नेपाल लाइफ इन्स्योरेन्सलाई बीमा समितिले गर्यो कारवाही

नेपाल लाइफ इन्स्योरेन्सलाई बीमा समितिले गर्यो कारवाही

बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कारवाही गरेको छ । बीमा समितिबाट जारी संस्थागत सुशासनसम्बन्धी निर्देशिका उल्लङ्घन गरेको भन्दै समितिले नेपाल लाइफलाई १० हजार जरिवाना तिराएको हो ।

निर्देशिकाको ठाडो उल्लंघन हुने गरि नेपाल लाइफले सहायक महाप्रबन्धक बनाउन योग्यता नपुगेकालाई नियुक्ति दिएपछि जरिवाना गरिएको बीमा समितिले जनाएको छ । अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुक्त गर्ने निर्णय गलत भएको समितिको ठहर छ ।

यसअघि नेपाल लाइफले जानाजान अयोग्य व्यक्तिलाई नियुक्त गरेको भन्दै समितिमा उजुरी परेको थियो । त्यसपछि समितिले आवश्यक कागजात झिकाएर अध्ययन थालेको थियो ।समितिले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले बीमा समितिबाट जारी सुशासनसम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्ने उजुरी समितिमा प्राप्त भएपश्चात त्यस सम्बन्धमा उक्त कम्पनीबाट आवश्यक विवरण झिकाई अध्ययन गर्दा समितिले जारी गरेको निर्देशिका बमोजिम अनुभव नपुगेको कुमार कयाललाई सहायक महाप्रवन्धक पदमा नियुक्त गरि समितिबाट निर्देशिकाको जानाजान उल्लङ्घन भएको देखिएको छ ।’

त्यस्तै, नेपाल लाइफले सुशासनसम्बन्धी निर्देशिकाको दफा १४ को उपदफा ९ मा भएको ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन् पाउने छैन’ भन्ने व्यवस्था पनि मिचेको समितिको भनाइ छ ।

एक जना संचालक एउटामात्र समिति/उपसमितिको संयोजक रहन पाउने निर्देशिकाको किटानी व्यवस्था विपरित विभिन्न १४ वटा समिति, उपसमितिहरुमध्ये संचालक समितिका सदस्य कमलेश कुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समिति/उपसमितिहरुमा संयोजक बनेको बीमा समितिले जनाएको छ।

‘समितिबाट जारी निर्देशनको जानीजानी उल्लङ्घन गरेकोले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम नेपाल लाइफ इन्स्योरेन्स कं. लि. लाई रु. १०,०००/- जरिवाना गर्ने निर्णय भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू