गाँजाको कफी, चकलेट र कपडा बनाऔँ : स्वास्थ्यमन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले गाँजाको व्यावसायिकतालाई जोड दिन सके आर्थिक समृद्धि हुने बताउनुभएको छ । उहाँले आफूले निरन्तर गाँजाको वैधानिकताका लागि पैरवी गरिरहेको बताउँदै गाँजालाई लागूऔषधको रुपमा नभई स्वास्थ्यबद्र्धक हिसाबले प्रयोग गर्न सकिनेमा जोड दिँदै आएको उल्लेख गर्नुभयो ।
‘गाँजाको चकलेट, कफी, कपडा बनाएर बेच्न सकिन्छ’, उहाँले गृहजिल्ला मकवानपुरको मनहरीमा आयोजित नेकपा एकीकृत समाजवादीको गाउँ भेला तथा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भन्नुभयो, ‘तर गाँजाको खेती गर्यो, घरगाउँले लडेर मर्ने पखेराहरुमा पनि बाटो बनाउन थाल्यो भनेर केही मान्छेहरुले बिरोध गरिरहेका छन् ।’
राक्सिराङ गाउँपालिकामा पर्ने परेवाभीर खण्डमा सडक निर्माण गर्न थाल्दा त्यसको पनि बिरोध गरिएको भन्दै उहाँले भन्नुभयो, ‘चेपाङका छोराले लडेर मर्नुपर्ने स्थिति अन्त्य गरौं भनेर काम गर्न खोज्दा त्यतिखेर एमालेभित्रकै नेताहरुबाट चेपाङहरु मरेर केही हुँदैन भन्ने खालका आशय व्यक्त भएका घटनाहरु सम्झाउन चाहन्छु ।’
उहाँले अहिले पनि सूर्य चुनाव चिन्हको नाममा एमालेले राजनीति गरिरहेको भन्दै सूर्य चुनाव चिन्हको कुनै अर्थ नरहेको बताउनुभयो । आफूले विगतमा माछा चुनाव चिन्हमा चुनाव लडेको, चितवनका दिवंगत नेता जेपी भेटवालले छाता चुनाव चिन्हमा चुनाव लडेको सम्झँदै नीति, विधि र विचारले मात्रै पार्टी बलियो बन्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य ललित बस्नेत, केन्द्रीय सदस्य गोमा तिमिल्सिना, राजाराम स्याङ्तान, प्रदेश सदस्य गोविन्दराम चेपाङ, जिल्ला अध्यक्ष श्रीधर पोखरेल, सचिव विष्णु दाहाल, मनहरी इञ्जार्ज भूमिनन्द अर्याल, सहइञ्चार्ज मनिला विष्ट, जिल्ला सचिवालय सदस्य वीरेन्द्र डिसी, मनहरी अध्यक्ष नारायण श्रेष्ठले बोल्नु भएको थियो । कार्यक्रममा कलाकारहरुले सांगीतिक प्रस्तुती समेत गरेका थिए ।
यसैबीच नारायण श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका पार्टी कमिटी घोषणा गरिएको छ । कमिटी पदाधिकारी र सदस्यलाई प्रमुख अतिथि खतिवडाले सपथ गराउनु भएको छ । त्यसैगरी देवकी ढुंगानाको अध्यक्षतामा ५३ सदस्यीय अखिल नेपाल महिला संघ मनहरी गाउँ कमिटी र ५ नम्बर वडा कमिटी पनि घोषणा गरिएको छ ।
टिप्पणीहरू