उदयपुरमा मेडिकल कलेजको माग फेरि अघि बढ्यो
गाईघाटमा मेडिकल कलेज स्थापनाको माग गर्दै उदयपुरका जनप्रतिनिधिको टोली डेलिगेसनमा गएको छ । उदयपुरमा मेडिकल कलेज खोल्न तीन वर्ष अघिदेखि भइरहेको प्रयासस्वरुप त्रियुगा नगरपालिकाका नगर प्रमुख वलदेव चौधरी, चौदण्डीगढी नगरपालिका नगर प्रमुख खगेन्द्र राईसहितको १७ जनाको टोली काठमाडौँ आएको हो ।
तीन वर्षअघि विज्ञसहितको स्वास्थ्य मन्त्रालयको टोलीले उदयपुरमा मेडिकल कलेज खोल्न सम्भाव्यता अध्ययन गरेको थियो । त्यसबेला कलेजका लागि स्थलगत अध्ययन समेत भएको थियो ।
नगर प्रमुख चौधरी नेतृत्वको डेलिगेसन टोलीले उदयपुर १ का सांसद एव परराष्ट्रमन्त्री डा. नारायण खड्का र विभिन्न मन्त्रालयका सरोकारवालासँग भेट गरेको छ ।
नगर प्रमुख चौधरीले यसअघि नै डा. खड्काको निवासमा सर्वपक्षीय सहभागितामा बैठक बसी गाईघाटमा मेडिकल कलेज खोल्न आवश्यक जग्गा व्यवस्थापनदेखि बजेट माग गर्नेसम्मको विषयमा छलफल गरेको मन्त्री खड्काको सचिवालयले जानकारी दिएको छ ।
यस्तै मन्त्री खड्कासँग त्रियुगा र चौदण्डीगढी नगरपालिकामा मुख्य समस्याको रुपमा रहेको ऐलानी र अव्यवस्थित भूमि व्यवस्थापन गर्ने गरी कामअघि बढाउने सम्झौतासमेत भएको नगर प्रमुख चौधरीले बताउनुभयो । त्यसका लागि मन्त्रालयबाट आवश्यक बजेट माग गर्ने र बाँकी नगरपालिकाले व्यहोर्ने सम्झौता भएको छ ।
नगरपालिकाका विभिन्न वडामा आवश्यक पुल, सडक, खानेपानी र विद्युतीकरणलगायत विषयमा छलफल गरी योजना निर्माण र सञ्चालनका लागि बजेट माग गर्ने निर्णय भएको छ । यो वर्ष मेडिकल कलेज निर्माणका लागि जग्गाको टुंगो लगाउँदै संघीय सरकारमार्फत आवश्यक बजेट माग गर्ने निर्णय पनि भएको छ ।
टिप्पणीहरू