बतासबारे कमल थापाको स्पष्टोक्ती
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले बतास समूहका मालिक आनन्दराज बतासको चरित्र हत्या गरिनु ठिक नहुने बताएसँगै यी दुईबीचको सम्बन्धबारे चर्चा सुरु भएको छ ।
नारायणहिटी दरबार संग्रहालयभित्र बतास समूहले रेष्टुरेन्ट खोल्न लागेको र त्यसका लागि निर्माणाधीन भवन पर्यटनमन्त्री प्रेमकुमार आलेको आदेशमा भत्काइएपछि आमजनमत बतासको विपक्षमा छ । बतास समूहले शक्तिका आडमा देशको विभिन्न स्थानमा ठेक्का पारेर काम गरिरहेको सार्वजनिक भइरहेका बेला राप्रपा पूर्वअध्यक्ष थापा भने उनको बचाउमा उत्रिएका छन् ।
बतास समूहका अध्यक्ष आनन्दराजविरुद्ध अहिले चौतर्फी आक्रमण भइरहेको भन्दै थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आनन्दराज बतासविरुद्ध अहिले चौतर्फी हमला भइरहेको छ । भित्री रहस्य थाहा छैन । मैले चिनेको आनन्दराज बतास सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएका मिलनसार व्यक्ति हुन् । उनीबाट कानुन उल्लंघन भएको छ भने कानुनी कारबाही गरिनुपर्छ । चरित्रहत्या गरिनु ठिक होइन ।’
सत्ता र राजनीतिक संरक्षणको सिँढीमा नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्नेदेखि थुप्रै विवादास्पद ठेक्का हात पारेका बतासबारे समाचार प्रकाशित भइरहेका बेला थापाले गरेको सार्वजनिक धारणाले धेरैको ध्यान तानेको छ । आखिर किन थापाले बतासको पक्ष लिए त ?
“पशुपति क्षेत्रमा बतास समूहले बनाएको भवनमा थापाले सम्पर्क कार्यालय खाेलेका थिए ।”
बतासबाट कानुन उल्लंघन भएको भए कारबाही गरिनुपर्ने तर चरित्रहत्या गरिनु ठीक नहुने थापाले भनेका छन् । साथै उनले बतास समूहका मालिकलाई आफूले पहिलेदेखि नै चिनेको पनि बताएका छन् । राप्रपाका एक नेताका अनुसार थापा र बतासबीच हार्दिकतापूर्ण सम्बन्ध छ ।
राप्रपा स्रोतका अनुसार बतासले थापालाई राम्रै गुन लगाइदिएका छन् । जसकारण अहिलेसम्म अरु कुनै पनि दलका नेता चुईंक्क नबोल्दा थापा भने बतासको बचाउमा उत्रिएका हुन् ।
गत मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा समेत थापालाई बतासले आवश्यकताअनुसारको सहयोग गरेको उक्त स्रोतको दाबी छ । पशुपतिनाथ परिसरमा बतास समूहले होटल सञ्चालन गरेको भवनमा थापाले सम्पर्क कार्यालय नै खोलेका थिए । भृकुटीमण्डपमा महाधिवेशन गरिने भएपछि पशुपति आउजाउमा सवारी जामसहितका समस्या हुने भएपछि थापाले आफ्नो सम्पर्क कार्यालय पछि दरबारमार्गको याक एण्ड यती होटेलमा राखेका थिए ।
तर, बतास समूहको कुनैपनि खालका सहयोगबारे पूर्वअध्यक्ष थापाले केही खुलाएका छैनन् । खुलाउने कुरा पनि भएन । उनले बतासलाई सामान्य अवस्थाबाट संघर्ष गर्दादेखि नै चिनेको भनेर आफ्नो पुरानो सम्बन्ध रहेको भने स्वीकारेका छन् ।
टिप्पणीहरू