थप २४ जनामा ओमिक्रोन पुष्टि, सतर्क र तयारी अवस्थामा रहन निर्देशन
नेपालमा थप २४ जनामा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएको छ । पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएका सबै २४ वटा नमूनामा ओमिक्रोन पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि उक्त कुराको पुष्टि गरेको छ । पुस महिनामा संकलित कोरोना भाइरसका १ हजार १ सय ४६ पोजेटिभ नमूनाको स्क्रिनिङ गर्दा २ सय ५० वटामा एस जिन नेगेटिभ आएको थियो ।
मन्त्रालयका अनुसार एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो ।
भेरिएन्टले गर्दा हुन सक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ । उपचारका लागि आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामाग्रीहरुको यथेस्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिनुभएको छ ।
नेपालमा पहिलोपटक गत मंसिर २० गते दुई जनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू मंसिर ३ गते दक्षिण अफ्रिकाबाट आएका थिए ।
टिप्पणीहरू