दुःख दिने दूतावास, कोरियामा अलपत्र नेपाली लास
इपिएस पास गरेर दक्षिण कोरिया पुगेका पर्वतका अमृत कँुवर फोक्सोको उपचार हुँदाहुँदै सोलको एक अस्पतालमा दुई हप्तामै निधन भयो । शव नेपाल ल्याउन गैरआवासीय नेपाली संघ तथा अन्य संघसंस्थाका अगुवा राजदूतावाससँग परामर्श गर्नतिर लागे । तर, शव बोक्ने कम्पनीले पहिल्यै दूतावासलाई अमृतको शव लान नसक्ने जानकारी दिइसकेको रहेछ । अमृतको शव खतरनाक भाइरसबाट संक्रमित भएको हुँदा प्लेनमा लगे देशलाई नै ठूलो घाटा हुने उक्त पत्रमा उल्लेख छ । यसपछि दूतावास शव बोक्ने कम्पनीकै कुरामा अडिग भयो । दूतावासले कोरियामै अन्त्येष्टि गर्नु अति राम्रो हुनेछ भनेपछि तरंग मच्चियो ।
यही सुझावको आधारमा कार्यवाहक राजदूत किरण शाक्यले अमृतकी श्रीमती तथा विभिन्न संघसंस्थाका अगुवालाई अन्तिम भएको सुनाए । परिवारमा अर्को पीडा र हैरानी शुरु भयो । दूतावासले नै नमानेपछि अरू कुनै उपाय चलेन । तर, आफन्तहरूले शव बोक्ने कम्पनी र दूतावासको कुरामा विश्वास गरेनन् । अन्य समाजसेवीको थप सहयोगमा उपचारमा संलग्न डाक्टरसँग सोधपुछ गरे । शव खतरनाक भाइरसबाट संक्रमित हो कि होइन ? यो शव लाँदा नेपाललाई घाटा हुन्छ कि हुँदैन ? पीडितको कुरा सुनेर डाक्टर अचम्भित भए र दूतावासलाई पत्र पनि लेखिदिए– शव लाँदा केही फरक पर्दैन, कुनै खतरनाक भाइरसबाट संक्रमित लास होइन भनेर । डाक्टरको पत्रले दूतावासको होस उड्यो । उसले लज्जित हँुदै शव नेपाल पठाउने तारतम्य मिलायो । उसले के कारण शव लिन नमानेको हो? यसमा दूतावासका कर्मचारीको संलग्नता हो या होइन केही खुलेको छैन । दूतावासले शव लिन सोही कम्पनीलाई सहमत गरायो । यतिले मात्रै शव बोक्ने कम्पनीको बद्मासी रोकिएन । मंगलबार अमृतको शव नेपाल पुग्यो कार्टुनमा बेरेर ।
सामान्यतया शवलाई बाकसमा राखेर व्यवस्थित तरिकाले लैजानुपर्ने हो । तर, अत्यन्तै लापरबाही तरिकाले शव आएपछि आफन्त आक्रोशित बने । कार्टुनमा बेरेको शवको गन्धसमेत आएको बताइएको छ । यस्तो लापरबाही गर्ने कम्पनीसँग दूतावासले कुनै प्रतिस्पर्धा नगरी किन कारोबार गरिरहेको छ ? यस विषयमा कुनै छानबिन होला कि नहोला ? जिज्ञासा यत्रतत्र छन् । उसो त वैधानिक अवस्थामा रहँदा मृत्यु भएका नागरिकबारे मात्रै नेपाली दूतावासले चासो दिने गरेको छ । केही समयअघि धुव्र भण्डारीको निधन भयो ।
मृत्यु हुनुअगावै गैरआवासीय नेपाली संघकी अध्यक्ष लक्ष्मी गुरुबले भण्डारी विविध कारणले कागजातविहीन भएको र अवस्था अत्यन्तै जटिल भएकाले सहयोग गर्न दूतावासलाई जानकारी गराएकी थिइन् । तर, दूतावास अवैधानिक भन्दै पन्छियो । शव पठाउने कुरामा त झन् पहल गर्ने कुरै भएन । प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईलगायत कोरियामा क्रियाशील सहयोगी मनका धनी नेपालीको अगुवाइमा आर्थिक संकलन गरी शव नेपाल पठाइयो । यसमा ३९ लाख वनजति खर्च भएको थियो । कोरियामा रहँदा पो विविध कारणले अवैधानिक हो तर वैधानिक नेपाली नागरिक हो नि त, यसमा दूतावास जवाफदेही हुनु पर्दैन ?
पाँच हजार अमेरिकी डलरको कोरियन करिब ५० लाख हाराहारीमा हुन आउँछ । शव पठाउँदा कहिले ३८ लाख कहिलेकाहीँ ४० लाखहाराहारी खर्च हुन्छ । बाँकी १० लाख वन अर्थात् नेपाली १ लाखजति रकम बच्ने गर्छ । प्रक्रिया सबै पूरा भएमा एक सातादेखि दुई हप्तामा शव आफन्तलाई बुझाउन सकिन्छ । तर, आर्थिक चलखेलका कारण शव लिने कम्पनी र दूतावासले ढिलासुस्ती र झन्झट दिने गरेको आफन्तको गुनासो छ । दूतावासले नेपाली नागरिकलाई समस्या पर्दा झन् अनेक खालका दुख दिने, काम समयमै नगरिदिने, ढिलासुस्ती गर्ने, समस्यामा गम्भीर नहुने गरेका आरोप छन् । नेपाली दूतावासको कोरियामा ब्यापक गुनासो बढ्दै गएको लामो समय भए पनि सम्बन्धित पक्षले महत्व दिएको छैन । इपिएसमार्फत कोरिया पुगेका नेपाली विभिन्न कारणले कोरियामा मृत्युको सिकार, अंगभंग हुने क्रम बढ्दो छ । नेपाली नेता जाँदा खादा लिएर एयरपोर्ट पुग्ने दूतावासका कर्मचारी नेपालीका दुःखमा भने झन् निर्दयी बन्ने गरेको गुनासो छ ।
टिप्पणीहरू