८८ वर्षअघिको महाभूकम्पको सम्झना गरिँदै
आजैका दिन ८८ बिक्रम सम्बत १९९० माघ २ गते मुलुकमा महाभूकम्प गएको थियो । दिउँसो २ बजेर २४ मिनेट जाँदाको उक्त विनाशकारी भूकम्पको सम्झनामा २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।
यस पटकको भूकम्प सुरक्षा दिवसको नारा ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ रहेको छ । भविश्यमा आउनसक्ने विनाशकारी भूकम्पबाट बच्न र जनचेतना जगाउन सरकारले २०५५ सालदेखि प्रत्येक वर्ष माघ २ गतेका दिन राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
यो वर्ष उक्त दिवस भर्चुअल माध्यमबाट मनाउन लागिएको हो । आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गर्न लागिएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुने बताइएको छ ।
कार्यक्रममा गृह मन्त्रालय, मातहतको विभाग, ललितपुर महानगरपालिका, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) लगायत संघ संस्थाका सीमित व्यक्ति मात्र कार्यक्रमस्थलमा उपस्थित हुनेछन् । अरु भर्चुअल माध्यमबाट सहभागी हुने आयोजक समितिले जानकारी दिएको छ ।
भर्चुअल कार्यक्रममा सहभागी हुन चाहनेले गृह मन्त्रालयको वेबसाइटमा राखिएको जुमआइडी र पासवर्ड उपयोग गर्न सक्नेछन् ।
टिप्पणीहरू