नेपालमा भ्रष्टाचार उस्तै

नेपालमा भ्रष्टाचार उस्तै

ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालको भ्रष्टाचारको अवस्थामा कुनै सुधारमा आउन नसकेको जनाएको छ । इन्टरनेशनलले आज जारी गरेको भ्रष्टाचार अवधारणा सूचांक सिपिआईमा नेपाल विगतकै स्थानमा देखिएको छ ।

भ्रष्टाचार सम्बन्धी सर्वेक्षणमा नेपालले एक सय पूर्णाङ्कमा ३३ अंक पाएको छ । विश्वमा भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल विगतमा झैं ११७ औ स्थानमा कायम छ । १८० वटा मुलुकमा गरिएको सर्वेक्षणमा नेपालले ११७ औं स्थान पाएको हो ।

भ्रष्टाचार नघटेको हुनाले यो वर्ष र अघिल्लो वर्ष नेपालले समान अंक पाएको ट्रान्सपरेन्सीद्वारा जारी रिपोर्टमा उल्लेख छ । सीपीआई २०२१ मा दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटान ६८ अंक प्राप्त गरी २५औं स्थानमा आएको छ । त्यस्तै, मालदिभ्स ४० अंक प्राप्त गरी ८५ औं स्थान, भारत ४० अंक प्राप्त गरी ८५ औं स्थान, श्रीलंका ३७ अंक प्राप्त गरी १०२ औं स्थान, पाकिस्तान २८ अंक प्राप्त गरी १४० औं स्थान, बंगलादेश २६ अंक प्राप्त गरी १४७ औं स्थान र अफगानिस्तान १६ अंक प्राप्त गरी १७४ औं स्थानमा रहेका छन् ।

छिमेकी मुलुक चीनले ४५ अंक प्राप्त गरी ६६ औं स्थान पाएको छ । रिपोर्टअनुसार १८० देशमध्ये डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड कूल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको अग्र स्थानमा परेका छन् । दक्षिणी सुडान ११ अंकका साथ सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दरिएको छ ।

 

टिप्पणीहरू