मादल र बाँसुरी, वृद्धवृद्धाको साथी

मादल र बाँसुरी, वृद्धवृद्धाको साथी

अर्घाखाँचीका वृद्धवृद्धालाई दिन बिताउन कुनै समस्या छैन । घरका सबै जना काममा गए पनि उनीहरुलाई के गरेर दिन बिताउने भन्ने चिन्ता हुन छाडेको हो । मादल र बाँसुरीलाई दिन कटाउने साथी बनाएपछि उनीहरुलाई दिन बिताउन सहज भएको हो ।

युवाहरु भविश्यको खोजीमा सहर पसिरहँदा वृद्धाश्रम जस्तै बनेको गाउँहरूलाई केही रमाइलो तथा उल्लासमय बनाउनको निम्ति भूमिकास्थान नगरपालिकाले भजनकीर्तन सामग्री हस्तान्तरण गरेपछि सबैजना दंग परेका छन् ।

‘अब त गाउँ रमाइलो हुन्छ,’ नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका अध्यक्षसमेत रहेका खिमबहादुर केसीले भने, ‘दिनभर कहाँ पुगेर समय कटाउने भन्ने चिन्ता हुन्थ्यो, अब केही सजिलो हुने भयो ।’

नगरपालिकाले हरेक वडामा वडास्तरीय ज्येष्ठ नागरिक समन्वय समिति गठन गरी बाँसुरी, मजुरा, मादललगायतका सामग्रीहरू वितरण गरेपछि दिनभर टोलाएर बस्ने वृद्धवृद्धाहरूमा केही खुशीको राहत पुग्ने अपेक्षा नगरपालिकाले लिएको छ ।

‘गाउँहरूमा बूढाबूढी मात्र हुनुहुन्छ । दिनभर कहाँ गएर भुल्ने भन्ने समस्या छ,’ भूमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले भन्नुभयो, ‘एक्लै हुँदा वृद्धवृद्धामा आउन सक्ने स्वास्थ्य समस्या कम गर्नका यी सामग्रीहरू प्रदान गरिएको हो ।’

टिप्पणीहरू