्षअघि नै पोल गाडिएको थियो । तर हालसम्म विद्युत विस्तार नहुँदा विकास निर्माणमा समेत ढिलाइ भइरहेको बताइन्छ ।

खलंगा–बाहुनथाना, पाँचकटिया हुँदै कुशे गाउँपालिकाको विभिन्न ठाउँमा विद्युत लाइन बिस्तारको काम तीन वर्षदेखि रोकिएको छ । खलंगा हुँदै नलगाड नगरपालिका र बारेकोट गाउँपालिका जोड्ने मुख्य लाइन नलगाडको कालिमाटीभन्दा अघि बढ्न सकेको छैन । लाइन बिस्तारको जिम्मेवारी लिएका ठेकेदारले समयमा कार्य सम्पन्न नगर्दा अन्य विकास निर्माणमा समेत बाधा पुगेको हो ।

विद्युत अभावकै कारण २० लाख रुपैयाँमा स्थापना गर्न लागिएको प्रि–फ्याब प्रविधिको कोल्डस्टोर स्थापनामा समास्या देखिएको छ । कृषि विकास कार्यालय, जाजरकोटले फलफूललाई सुरक्षित बनाउने गरी प्रि–फ्याब कोल्डस्टोर बनाउन गत भदौमा सहकारी संस्थाबाट प्रस्ताव मागेको थियो ।

कार्यालयले मागेको मापदण्डमा फेजलाइन वा विद्युत सञ्चालन हुने क्षेत्र भनि उल्लेख गरेपछि पहिलो पटकको प्रस्ताव अस्वीकृत भएको हो । कार्यालयले पुनः सोही मापदण्ड राखेर पुस ७ गते दोस्रो पटक सूचना प्रकाशित गरेको छ । दोस्रो पटक पनि फलफूल उत्पादन हुने क्षेत्रमा विद्युत नपुगेकोले असफल हुने आशंका र चिन्ता बढेको कुशे गाउँपालिकाका अगुवा कृषक शक्तिबहादुर ओलीले बताएका छन् ।

’विद्युत नभएको ठाउँमा त्यस्तो प्रस्तावलाई स्वीकृति दिन सकिँदैन’, कृषि विकास कार्यालयका प्रमुख रविन धितालले भने, ‘पहिला पनि प्रस्ताव माग गरिएको रहेछ, तर मापदण्ड नपुगेर काम हुन सकेन । फेरि पनि प्रस्ताव माग गरेका छौँ, मापदण्ड पुगे काम हुन्छ । नत्र बजेट फिर्ता जान्छ ।’

विद्युत अभावमा प्रस्ताव नै फिर्ता जाने सम्भावना देखेपछि कुशे गाँउपालिकाका स्थानीय चिन्तित बनेका हुन् ।

टिप्पणीहरू