दश बुँदेमाथि मकवानपुरमा बल मिच्याइँ

दश बुँदेमाथि मकवानपुरमा बल मिच्याइँ

मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादलाई आफ्नो सिद्धान्त मान्ने नेकपा एमालेले मकवानपुरमा भने जनवादलाई अस्वीकार गरेको छ । भीम रावलवाला १० बुँदे सहमतिलाई आत्मसात गरी तत्कालीन माधवकुमार नेपाल पक्ष मानिएका बद्रीप्रसाद लम्साललाई जिल्ला अध्यक्ष बनाएर गरिएको जिल्ला अधिवेशनमा केन्द्रीयता लादेर उनैलाई पाखा पारिएको हो ।

पुस २३ गते सम्पन्न अधिवेशनमा लम्साल र एकलाल श्रेष्ठ अध्यक्षका प्रत्यासी हुनुहुन्थ्यो । सर्वसम्मत अध्यक्ष, पदाधिकारी, सदस्यहरू चुनिन नसकेपछि अध्यक्ष मण्डलको अध्यक्षता गरिरहनुभएका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानासहितको टोलीले पुस २४ गते बिहान ८ बजेसम्मका लागि अधिवेशन स्थगन गर्नुभएको थियो ।

त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने बताइयो तर एकाएक एकलाल श्रेष्ठ अध्यक्षमा निर्विरोध भएको भन्दै कमिटी घोषणा गरिएपछि लम्सालले विज्ञप्ती प्रकाशन गरी विधि, थिति नमिच्न आग्रह र उम्मेदवारी कायमै रहेको बताउनु भयो । केन्द्रीय सदस्य जुनेली श्रेष्ठको घरमा बसेको केपी ओलीनिकट पूर्वमुख्यमन्त्री डोरमणि पौडेलसहितको टोलीले जिल्ला कमिटीको लिष्ट बनाएको स्रोत बताउँछ । श्रेष्ठको घरमा जिल्ला कमिटी बनेको खबर आएपछि उपाध्यक्षका प्रत्यासी लालबहादुर थापा, सचिवका प्रत्यासी नविन सिग्देल, उपसचिवका प्रत्यासी हिदम लामा र सीता बिष्टहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी विज्ञप्ती निकाल्ने तयारी भएको स्रोत बताउँछ । यो विषय महासचिव शंकर पोखरेलकोमा पुग्नेबित्तिकै हस्तक्षेप गरी विज्ञप्ती निकाल्न रोकिएको र असन्तुष्टहरूलाई मिलाइएको बताइन्छ ।

यता पदाधिकारीहरू मिलेको भनिए पनि अध्यक्षमा भने अझै किचलो छ । यता लम्सालले उम्मेदवारी फिर्ता नलिएसम्म श्रेष्ठ सर्वसम्मत बन्न सक्दैनन् । तर, उम्मेदवारी फिर्ता लिने वा प्रक्रिया अघि बढाउनेबारे अध्यक्ष मण्डलको कुनै चासो छैन । तैपनि लम्सालले आफ्नो उम्मेदवारी कायमै रहेको बताइरहनुभएको छ । यसो हुँदा न त निर्वाचित कमिटीलाई सपथ गराउन सकिएको छ, न निर्वाचन प्रक्रिया अघि बढेको छ । १० बुँदे पक्षधरहरूमाथि पेल्दा यतिखेर ओली पक्षधरहरू मकवानपुरमा ‘डेड लक’ भएका छन् । त्यसैमाथि कोरोना कहर बढेपछि शपथ वा निर्वाचन हुन नसक्दा अध्यक्ष श्रेष्ठ हो वा लम्साल बुझ्नै मुश्किल छ ।

– शिवकुमार काशीबाट

टिप्पणीहरू