मदिरा तन्काउनेलाई महीको के महŒव ?
- संकेत कोइराला
पारिवारिक जीवन व्यतित गरिरहेका एक वृद्धलाई वैराग्य उत्पन्न भयो । उनले छिमेकी गाउँको घनघोर जंगलमा गएर बाँकी जीवन तपस्यामा बिताउने निधो गरे । सम्पत्तिका नाममा दुईवटा लँगौटी मात्र लगेका थिए । नुहाएर एउटा लँगौटी सुकाउँथे । सुकेको लँगौटी भोलि लगाउँथे । एकदिन लँगौटी उठाउन के गएका थिए, देख्छन् त मुसाले काटेर ध्वस्त बनाएछ । लँगौटी जोगाउने उपायस्वरूप ती नवतपस्वीले बिरालो पाल्ने निर्णय गरे । नजिकै गाउँबाट बिरालोको बच्चा ल्याए । दिनैपिच्छे गाउँ गएर बिरालाको लागि दूध ल्याउँथे । दिनैपिच्छे दूधका लागि धाउँदा, धाउँदा गाउँलेलाई दुःख भएको अनुभव गर्दै विचार गरे, ‘बिरालोकै लागि भए पनि एउटा गाई पाल्नुप¥यो ।’ गाई ल्याए । गाउँलेले तपस्वी बिरामी परेको खण्डमा गौमाताको बिजोग हुने सम्झेर विवाह गर्न दबाब दिए । एकाध दिन त टारे । नभन्दै बिरामी परे । समय बित्दै गएपछि गाउँलेको सल्लाह ठीकैजस्तो लाग्यो । एकदिन गाउँलेले खोजिदिएकी महिलासँँग विवाह भयो । केही वर्षमै सन्तान भए । तपस्वी वृद्ध थिए । एकदिन जीवनको अन्तिम अवस्थामा पुगे । गाउँलेले घेरेर राखे । गाउँलेले आग्रह गरे, ‘जीवनको उत्तराद्र्धमा हामीलाई केही दिव्य सन्देश दिएर जानुस् ।’ वृद्ध तपस्वीले अन्तिम सास फेर्नुअघि कानमा सुसाउँदै भने, ‘जीवनमा अरू सबथोक गर्नू, बिरालो पाल्ने काम कदापि नगर्नू । बिरालोबाट शुरु भएको मेरो लोभ आखिर जुन चीजको मुक्तिका लागि तपस्या गर्न आएको थिएँ, त्यही दलदलमा फसें ।’
लँगौटीवाल वृद्धले झैं केपी र पिकेले एकदिन कबुल गर्ने दिन आउनेछ, ‘बरु प्रतिपक्ष सही तर दुई तिहाइ जनमतप्राप्त सरकारको मुखिया कहिल्यै बन्नु नपरोस् ।’ हेर्दा केपी–पिके प्रालि सर्वशक्तिमान देखिए पनि नेपालको इतिहासमा यति लाचार सरकार विरलै थियो । दुई तिहाइ वास्तवमा शक्ति नभएर अंक रहेछ भन्ने प्रमाणित हुँदै गएको छ । दुई तिहाइको सतिसालको किलो पूर्वराजा ज्ञानेन्द्रको एउटा वक्तव्यले हल्लिन्छ । शेरबहादुर देउवाको तीन मिनेट कटेर चार मिनेट पुग्न नसकेको नबुझिने भाषणले ओलीका उखान तुक्का हिउँ जमेझैं जम्छन् । नेपालमा सबैभन्दा सजिलो काम भनेको मन्त्री हुनु हो । जसका लागि कुनै योग्यता चाहिँदैन । यति सजिलो पदलाई समेत न्याय गर्न सक्ने क्षमता क्रान्तिकारीमा देखिएन । दुई÷चार वटा रातो किताबका पातो र नेताले बोलेका जार्गन कण्ठ गरेर संसारमा भएका सबै राता टालालाई क्रान्तिको प्रतीक देखी मुठी कस्नेबाहेक उनीहरूमा खासै योग्यता छैन । सिक्ने इच्छा राख्नु क्रान्तिको विसर्जन हो भन्ने बुझाइ छ । जीवनमा असफल जेटिएको जागिर खाएका जनार्दन शर्मालाई सचिवले बोलेको पच्दैन । जेटिए हुँदा हाकिमले हप्काएको तुस अहिले झार्न चाहन्छन् । सीपका नाममा कुट्ने र काट्नेबाहेक अरू नजानेका