अर्घाखाँचीको एउटा गाउँमा सात करोड बढीको सुन्तला
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा यो वर्ष सात करोड रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन भएको छ । पाणिनी गाउँपालिकाको पणेना, खिदिम, पोखराथोक र पटौटीमा गरी यो वर्ष सात करोडभन्दा बढीको सुन्तला उत्पादन भएको हो ।
पाणिनी गाउँपालिका–१ सिम्लेमा करिब ७० घरले व्यावसायिक सुन्तला खेती गरेका छन् । तीमध्ये हरेक घरले यो वर्ष सुन्तला बेचेरै कम्तीमा १० लाखका दरले आम्दानी गर्ने अगुवा कृषक रेवतीप्रसाद पौडेलले बताए ।
गत वर्ष प्रतिकेजी ६० रुपैयाँ हाराहारीमा सुन्तला बेचेका किसानले यो वर्ष भने सुन्तला सिधै बजारमा पठाएका छैनन् । प्रदेश सरकारको सहयोगमा गत वर्ष पोखराथोकमा निर्माण गरिएको शीतभण्डारमा सुन्तला भण्डारण गरिएको छ ।
‘करिब एक सय ५० मेट्रिक टन सुन्तला शीतभण्डारमा भण्डारण गरिएको छ । अझै करिब एक सय मेट्रक टन जति टिप्न बाँकी होला,’ सिम्लेका अगुवा कृषक पौडेलले भने, ‘बजारभाउ राम्रो भएपछि बजारमा पठाउने सोच बनाएका छौं ।’
सिम्लेमा सुन्तला उत्पादन गरिरहेका किसानहरूको प्रोत्साहनका लागि लायन्स क्लब इन्टरनेसनल ३२५ बी १ नेपालले लायन्स नमूना उद्यमी गाउँको रूपमा यो वर्षदेखि सहयोग गरेको छ ।
पाणिनीको साथै मालारानी गाउँपालिका–८, हंशपुरको साकिन्धारामा पनि व्यावसायिक सुन्तला खेती हुने गरेको छ । तर अहिले सुन्तला टिप्ने क्रम चलिरहेका कारण कति उत्पादन भयो ठ्याक्कै भन्न सकिने अवस्था छैन ।
टिप्पणीहरू