पाँचथरमा सवा लाखको ‘सिक्किमे मदिरा’ नष्ट

पाँचथरमा सवा लाखको ‘सिक्किमे मदिरा’ नष्ट

भारतीय राज्य सिक्किमसँगको सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको एकलाख २५ हजार छ सय ६२ रुपैयाँ मूल्य बराबरको मदिरा नष्ट गरिएको छ ।

सीमा सुरक्षाका लागि खटेको सशस्त्र प्रहरी बलको चिवाभञ्ज्याङस्थित बोर्डर आउट पोष्ट ‘बिओपी’ बाट खटेको गस्ती टोलीले तीन दिनअघि नियन्त्रणमा लिएर करदाता सेवा कार्यालयलाई बुझाएको मदिरा नष्ट गरिएको हो ।

नष्ट गरिएका मदिरामध्ये ६१ हजार ८ सय २४ रुपैयाँ मूल्यको १ सय ६८ बोत्तल सिक्किमे रम, १७ हजार ८ सय १८ रुपैयाँको १ सय ५१ बोत्तल हिट बियर, १५ हजार ८ सय ७६ रुपैयाँको ५४ बोत्तल टाइगर रम, १४ हजार ८ सय ८० रुपैयाँको ४८ बोत्तल सिक्किमे कञ्चन ब्राण्डी रक्सी र १५ हजार २ सय ६४ रुपैयाँको फायरबल नामक २४ बोत्तल रक्सी रहेको सशस्त्र प्रहरीको २ नम्बर बाहिनी हिमशिखर गुल्म फिदिमका प्रमुख (डिएसपी) किशोरकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत शुक्रबार हिँउ परिरहेको बखत सिक्किमबाट नेपालतर्फ अवैध ढंगबाट मदिरा लिएर आउँदै गरेको समूह सीमा सुरक्षा बलबाट खटेका सुरक्षाकर्मीलाई देखेर भागेपछि उक्त परिमाणको रक्सी बरामद भएको हो ।

करिब १५ जनाको समूहमा रहेका उनीहरुलाई हिउँ छिचोल्दै नियन्त्रणमा लिन नसकिएको सशस्त्र प्रहरीको भनाइ छ । उक्त मदिरा करदाता सेवा कार्यालय पाँचथरका निमित्त प्रमुख तुलसादेवी दाहाल नेतृत्वको टोलीले नष्ट गरेको हो ।

भारत र सिक्किमतर्फबाट कर छलेर ल्याइएका अवैध मदिरा पाँचथर, ताप्लेजुङ र इलामका बजारमा खरिद मूल्यभन्दा तीन गुणा महँगोमा खरिद बिक्री हुने गरेको छ ।

टिप्पणीहरू