‘देउवा दाइलाई हार्दिकताको सबक सिकाउने रोल्पाका अमर दाइ’
नेपाल काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आफू साझा सभापति भएको बताएका छन् ।
काँग्रेस प्रदेश निर्वाचन समितिद्वारा भैरहवामा आयोजित नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा प्रमाणपत्र प्रदान समारोहमा बोल्दै नेता पुनले भने, ‘प्रतिस्पर्धाको क्रममा एउटा समूहबाट चुनाव लडे पनि निर्वाचित सम्पन्न भइसकेपछि सबैको साझा सभापति हुँ।’
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर प्रक्रिया भएको बताउँदै त्यसपछिको भाइचारा र हार्दिकताले सिंगो काँग्रेसको हित गर्ने दाबी गरेका छन् ।
सभापति पुनले आफूसँग प्रतिस्पर्धा गरी भारी मतले हारेका अर्का नेता भरत शाहलाई प्रदेश समितिमा दोस्रो वरियता दिने निर्णयसमेत गरिसकेका छन् ।
केन्द्रीय सभापति शेरबहादुर देउवाले सभापतिका प्रतिस्पर्धी शेखर कोइरालाको वरियतालाई शीर्ष नेताहरूको सूचीमा अन्तिमतिर थन्काएका बेला प्रदेश सभापति अमरले भने आफूपछि प्रतिस्पर्धी शाहलाई राख्ने स्पष्ट पारेका छन् ।
देउवानिकट एक केन्द्रीय सदस्य भन्छन्, ‘देउवा दाइलाई हार्दिकताको सबक सिकाउने अमर दाइलाई शुभकामना छ । नेताहरूले गर्नुपर्ने नै यस्तै हो तर क्यार्नू जान्दैनन् ।’
लुम्बिनी काँग्रेसलाई बलियो, संगठित र गतिशील बनाउन नेता तथा कार्यकर्ताको अहम् भूमिका हुनुपर्नेमा उनले जोड दिए ।
टिप्पणीहरू