कन्ट्याक्ट ट्रेसिङमा परेका अध्यक्ष ओली जिल्लातिर फटाफट
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सो पार्टीको उपल्लो तहका दर्जनौं नेतालाई कोरोना संक्रमण पुष्टि भएपछि अन्य राजनीतिक दलका शीर्ष नेताहरू पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
प्रचण्डसहित सत्ता गठबन्धनको बैठकमा बसेका नेता र प्रधानमन्त्रीसँग भेटेका प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।
गत शुक्रवार प्रचण्ड सत्ता गठबन्धनको बैठकमा सहभागी हुनुभएको थियो । बालुवाटारमा बसेको उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा आवद्ध पाँचै दलका शीर्ष नेताहरु सहभागी भएका थिए ।
बैठकमा प्रचण्डसहित प्रधानमन्त्री देउवा,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,काँग्रेस नेता रामचन्द्र पौडेल,जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरु बसेका थिए ।
प्रचण्डसहितको बैठकमा बस्नुभएका प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग पनि भेट गर्नुभएको थियो । संसद्को अवरोध हटाउनेबारे ओलीलाई मनाउन देउवाले नै पहल गर्नुपर्ने गठबन्धन बैठकको सुझावपछि ओलीलाई भेट्न देउवा बालकोट पुग्नुभयो ।
प्रचण्डलाई कोरोना संक्रमण भएको थाहा पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बस्नुभएको छ । गठबन्धन बैठकमा सहभागी अन्य नेताहरु पनि हिजोदेखि आइसोलेसनमा छन् ।
तर, देउवासँग भेटेपछि कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएका ओली भने आइसोलेसनमा बस्नुभएको छैन । बरु, गृहजिल्ला झापाको पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन उहाँ त्यसतर्फ जाने बुझिएको छ ।
झापाबाट संखुवासभा जाने कार्यक्रम रहेको छ । हालै सम्पन्न पार्टीको आठौँ महाधिवेशनपछि प्रचण्डसहित माओवादी केन्द्रका दर्जनौँ नेतालाई कोरोना भएको थियो ।
तर, कोरोना परीक्षण नगर्दै प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरुसँग राजनीतिक भेटघाट गरेकाले शीर्ष नेताहरु सबै संक्रमणको जोखिममा परेका हुन् ।
टिप्पणीहरू