मातृका यादवलाई आफू अक्षम भएको भन्न लाज लाग्छ, बरु सचिवलाई दोष देखाएर निर्दोष हुने लाजमर्दो प्रयास गर्छन् । दुई÷चारबाहेक मन्त्रिपरिषद्का धेरै सदस्यलाई राज्य सञ्चालनको दायित्व नै थाहा छैन । माओवादीका मन्त्रीलाई सरकार पिकनिक हो । उनीहरू गरिब जनताको आवाजमा आफू धनी हुन चाहन्छन् । सन्तानविहीन केपी ओलीलाई नजन्माएका सन्तानलाई आफू बाँच्दै नाना, खाना र छानाको बन्दोबस्त गरिदिने भोक छ ।
चुलोको अर्थशास्त्र कोमामा पुग्न लागेको यो घडीमा सिंहदरबार गाउँ सारेको जस लिने प्रतिस्पर्धामा उत्रिएका सरकारका अभियन्ताहरूको अवस्था नाजुक बन्दै गएको छ । जसले जतिसुकै लामो दाम्लो बाटेको दम्भ गरे पनि जब गाँठो पार्ने बेलामा सन्तुलन मिल्दैन भने त्यो तोरणमा अनुवाद हुन पुग्छ । हेक्का रहोस्, जतिसुकै पवित्र भए पनि तोरण गाईबस्तु बाँध्ने काममा उपयोग हुँदैन । आर्थिक समृद्धिका स्थायी अन्तरामा ठूलाबडा मुखियाहरूको अखण्ड प्रवचन चलिरहँदा गरिबमाथि थाल खाऊँ कि भात खाऊँको अवस्था ल्याउने छाँट देखिँदै छ । सबैको कान पवित्र हुने गरी घोषणापत्रमा हल्ला गरे पनि त्यो झुटको पुलिन्दामा सीमित बन्यो । अस्पताल, शैक्षिक प्रतिष्ठान वैधानिक डकैतीको सुरक्षित स्थल हुनबाट रोक्ने कामको श्रीगणेश गर्ने तागत कसैमा देखिएन ।
०१५ सालमा कांग्रेसले प्रस्तुत गरेको घोषणापत्रमा भनिएको छ, ‘प्रशासन यन्त्रको भ्रष्टाचार एवं अदालतमा व्यापक रूपमा फैलिएको घुसखोरीबाट जनता पीडित छन् । प्रशासनयन्त्र जनताको भलाइका निम्ति हो । तर जनताको शोषण गर्नको निमित्त यसको उपयोग भइरहेको छ । शासन भार लिनेबित्तिकै घुसखोरी एवं भ्रष्टाचारलाई कांग्रेसले निर्मूल पार्नेछ । भ्रष्ट कर्मचारीलाई कडा सजाय र इमान्दार एवं कर्तव्यपारायण कर्मचारीलाई कदर गर्ने कांग्रेसको सरकारले प्रतिज्ञा गर्दै छ ।’ आज ६ दशकपछि पनि कांग्रेसको घोषणापत्रको सारांश यही व्यहोरासँग मेल खान्छ । कांग्रेसभित्रको गुठीतन्त्र शेरबहादुरका पालामा आउँदासम्म झन् कसिलो बन्दै गएको छ ।
आन्दोलनले पुरानो व्यवस्थालाई मिल्काएपछि त्यो व्यवस्थाका सारथिहरू दण्डित हुनुपर्छ । उनीहरू सत्ता सञ्चालनका लागि किन नालायक भए ? त्यो प्रश्नको उत्तर नयाँ आउनेका गतिविधिले दिनुपर्छ । तर, परिवर्तन आएको खुशीमा सिन्दूरे जात्रा मनाएर निधारबाट सिन्दूर मेटिएको हुँदैन, अघिल्ला शासकहरूसँगै सहभोज गरिँदा हालसम्म पाएको भनिएका सबै उपलब्धि गिजोलिएका छन् । यसैको परिणाम एउटा आन्दोलनमा जुर्मुराएकाहरू अर्को आन्दोलनका लागि ओइलिने गरेका छन् ।
६ दशकअघि एशियाका नेपाल, भारत, चीन, दक्षिण कोरिया, भियतनामलगायत जनताको प्रतिव्यक्ति आय हाराहारीजस्तै थियो । तर, तिनै छिमेकी मुलुकका जनताको प्रतिव्यक्ति आय हजारौं डलर भइसक्दा नेपाली जनता भने निर्धो अंकमा खुम्चिन विवश छन् । एकातिर प्रजातन्त्रको आन्दोलनमा तीनपुस्ताको समय गुज्रिसकेको छ भने अर्कातिर हजुरबा पुस्ताको समकालीन राजनीतिमा वर्चस्व छ । जुन समयको माग होइन । अघिल्लो पुस्तालाई सम्मान, नयाँ पुस्तालाई अवसर अहिलेको आवश्यकता हो ।
