तराइमै छैन राउतको प्रभाव
सिके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको प्रदेश २ बन्द प्रभावहीन देखिएको छ । प्रदेश २ का छ जिल्लामा आह्वान गरिएको बन्दको प्रभाव रौतहटबाहेकका कतै पनि नपरेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेशका आठवटै जिल्लाका उद्योग कलकारखाना, शैक्षिक संस्थाहरू पूर्ववत् रूपमा सञ्चालनमा छन् । रौतहटमा मात्रै २० प्रतिशत बजार बन्द रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यातायात सबै जिल्लामा सुचारु रहे पनि रौतहटमा २०, सर्लाहीमा २० र धनुषामा ५ प्रतिशत मात्रै प्रभावित रहेको प्रहरीको भनाइ छ ।
सिरहाको औरही गाउँपालिकामा किसानहरूका लागि गहुँको बीऊ स्थानीय किसानलाई वितरण नगरेको र किसानले जबर्जस्ती आफैँ लगेपछि प्रहरीले चारजना किसानलाई पक्राउ गरेको थियो । सो घटनालाई लिएर जनमत पार्टी पछिल्लो चार दिनदेखि आन्दोलनमा छ ।
टिप्पणीहरू