​राष्ट्रपति गलत ! उहाँमाथि खनिने तप्का चैं के नि !

  • लक्ष्मी पौडेल

संविधान दिवसको दिन, मुलुकले उत्सव मनाइरहेका बेला राष्ट्रिय सभागृहमा गणेशमान सिंह प्रतिष्ठानको निमन्त्रणा स्वीकारेर पुगेकी थिइन्, राष्ट्रपति बिद्यादेवी भण्डारी । मञ्चमा कांग्रेस सभापति शेरबहादुर देउवा, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलगायत । प्रतिष्ठानले पूूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालालाई मरणोपरान्त गणेशमानसिंह स्मृति स्वर्णपदकबाट सम्मान कार्यक्रम राखेको थियो ।

दर्शकदीर्घामा कांग्रेस कार्यकर्तासँगै पत्रकार थिए । देउवाले सरकारको कडा आलोचना गरे । विभिन्न मुद्दामा नेकपाप्रतिको असन्तुष्टि पोखे । राष्ट्रपतितिर हेर्दै सरकारको आलोचना गर्दा ताली पड्कियो । लगत्तै मञ्चमा पुगेकी उनले अघिल्ला वक्ताप्रति लक्ष्य गर्दै आफूले नेताहरूको बोली नबुझेको बताइन् । भण्डारीले मञ्चपट्टि माइकको समस्या भएको इंगित गर्दै भनिन्, ‘नेताहरूले जोसिएर बोल्नुभो, फ्लोरबाट एकदम राम्रो स्वागत भयो, ताली बज्यो । राम्रो बोल्नुभो होला भन्नेचाहिँ लाग्यो तर के बोल्नुभयो, मैले आमरूपमा बुझिनँ ।’ उनले आफ्नो कानतिर हात लैजाँदै भनिन्, ‘कान सुनिन वा बुझिएन, त्यसैले पछि मिडियाबाट थाहा पाइएला ।’ यसो भन्दै गर्दा दर्शकदीर्घामा हाँसोको फोहोरा छुट्यो, उनी पनि हाँसिन् ।

यो अभिव्यक्तिपछि सार्वजनिक रूपमा राष्ट्रपति भण्डारीको दोहोलो काढिएको छ । भण्डारीले पदीय मर्यादा बिर्सिएको, शेरबहादुर देउवाप्रति व्यंग गरेको भन्दै समाचारमूलक अनलाइन र सामाजिक सञ्जालमा तीव्र विरोध बढेको छ । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले देउवाको असक्तताप्रति राष्ट्रपतिको कटाक्ष अपमानपूर्ण भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा उनलाई अश्लील गाली गर्न थालिएको छ । 
सम्बन्धित कार्यक्रमका दिन सार्वजनिक भएका भिडियोलाई ट्रोल बनाइएको छ । एउटा वर्गले राष्ट्रपतिको विरोध गरिहँदा अर्को तप्काले भने बोली नबुझिएको कुरा मञ्चमा राख्दा आपत्ति जनाउनु नपर्ने तर्क गरेका छन् । उनीहरूले राष्ट्रपतिको भनाइलाई समर्थन गर्दै शेरबहादुर देउवाको बोली आफूले पनि नबुझ्ने भनेर लेखेका छन् । सामाजिक सञ्जालमा अधिकांश राष्ट्रपतिका समर्थक नेकपानिकट र राष्ट्रपतिको विपक्षमा कांग्रेसनिकट देखिएका छन् । सामाजिक सञ्जालमा दुवैखाले अतिवादी पक्षधर पनि देखिए । कसैले राष्ट्रपतिको समर्थन गर्दा कांग्रेस सभापति देउवालाई अपशब्द प्रयोग गरेका छन्, कतिले देउवाको समर्थन गर्दा राष्ट्रपतिको चरित्रमै खोट देखाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी पदीय मर्यादा र गरिमाका हिसाबले सर्वोच्च हुन् । उनको भूूमिका कार्यकारी नभए पनि सार्वजनिक मञ्च तथा कार्यक्रममा आफ्नो गरिमाको ख्याल राख्नैपर्ने हुन्छ । माथिको घटनामा वक्ताले बोलेका कुरा राष्ट्रपतिले नबुझेको सत्य हुन सक्छ । उनले कान कम सुनेको वा माइकको समस्या पनि हुन सक्छ । राष्ट्रपतिले नियोजित रूपमै देउवालाई व्यंग्य नगरेको भए पनि त्यस्तो देखिन गयो, किनकि त्यो सार्वजनिक कार्यक्रम थियो र विद्यादेवी भण्डारी राष्ट्रपतिको हैसियतमा थिइन् । उसो त, शारीरिक रूपमा कुनै अशक्त व्यक्तिलाई उसको फरक क्षमतालाई लिएर प्रश्न वा व्यंग्य गर्न कानुनतः पाइँदैन ।

त्यसैले पनि सामाजिक सञ्जालमा राष्ट्रपतिले अपमान गरेको भनेर उनलाई खेदो खनिएको छ ।  यसो भन्दै गर्दा के सामाजिक सञ्जाल प्रयोगकर्ताले राष्ट्रपति भण्डारीलाई अपशब्द प्रयोग या चारित्रिक रूपमा नंग्याउन मिल्छ ? राष्ट्रपतिको गल्ती औंल्याउनेले आफ्नो गल्ती देख्नुपर्दैन ? के राष्ट्रपतिमाथि खनिने तप्काको विरोध र आलोचनाको शैली सही थियो ? कुनै पनि विषयमा गरिने सार्वजनिक विरोधलाई सभ्य र शान्त शैलीबाट पनि गर्न सकिन्छ नि होइन ? अझ सामाजिक सञ्जालमा राष्ट्रपतिको तस्बिर बिगारेर अभद्र व्यवहार गरिएको छ । राष्ट्रपतिजस्तो मान्छेले यस्तो बोल्ने ? भनेर सिकाउने मान्छेले जस्तो बोले पनि र जस्तो गरे पनि हुने हो ? सामाजिक सञ्जालमा मनपरी प्रयोग गर्ने छुट कसैलाई छ ? अरूको आचरणमा औँला उठाउनेले आफ्नो आचरण कहिले सुधार्ने ?

टिप्पणीहरू