कोरोनाको सक्रिय संक्रमित सबैतिर

कोरोनाको सक्रिय संक्रमित सबैतिर

कोरोना भाइरसको तेस्रो लहर सुरु भएदेखि नै सक्रिय संक्रमितको संख्यामा निरन्तर उकालो लागिरहेको छ । केही समय अघिसम्म मुलुकभर छदेखि सात हजारको संख्यामा रहेको सक्रिय संक्रमित अहिले बढेर ९० हजार नाघिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार हिजो साँझसम्म देशभर ९० हजार पाँच सय ७६ सक्रिय संक्रमित छन् । जसमध्ये कूल सक्रिय संक्रमितको आधाभन्दा बढी काठमाडौं उपत्यकामा मात्रै छन् ।

काठमाडौँमा ३८ हजार आठ सय ५९, ललितपुरमा १० हजार तीन सय ९० र भक्तपुरमा पाँच हजार छ सय १४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

हिजोसम्म पाँच सयभन्दा धेरै सक्रिय संक्रमित हुने जिल्ला १९ पुगेका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लासहित चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, भक्तपुर, नुवाकोट, मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, कास्की, बाँके, रुपन्देही, तनहु, दाङ र कैलालीमा पाँच सयभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, गोरखा, स्याङजा, बागलुङ, पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत र कञ्चनपुरमा पनि दुई सय बढी सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार अहिले ७७ वटै जिल्लामा सक्रिय संक्रमित छन् । तेस्रो लहर शुरु हुनु अघिसम्म धेरै जिल्लामा सक्रिय संक्रमितको संख्या शुन्य पुगेको थियो ।

नेपालमा हालसम्म ९ लाख ३९ हजार २६७ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ८ लाख ३७ हजार चार जना संक्रमणमुक्त हुँदा ११ हजार ६८७ जनाको मृत्यु भएको छ ।

टिप्पणीहरू