कोरोनाले माओवादीमा पदाधिकारी चयन अन्योल
महाधिवेशनपछिको पहिलो बैठककै निरन्तरताका रुपमा पर्सि २५ गतेका लागि बोलाइएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । केन्द्रीय कार्यालयका नेता तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि बैठक स्थगित गरिएको हो ।
हालै सम्पन्न माओवादी केन्द्रको आठौँ महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो । महाधिवेशन सकिएको भोलिपल्ट बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गर्दै २५ गतेसम्मका लागि स्थगित गरिएको थियो ।
बैठकले प्रचण्डलाई निर्विरोध अध्यक्ष बनाए पनि अन्य पदाधिकारी भने चयन गर्न सकेको थिएन । २५ गतेको बैठकले पदाधिकारी चयन गर्ने भनिएको थियो । तर, बैठक स्थगित भएसँगै अब पदाधिकारी चयनमा ढिलाई हुने भएको छ ।
त्यस्तै, केन्द्रीय सदस्यहरुको मनोनयन पनि प्रभावित भएको छ । माओवादीको विधानमा २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ । महाधिवेशनबाट २३६ जना मात्र निर्वाचित भएकाले बाँकी सदस्य मनोनयन गरिने बताइएको थियो ।
टिप्पणीहरू