ओभरलोडेड ९७ वटा ट्रिपर अप्ठ्यारोमा

ओभरलोडेड ९७ वटा ट्रिपर अप्ठ्यारोमा

मकवानपुरमा तोकिएको तौलभन्दा बढी बोकेका ट्रिपरलाई कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय मनहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले हेटौडा बजारका विभिन्न स्थानमा गरेको चेक जाँचको क्रममा ९७ ओटा ट्रिपरलाई ओभरलोड बोकेको भन्दै कारवाही गरिएको हो ।

प्रहरीले ४३ वटा ट्रिपरलाई कारवाही गरेर ४३ हजार रुपैयाँ राजश्व असुली गरेको छ । जरिवाना तिर्न नगद नभएका ५४ वटा ट्रिपरको कागजपत्र नियन्त्रणमा लिएर पुर्जी काटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।

भारवहन क्षमताभन्दा बढी लोड ढुवानी गर्ने सवारीको हकमा पाँच सय रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । त्यसैगरी तोकिएकोभन्दा बढी लोड खसाल्न लगाइएको पनि प्रवक्ता रिमालको भनाइ छ ।

प्रहरीले कारवाही गरेका सबै ट्रिपर सिमेन्ट उद्योगका लागि खानीबाट चुनढुंगा ढुवानी गर्दै आएकाहरु हुन् । प्रहरीले सडक छेउमै रोकेर राखेका ट्रिपरहरुलाई समेत जरिवाना गरेको दाबी गरेको छ ।

हिजो बिहान प्रहरीको संयुक्त टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११, मनहरी–६ र हेटौंडा–१ स्थित तिर्तिरेधारामा सुरक्षाजाँच गरेको हो । ट्राफिक चेकजाँच गर्ने क्रममा अधिकांश राक्सिराङ गाउँपालिकाको गिगु खानीबाट चुनढुंगा बोकेका ट्रिपर कारवाहीमा परेका हुन् ।

खानीबाट चुनढुंगा ल्याउने ठेक्का नेपाली काँग्रेस बागमती प्रदेश सभापती समेत रहेका प्रदेश सभासद् इन्द्रबहादुर बानियाँको बानियाँ निर्माण सेवाले पाएको छ ।

बानियाँ निर्माण सेवाको ट्रिपरले ट्राफिक नियम उल्लंघन गरेको, तोकिएको भारवहन क्षमताभन्दा बढी तौल बोकेको भन्दै चौतर्फी बिरोध हुँदै आएको थियो । हिजो मकवानपुर प्रहरी प्रशासनको सक्रियतामा भएको छड्के चेकजाँचपछि स्थानीय नागरिकले सामान्य खुशी व्यक्त गरेका छन् ।

टिप्पणीहरू