कोरोनाबाट बागमतीमा धेरैको ज्यान गयो, बित्नेमा जेष्ठ नागरिक बढी

कोरोनाबाट बागमतीमा धेरैको ज्यान गयो, बित्नेमा जेष्ठ नागरिक बढी

कोरोनाबाट ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा रहेको छ । हिजोसम्म बागमतीमा ज्यान गुमाउनेको संख्या चार हजार नौ सय ७२ पुगेको छ ।

सबै प्रदेशमा गरेर हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार पाँच सय ९० रहेको छ । सात वर्षअघि २०७२ सालको महाभुकम्पबाट मारिनेको संख्याभन्दा धेरै अहिले कोरोनाका कारण बितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशगत हिसाबले हेर्दा सबैभन्दा बढी बागमतीमा चार हजार नौ सय ७२, त्यसपछि लुम्बिनीमा एक हजार आठ सय २७ जनाको निधन भएको छ । त्यसैगरी प्रदेश १ मा एक हजार ६ सय ७१ र गण्डकीमा एक हजार तीन सय ८२ जनाको ज्यान गएको छ ।

उता प्रदेश २ मा सात सय ७४, सुदूरपश्चिममा चार सय ८७ र कर्णालीमा चार सय ७७ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

नेपालमा कोरोना संक्रमण भएकामध्ये १ दशमलब ४ प्रतिशतले ज्यान गुमाएको देखिन्छ । भारतमापनि संक्रमितमध्ये १ दशमलब ४ प्रतिशतले ज्यान गुमाएका छन् ।

कोरोनाबाट निधन हुनेमा सबैभन्दा बढी वृद्धवृद्धा छन् । ६० वर्ष उमेरभन्दा माथिका दुई हजार चार सय ३२ जनाको ज्यान गएको छ ।

त्यस्तै, ५० देखि ५९ वर्षसम्मका दुई हजार दुई सय ३९ जना, ४० देखि ४९ वर्षसम्मका एक हजार छ सय ३५ जना, ३० देखि ३९ वर्षसम्मका नौ सय ४१ जना र २० देखि २९ वर्षसम्मका तीन सय ६१ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाबाट एक सय ६ बालबालिकाको पनि ज्यान गएको छ । जसमा ९ वर्षसम्मका ४९ जना र १० देखि १९ वर्षसम्मका ५७ जना छन् ।

राजधानी उपत्यकाका तीन वटै जिल्ला अझै पनि कोरोना संक्रमणको हटस्पट नै छन् । हिजोसम्म काठमाडौंमा सात सय ८६, भक्तपुरमा पाँच सय चार र ललितपुरमा छ सय तीन सक्रिय संक्रमित छन् ।

टिप्पणीहरू