राजनीतिमा नैतिक धरातलको सिँढीबाट झरेपछि त्यो व्यक्ति जनताको आँखाबाट कहिल्यै माथि उठ्न सक्दैन । हो, अपवादका रूपमा नियम–कानुनको सहारामा कतिपय राजनीतिक व्यक्ति निष्कलंक बनेर देखा परेका छन् । यद्यपि, कागजमा सफाइ पाए पनि जनताको मन मस्तिष्कमा उनीहरूको छवि कालाको कालै छ । त्यो छवि मेटाउने इरेजर सानो साधनाबाट पाउने इच्छा कसैले नगरे हुन्छ ।
अरूलाई कदर गर्न जानियो भने आफू पनि त्यसको लायक होइने हो । भएको संस्कार मेटाउने, नयाँ पनि थप्न नसक्ने विचित्रको मनोविज्ञानमा राजनीति कुदिरहेको छ ।
जँड्याहालाई मही मन पर्दैन । दासताबाट नउठेको मानसिकताका नेता र इन्द्रेणी रंगका बुद्धिजीवी भएको देशमा इतिहास कुन बाटोमा हिँड्छ ? भविष्यवाणी गर्न मुस्किल छ । कार्यकर्ता त नेताको इशारामा चल्दैन भने इतिहास कसरी हिँड्छ, कसलाई के थाहा ?
रामायणकालीन इतिहास हेर्ने हो भने पक्षीराज जटायुले मृत्युको अन्तिम स्थितिमा रहँदारहँदै पनि रावणले भिक्षुको भेषमा पुष्पक विमानमा राखी सीतालाई हरेर लंका लगेको गुप्त खबर रामलाई दिँदा त्यो सूचना नै रामकथाको मूल सूत्र बन्यो । त्यति मात्र होइन, रावणलाई नाभीमा बाण लागेपछि मात्र उसको अन्त्य हुन्छ भन्ने गुह्य रहस्य विभीषणले नखोलिदिएको भए सायद रामको बाण त्यसै निष्फल हुन बेर लाग्ने थिएन । नेतृत्वमा रहेकाहरूले बुझ्नुपर्छ, राज्य सञ्चालनमा सूचना सबैभन्दा बढी शक्तिशाली हुन्छ । आज कुनै देश समृद्ध छ भने त्यसको पहिलो कारण हो– सूचनामा पहुँच । सत्तामा बस्नेहरूले अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले भनेको एउटा सानो कुरा मनन गर्नु उचित छ, ‘सत्ताको यात्रा भनेको शेरको सवारीजस्तै हो बसिरहँदा पनि गलेर हैरानी, झर्दा आपैंm शेरको शिकार होइने ।’
अमेरिकी राष्ट्रपति अब्राहम लिंकन जातीय दासता उन्मूलन गरेबापत संसारमा प्रसिद्ध भए । अमेरिकाको राष्ट्रिय अखण्डतालाई विखण्डन हुनबाट जोगाउँदा लाखौं मरे । तैपनि, उनले दक्षिणी अमेरिकी राज्यलाई छुट्टिन दिएनन् । यसैका लागि श्रीलंकामा ७० हजार नागरिक बलिवेदीमा चढिसकेका छन् । भारत र पाकिस्तानबीच बाँडिएको कास्मिरमा सन् १९४९ मा नेहरूले राष्ट्रसंघमा त्यहाँका जनताको आत्मनिर्णयको अधिकार मान्ने भनेर जनमत संग्रह स्विकारे पनि त्यहाँ मर्ने क्रम रोकिएको छैन । विश्वमा यस्ता मुलुक छन् जहाँ सात पुस्ता बस्दा पनि नागरिकता दिइन्नँ । युएईका सम्पूर्ण नागरिकमध्ये १५ प्रतिशत मात्र स्थानीय हुन् । यी सबै दृश्यले भन्छ, ‘देशलाई चौताराको मादल बनाउनेको भविष्य कदापि सुरक्षित हुँदैन ।’
टिप्पणीहरू